युगान्डासँग पराजित हुँदै नेपाल फाइनल दौडबाट बाहिर

काठमाडौँ : नेपालले जारी चार देशीय टी-२० सिरिजमा निराशाजनक प्रदर्शन गर्दै फाइनल पुग्ने सम्भावना गुमाएको छ। बिहीबार युगान्डासँग ४० रनको हार बेहोरेसँगै नेपालले प्रतियोगितामा चौथो हार दर्ता गर्यो।

युगान्डाले दिएको ९२ रनको लक्ष्य पछ्याउने क्रममा नेपाली टोली १७.१ ओभरमै अल आउट हुँदै ५१ रनमै समेटियो। नेपालको लागि कविता जोशीले सर्वाधिक १२ रन जोडिन् भने इन्दु बर्माले ११ रनको योगदान दिइन्।

त्यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको युगान्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रन बनायो। युगान्डाका लागि रिताह मुसमालीले ३८ रन र एसथर इलोकुले २२ रनको योगदान दिइन्। बलिङतर्फ नेपालकी रिया श्रेष्ठले २ विकेट लिइन् भने इश्वरी विष्ट, पूजा महतो र रुबिना क्षेत्रीले समान १-१ विकेट हात पारे।

सिरिजमा नेपालले ५ खेलमध्ये ४ खेल गुमाएको छ। नेपालले नामिबियासँग दुई पटक तथा हङकङ र युगान्डासँग एक-एक पटक हार बेहोरेको थियो। नेपालले प्रतियोगितामा एक मात्र जित आयोजक युगान्डाविरुद्ध नै दर्ता गरेको थियो।

अब नेपालले मार्च १४ मा हङकङसँग आफ्नो अन्तिम लिग खेल खेल्नेछ। त्यस्तै, मार्च १६ मा अंक तालिकाको शीर्ष दुई टोलीबीच फाइनल तथा तेस्रो र चौथो स्थानमा रहने टोलीबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ।

Exit mobile version