प्रेरक प्रसंग : को हो सम्राट् ?

एकपटक कन्फ्युसियस कुनै जंगलको बाटो छेउमा रहेको रुखको फेदमा बसिरहेका थिए । त्यसैबाटो हुँदै देशका सम्राट् लावालस्कर अघिपछि लगाउँदै कतै जाँदै थिए । सुनसान जंगलमा बसिरहेका कन्फ्युसियसलाई देखेर सम्राट् रोकिए ।
उनले कन्फ्युसियससित सोधे, ‘यसरी सुनसान जंगलमा एक्लै बस्ने तिमी को हौ ?’ कन्फ्युसियसले जवाफ दिए, ‘म यहाँको सम्राट् हुँ । अनि तपाईं चाहिँ को हो नि ? आफ्नो लावालस्कर र सेनाको फौज देखाउँदै सम्राट्ले भने, ‘मेरो लावालस्कर र सेना देखेनौ ? यति देखेका भए पक्कै चिन्ने थियौ, म नै यहाँको असली सम्राट हुँ । तर यो सुनसान जंगलमा बसेर पनि तिमीमा आफू सम्राट् भएको एउटा गम्भीर भ्रम रहेछ । तिमी कुनै बेला पनि गम्भीर संकटमा पर्न सक्छौ । त्यसैले भ्रम छाड र यथार्थमा आऊ ।’
कन्फ्युसियसले मुस्कुराउँदै भने , ‘सेवक त्यसलाई चाहिन्छ, जो अल्छी छ । अनि सेना त्यसलाई चाहिन्छ, जो कमजोर छ, जसका वरिपरि शत्रु नै शत्रु छन्, अनि धनसम्पत्ति त्यसलाई चाहिन्छ जो दरिद्र छ । म अल्छी पनि छैन र मेरा शत्रु पनि छैनन् । अनि म दरिद्र पनि छैन । त्यसैले मलाई कहिल्यै सेवक, सेना र धनको आवश्यकता नै परेन । ’ कन्फ्युसियसको यस्तो जवाफ सुनेर वास्तविक सम्राट् नतमस्तक भए ।

Exit mobile version