राष्ट्रिय सभा सदस्यको उम्मेदवारी दर्ता आज

A notice in Nepali from Mechinagar Ward No. 10
Estimated Reading Time: ३ min • Total Words: ३४६

२० पुस, काठमाडौँ : आउँदो माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मङ्गलबार उम्मेदवारी दर्ता हुँदै छ । सम्बन्धित प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ताका लागि बिहान १० बजेदेखि ३ बजेसम्मको समय तोकिएको छ ।
आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाले सातवटै प्रदेशमा स्थापित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता हुने जानकारी दिनुभयो । आयोगको निर्वाचन कार्यक्रमबमोजिम राष्ट्रिय सभा सदस्यको रिक्त १९ पदका लागि माघ १२ गते मतदान हुनेछ ।

प्रदेश १ मा विराटनगर, प्रदेश २ मा जनकपुरधाम, बागमतीमा हेटौँडा, गण्डकीमा पोखरा, लुम्बिनीमा घोराही, कर्णालीमा वीरेन्द्रनगर र सुदूरपश्चिमको धनगढीमा स्थापित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता हुने आयोगले जनाएको छ । निर्वाचनमा भाग लिन १२ वटा दल आयोगमा दर्ता भएका छन् । राष्ट्रिय सभामा रिक्त १९ सदस्यमध्ये सात महिला, तीन दलित, दुई अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र सात जना अन्य समूहबाट निर्वाचित हुनेछन् ।
आयोगका अनुसार प्रदेश १ बाट तीन, प्रदेश २ बाट दुई, बागमतीबाट दुई, गण्डकीबाट तीन, लुम्बिनीबाट तीन, कर्णालीबाट तीन र सुदूरपश्चिमबाट तीन जना निर्वाचित हुनेछन् । नेकपा (एमाले)का १२, माओवादी केन्द्रका चार र नेपाली काँग्रेसबाट निर्वाचित तीन जना राष्ट्रिय सभा सदस्यको पदावधि सकिएपछि निर्वाचन हुन लागेको हो ।

उम्मेदवारको योग्यता
राष्ट्रिय सभा निर्वाचन निर्देशिका २०७६ बमोजिम उम्मेदवार हुन ३५ वर्ष उमेर पूरा भएको, नेपालको नागरिक रहेको, मतदाता नामावली ऐन, २०७३ बमोजिम कुनै गाउँपालिका वा नगरपालिकाको मतदाता नामावलीमा नाम समावेश भएको, कुनै सङ्घीय कानुनले अयोग्य नभएको र कुनै लाभको पदमा बहाल नरहेको हुनुपर्छ । दलले निर्वाचन आयोगमा बुझाएको बन्द सूचीमा राष्ट्रिय सभा सदस्यको निर्वाचनमा भाग लिन लागेका उम्मेदवारको नाम हुन नहुने व्यवस्था छ । मनोनयन पत्र दर्ताका लागि अनुसूची फाराम भरेको, दलको औपचारिक मनोनयन पत्रसहित नागरिकता लिएर निर्वाचन अधिकृतको कार्यालयमा सनाखत गर्दै उम्मेदवारी दर्ता गराउन पाउनेछन् । निर्देशिकाबमोजिम उम्मेदवारी दर्ता गर्नेले १० हजार रुपियाँ धरौटी राख्नुपर्नेछ ।

गठबन्धनबीच सहमति
निर्वाचनको रणनीति निर्माण गर्न सोमबार बिहान बालुवाटारमा सत्ता गठबन्धनका दलहरूको बैठकले पार्टीगत हिसाबले उम्मेदवारी दिने सहमति गरेको थियो । राष्ट्रिय सभाका १९ सदस्यका लागि हुन लागेको चुनावमा नेपाली काँग्रेसले छ, नेकपा (माओवादी केन्द्र)ले पाँच, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले पाँच, जनता समाजवादी पार्टीले दुई र राष्ट्रिय जनमोर्चाले एक पदमा उम्मेदवारी दिने सहमति भएको थियो । यसअघि जुन पार्टीबाट सदस्य पद रिक्त भएका हुन्, सोही पार्टीलाई सो पद दिइने र बाँकी रहने आठ पदमा मात्र भागबन्डा गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.