सरकारले ‘लाइफ’ भन्दा ‘लाइक’ लाई बढी महत्त्व दियो: काङ्ग्रेस महामन्त्री गगन थापाको तिखो आलोचना

काठमाडौँ । नेपाली काङ्ग्रेसका महामन्त्री गगन कुमार थापाले वर्तमान सरकारको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्नुभएको छ। नेपाली काङ्ग्रेसद्वारा आयोजित ‘सरकारका १०० दिन र १०० बुँदे कार्यक्रम’ मा बोल्दै महामन्त्री थापाले सरकारले जनताको वास्तविक जीवन (लाइफ) लाई भन्दा सामाजिक सञ्जालको प्रचार (लाइक) लाई बढी प्राथमिकता दिएको आरोप लगाउनुभयो।

वर्तमान सरकारका लागि १०० दिनमा लाइफ भन्दा लाइक महत्त्वपूर्ण बन्यो। सरकारले कुनै पनि निर्णय गर्दा यसले जनताको दैनिक जीवनमा के फरक पार्छ भनेर सोच्न छाड्यो, बरु त्यसले सामाजिक सञ्जालमा कति वटा लाइक थप्छ भनेर मात्र हेर्ने भयो, थापाले भन्नुभयो, यो लोकतान्त्रिक पद्धतिका लागि चिन्ताको विषय हो।

महामन्त्री थापाले सरकारले परिणाम दिनु सकारात्मक भए पनि त्यसका लागि कानुनी प्रक्रिया र स्थापित विधि मिच्न नहुने प्रस्ट पार्नुभयो। सरकारका कतिपय हालैका निर्णयहरू प्रणाली सङ्गत नभएको उहाँको सङ्केत थियो।

सरकारले ल्याउन लागेको सम्पत्ति छानबिनको योजनालाई काङ्ग्रेसले पूर्ण रूपमा सहयोग गर्ने उहाँको घोषणा गर्नुभयो। हामी सम्पत्ति छानबिन आयोगलाई आफ्नो विवरण बुझाउने प्रक्रियामा जिम्मेवारीपूर्वक सहभागी हुन्छौँ, थापाले भन्नुभयो, तर सरकारलाई हाम्रो आग्रह के हो भने सबै काम कानुनले निर्धारण गरेको प्रक्रिया पूरा गरेर मात्र अघि बढ्नुपर्छ। कार्यकारी आदेशका भरमा मात्र यस्ता दीर्घकालीन निर्णयहरू गरिनु हुँदैन।

Exit mobile version