विसं २०६८ साल कार्तिक १३ गते स्थापना भएको मेचीनगर नगरपालिका – ६ स्थित काँकरभिट्टामा रहेको आधुनिक बचत तथा ऋण सहकारी संस्थामा करिब ७ हजार शेयर सदस्यहरु छन् । यस सहकारीको विविध गतिविधिको विषयमा सहकारीका व्यवस्थापक पारश ओलीसँग मेचीनगर अनलाइनका लागि सिएन गौतमले तयार पारेको कुराकानी प्रस्तुत गर्दैछौँ ।
सहकारीको स्थापना कहिले भएको थियो ?
आधुनिक बचत तथा ऋण सहकारी संस्था लि (आबस) को स्थापना डिभिजन सहकारी कार्यालय झापामा २०६८ साल कार्तिक १३ गते विधिवत दर्ता भई २०६८ साल मङ्सिर७ गते देखि तत्कालीन मेचिनगर १० काँकरभिट्टाबाट कार्यालय उद्घघाटन गरि सञ्चालनमा आएको हो ।
शुरुवातकोे अवस्थामा कस्ता चुनौतीहरु आए ? अहिले कस्तो छ ?
शुरुका दिनहरुमा आएको सबैभन्दा ठुलो चुनौती भनेको सहकारी सम्बन्धी अनविज्ञता नै हो । सञ्चालक, कर्मचारी, सदस्य र समुदाय समेतमा सहकारी के हो भन्ने कुराको राम्रो ज्ञान नहुनु सबै भन्दा ठूलो चुनौती थियो । अर्को कुरो भनेको समुदाय र सदस्यहरुले सहज रुपमा सहकारीलाई विश्वास नगर्नु पनि मैले चुनौतिको रुपमा लिएको थिए । अहिले सामन्य रुपमा अवस्था अलिक फरक छ । तर जति हुनु पर्ने हो त्यो हुन सकेको छैन । सहकारी अभियानमा लागेकाहरुले अझै पनि हाम्रो समुदायको अत्यन्तै तल्लो वर्गलाई समेट्न नसकेको अवस्था छ । सहकारीको मर्म र भावना अनुसार अझै पनि अभियान्ताहरु जरै सम्म पुग्न सकेका छैनन् । यो भनिरहदा फेरि विकास भने नभएको होईन तर अभियान जहाँ सम्म पुग्नु पर्ने हो, जसका लागि पुग्नु पर्ने हो त्यहाँ सम्म चाहिँ पुग्न सकेको छैन ।
कति जना कर्मचारीहरु हुनुहुन्छ ?
२०६८ सालमा संस्था स्थापना हुँदा हामीले ८ जना कर्मचारीबाट सुरु गरेका हौ। २०७१ साल असोजमा भद्रपुर र मङ्सिरमा बिर्तामोडमा सम्पर्क कार्यलय थप गर्दै आवश्यकताअनुसार जनशक्ति पनि थप गर्दै लगियो । २०७५ सालमा मेचीनगर -२ स्थित भृकुटीमा तेस्रो सम्पर्क कार्यालय स्थापना गरि जम्मा २६ जना कर्मचारीको सङ्ख्यामा अहिलेको अवस्थामा हामी छौ ।
सहकारी संस्थाको विकासको अवस्था कस्तो छ ?
