प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद् विस्तार: तीन मन्त्रीको नाम टुंगो, शपथग्रहण भोलि

काठमाडौँ : अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो मन्त्रिपरिषद् विस्तारको तयारी गरेकी छन्। बालुवाटार स्रोतका अनुसार प्रारम्भिक रूपमा तीन जना मन्त्रीको नाम टुंगो लागेको छ। उनीहरूको शपथग्रहण भोलि (मंगलबार) हुने बताइएको छ।

नयाँ सरकारमा पूर्वसचिव रामेश्वर खनाल अर्थ मन्त्रालयको जिम्मेवारीसहित, वरिष्ठ अधिवक्ता ओमप्रकाश अर्याल गृह तथा कानुन मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारीमा आउने भएका छन्।

रामेश्वर खनाल (अर्थमन्त्री): पूर्वसचिव रहेका खनाल पछिल्लो समय उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको अध्यक्षका रूपमा सक्रिय थिए। आर्थिक क्षेत्रमा उनको अनुभव र दक्षतालाई सरकारले सदुपयोग गर्ने अपेक्षा गरिएको छ।

ओमप्रकाश अर्याल (गृहमन्त्री तथा कानुन मन्त्री): वरिष्ठ कानुन व्यवसायी अर्याल सामाजिक आन्दोलन र विभिन्न महत्त्वपूर्ण रिट निवेदनका कारण चर्चामा छन्। उनी काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) का कानुनी सल्लाहकारका रूपमा समेत कार्यरत थिए।

कुलमान घिसिङ (ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री): नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकका रूपमा लोडसेडिङ अन्त्य गरेपछि घिसिङले व्यापक लोकप्रियता कमाएका थिए। केपी शर्मा ओली नेतृत्वको सरकारले उनलाई बर्खास्त गरेपछि पनि उनको चर्चा कायम थियो।

हाललाई यी तीनै जना मन्त्रीको नाम टुंगो लागे पनि थप मन्त्रालयमा नियुक्ति नभएसम्म उनीहरूको जिम्मेवारी विस्तार हुन सक्ने स्रोतले जनाएको छ।

Exit mobile version