अर्जुनधारा । अर्जुनधारा नगर खेलकुद विकास समितिले धार्मिक तथा सांस्कृतिक क्षेत्रमा आबद्ध रहेका बाल खेलाडीहरूलाई खेलकुदप्रति प्रोत्साहन गर्ने उद्देश्यले विशेष सहयोग प्रदान गरेको छ। समितिले अर्जुनधारा जलेश्वर धामको संस्कृत विद्यालयमा अध्ययनरत बटुकहरूका लागि क्रिकेट खेलकुद सामग्री हस्तान्तरण गरेको हो।
एक संक्षिप्त कार्यक्रमका बिच अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेव सिंह गोम्देन तामाङ र नगर खेलकुख विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालले संयुक्तरुपमा संस्कृत विद्यालयका बटुकहरूलाई क्रिकेट सामग्री हस्तान्तरण गर्नुभयो।
धार्मिक क्षेत्रका बटुकलाई खेलकुदमा जोड
सामग्री हस्तान्तरण कार्यक्रममा अर्जुनधारा जलेश्वर धामका अध्यक्ष नवीन गट्टानी लगायत स्थानीय खेलप्रेमी र धामका पदाधिकारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा बटुक खेलाडीहरूका लागि आवश्यक पर्ने २ थान क्रिकेट ब्याट र ६ थान क्रिकेट बल हस्तान्तरण गरिएको अर्जुनधारा नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालले जानकारी दिनुभयो।
संस्कृत र वैदिक शिक्षा आर्जन गरिरहेका बटुकहरूलाई प्राज्ञिक र धार्मिक अध्ययनका साथै शारीरिक व्यायाम र मानसिक विकासका लागि खेलकुद क्षेत्रमा पनि अगाडि बढाउन यो सामग्रीले मद्दत पुर्याउने उद्देश्य राखिएको छ। अर्जुनधारा नगर खेलकुद समितिले आगामी दिनहरूमा पनि नगरभित्रका विभिन्न क्षेत्रमा रहेका नवप्रतिभाहरूलाई खेलकुद सामग्री सहयोग र प्रशिक्षणका कार्यक्रमहरू सञ्चालन गरिरहने अध्यक्ष धिमालले बताउनुभयो।