जन्मपछि हुने विकास प्राकृतिक कुरा हो । तर विकासको प्रक्रिया कस्तो छ यसले फरक पार्दछ । एउटा कुपोषण लागेको बच्चाको शरीरका सबै अङ्गहरुको जसरी वृद्धि हुनुपर्ने हो त्यसरी हुन सकिरहेको हुँदैन । शारीरिक र मानसिक दुवै रुपमा उ अशक्त हुन्छ । चाहे जति र सोचेजस्तो रुपले उसले काम गर्न सक्दैन । मैले यसो भनिरहदा के हाम्रो संस्थाको अवस्था पनि यस्तै हो त ? पक्कै पनि होईन हाम्रो संस्था गुणात्मक रुपमा विकासको क्रममा अघि बढी रहेको छ । जम्मा ४७ जना शेयर सदस्यबाट शुरु भएको सङ्ख्या अहिले ७ हजारमा पुगेको छ । एउटा कार्यालयबाट शुरु भएको अहिले ४ ओटा कार्यालयबाट सेवा दिईरहेका छौँ । शुरुमा मेचीनगरमात्र कार्यक्षेत्र रहेको अवस्थाबाट झापा जिल्लाभरी कार्यक्षेत्र बिस्तार गरेका छौँ। ४७ लाखबाट शुरु भएको शेयर पूँजी २ करोड पुगेको छ । शून्य विन्दूबाट शुरु भएको संस्थागत पूँजी एक करोड पुगेको छ । यी त सबै वित्तीय कुरा भए ।
वित्तीय कुरो गर्दा यसको संरचना कस्तो छ ?
सदस्यहरुको विस्वस्नियता कति छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । पल्स् ( PEARLS )को सूचक अनुसार वित्तिय संरचना निर्माण भएको छ वा छैन भन्ने कुरा चाही प्रमुख हो । त्यसैले हामीले मुख्य ध्यान दिएको बिषय पल्स् ( PEARLS )हो । यसमा हामी सफल पनि भएका छौँ । अर्को कुरा हामी प्रोवेशन ब्राण्डमा सहभागी भएका छौँ । धेरैलाई थाहा नहुन सक्छ यो ब्राण्ड भनेको के हो ? नेफस्कुन र सहकारी विभागबाट प्रतिपादित गरिएको गुणस्तर मापन गर्ने औजार हो ब्राण्ड भनेको । यस कार्यक्रममा हामी सहभागी भएको दुई बर्ष भयो । जोखिम रहित सहकारीको निर्माण नै सबै भन्दा ठूलो विकास मान्नु पर्छ ।
अहिलेसम्म कति बचत संकलन भए ?
आधुनिक साकोस समुदाय र सदस्यहरुको विश्वास जित्न सफल भएको छ । बचत सङ्कलन कति भन्दा पनि संस्थामा आवद्ध हुनुभएका सदस्यहरुको विश्वास हामिले जितेका छौँ । सदस्यहरुले खाई नखाई आफ्नो आवश्यकता पूरा गर्न बचत गरेर राखेको रकम फिर्ता गर्नु पहिलो दायित्वको रुपमा लिएका छौँ । देशमा आउने आर्थिक मन्दी देखि माहामारीको समयमा समेत सदस्यहरुको बचत फिर्तामा कुनै रोकावट नगरी बचत फिर्ता गर्दै आईरहेका छौँ । यिनै कार्यहरुले गर्दा हामीले हाम्रा सदस्यहरुको विश्वास पोल्टाम कैद गर्न सफल भएका छौँ । आशा छ, आगामी दिनहरुमा समेत सदस्यहरुको यो विश्वास निरन्तर रुपमा पाईरहने छौँ । त्यसैलाई आधार मान्दा पौष मसान्त सम्मको वासलत हेर्ने हो भने सदस्यहरुको बचत १२ करोड को हाराहारीमा पुगेको छ ।
सहकारी विकासको लागि को बाट के आशा राख्नु हुन्छ ?
सहकारी भनेकै सहकार्य हो । समुदायमा छरिएर रहेका साना साना पूँजीहरुलाई एकतृत गरि त्यही समुदायमा आर्थिक तथा सामाजिक उत्थानका निमित्त परिचालन गरिन्छ । यसको अर्थ सदस्यहरुबाट जम्मा गरेको पूँजी सदस्यहरुलाई नै परिचालन गरिन्छ । त्यसैले सर्व प्रथम सहकारी विकासको लागि सचेत सदस्यहरुको आवश्यकता पर्दछ । सदस्यहरुले दुखका साथ जम्मा गरेको रकम इमानदारीका साथ सही ठाउँमा परिचालन गरि सदस्यहरुले जम्मा गरेको पूँजीको संरक्षण गर्नु सञ्चालकहरुको दायित्व हुन जान्छ भने सदस्य र सञ्चालकको बीचमा रही पुलको रुपमा काम गर्ने व्यवस्थापनको (कर्मचारी) विश्वास नै सहकारीको विकासको आधार हुन् । समग्रमा यसलाई यसो पनि भन्न सकिन्छ । योग्य र सृजनशील सञ्चालक , नियमित र ईमानदार सदस्य तथा सिपयुक्त र अनुभवी कर्मचारी भए संस्थाको विकास र प्रगतिलाई कसैले रोक्न सक्दैन ।
सहकारी समुदायमा आधारित हुने भएकोले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सामाजिक कार्यहरु गरिरहेको हुन्छ । समुदाय भन्दा अलग र फरक रहेर सहकारी सञ्चालन हुन सक्दैन । समुदायमा हुने हरेक घटनाक्रमसँग सहकारी हातेमालो गरेर अघि बढेको हुन्छ । सामाजिक उत्तरदायित्वको सिद्धान्तका आधारमा समाजका अनेक घटनाक्रमसँगै जोडिएको हुन्छ । हामीले सदस्यहरुको जन्मदेखि मृत्युसम्म सम्बोधन हुने थुप्रै सामाजिक तथा मानवीय कामहरु गरिरहेका छौँ । हामीले सदस्यहरुलाई दिएको प्रत्यक्ष सेवा तथा सुविधाहरु जस्तै बचत सेवा, ऋण सेवा, रेमिट्यान्स सेवा, सदस्य मृत्यु राहत सेवा, औषधि उपचार सेवा, महिला सदस्य प्रसुती सेवा, सदस्य बीमा सेवा, सदस्यहरुको बिल भुक्तानी सेवा, सदस्यका सन्ततिलाई छात्रवृत्ति सेवा र सदस्य शिक्षा तथा अवलोकन सेवा आदि । यी सँगै यो माहामारीको समयमा हामीले चैत्र महिनादेखि नै सदस्यहरुलाई ब्याजमा १० प्रतिशत छुट दिने कार्य हाल सम्म पनि कायमै छ । माथिका कार्यहरुबाट सदस्यहरुले प्रत्यक्ष रुपमा सेवाहरु प्राप्त गर्न सक्छन् भने स्वास्थ शिविर, सरसफाई, चेतनामुलक कार्यक्रम , माहामारीको समयमा स्थानीय तहहरुलाई दिएको आर्थिक सहयोगबाट भने सदस्य सहित समुदायले समेत अप्रत्यक्ष रुपमा सेवा पाउने कामहरु गरेका छौँ ।
सरकारले ल्याएको नयाँ नीति नियमहरुले सहकारीहरुलाई कतिको असर गरेको छ ?
नेपालको संविधान २०७२ मा अर्थतन्त्रको प्रमुख आधारस्तम्भका रुपमा सहकारी क्षेत्रलाई स्वीकार गरेको छ । सोहीअनुसार राज्यका आवधिक योजना, वार्षिक नीति तथा कार्यक्रम र बजेटहरुमा सहकारी क्षेत्रले प्राथमिकता पाउन थालेको छ । अर्थतन्त्रको एक खम्बा मानेको राज्यले पनि सहकारी क्षेत्रबाट ठूलो अपेक्षा राख्न थालेको छ । सहकारी ऐन २०७४ र नियमावली २०७५ लागू भएपछि राज्यले सहकारीलाई हेर्ने दृष्टिकोण अलिक फरक भएको महशुस गरेको छु । अब भने राज्यले सहकारीहरुको नियमन गर्छ भन्ने लागेको छ । सर्वोच्च अदालतको विचाराधीन अवस्थामा रहेको एक व्यक्ति एक सहकारी मुद्दा फैसला भए धेरै सहकारीलाई गार्हो हुने अवस्था आउँछ । राज्यले लागू गरेको कोपोमिस प्रणालीमा सहभागी हुने हो भने आधा भन्दा बढी सहकारीको सङ्ख्या आफै घट्छ । सहकारीको नाममा ठगी पनि भई रहेको छ । त्यसैले आम नागरिकहरुले सहज रुपमा सहकारीलाई विश्वास गर्ने ठाउँ पनि छैन । त्यसैले राज्यले अब दर्हो नियमनकारी भुमिका निभाउनु पर्ने हुन्छ । फलस्वरुप नागरिकको बचत सुरक्षित रहोस भन्दै कार्डिनल गिवन्स्को एउटा भनाई सम्झन चाहान्छुु ” सुधारभित्रैबाट हुनुपर्छ बाहिरबाट होइन, कानुन बनाएर मानिसहरुमा सद्गुणहरुको विकास गर्न सकिँदैन ।”
भावी योजनाहरु के के रहेका छन् ?
हाम्रो मुख्य योजना नै सदस्यहरुको सन्तुष्टि हो । संस्थामा आबद्ध भएका सदस्यहरुको हरेक सुख दुखमा हाम्रो भौतिक सहभागिता नै मुख्य लक्ष्य रहने छ । सदस्यहरुलाई वित्तीय साक्षरता शिक्षा अहिलेको प्रमुख आवश्यकता हो । यस कार्यका लागि हामी प्रत्येक बर्ष सदस्य शिक्षा सप्ताह कार्यक्रम गर्दछौं । सहकारीलाई नीति, विधि र प्रविधि मैत्री बनाई नविनतम प्रविधि संस्थाको टेवा, हातहात र घरबाट वित्तीय सेवाू लाई अवलम्बन गर्दै सहज रुपमा सदस्यहरुले मोवाइल बैकिङ्गबाट कारोवार गर्न सक्ने योजना रहेको छ । सदाचारयुक्त व्यवहार, प्रविधिमा आधारित सुचना र सरोकार अन्तर्गत रही सदस्यहरुलाई सामाजिक संजाल फेसबुक, वेबसाईट र एस.एम.एसमार्फत जोड्ने योजना रहेको छ ।संस्थामा रहेका युवा सदस्यहरुलाई लक्ष्यित गरि उनीहरुका लागि उध्यमशिलता विकास तालिम संचालन गर्ने लक्ष्य रहेको छ । विपन्न वर्ग अन्तर्गतका सदस्यहरुलाई विपन्न सदस्य उत्थान कार्यक्रम बिना धितो कर्जा लगानी गरि उनीहरुको जीवनस्तर उकास्ने योजना रहेको छ साथै सामाजिक अन्तर्गत स्वास्थ शिविर र रक्तदान , वृक्षारोपण र स्थानीय समुदायमा रहेका मठ मन्दिरहरु सरसफाई कार्यक्रम रहेको छ ।
अन्त्यमा के भन्न चाहनुहुन्छ ?
सयुक्त राष्ट्र संघले विकासोन्मुख राष्ट्रहरुलाई सन २०३० सम्ममा १७ वोटा विकासका पुर्वधारहरु अनिवार्य रुपमा पूरा गर्नुपर्ने लक्ष्य दिएको छ । उक्त लक्ष पूरा गर्न राज्यलाई सहकारीको सहयोग वा माध्यम चाहिन्छ । त्यसैले सहकारीमा हाल देखिएको अस्वस्थ प्रतिष्पर्धाको अन्त्य गरि एकीकरण अभियानमा लाग्नुको विकल्प छैन । मेरोबाट हाम्रो भन्ने सोचको विकास गरौं । एकका लागि सबै र सबैका लागि एक भन्ने सहकारीको नारालाई व्यवहारमा रुपान्तरण गर्न सबै अभियानमा लागेका अग्रजहरुलाई आवहान गर्दछु । साथै मेरो दश वर्षको सहकारी अभियानबाट बुझेका र जानेका केही कुरा राख्न दिनु भएकोमा मेरोमेचीेनगर अनलाइनलाई धन्यवाद दिन चाहन्छु । जय सहकारी ।।
