मेचीनगर, २९ पुस । स्नुकर खेलको विकास र प्रवर्द्दन तथा खेलाडीहरुको क्षमता र कौशलता प्रष्फुटन गर्ने उद्देश्यले झापाको मेचीनगरमा शुक्रबारदेखि नगर स्तरीय तेस्रो मेचीनगर स्नुकर प्रतियोगिता हुने भएको छ ।
प्रतियोगिताको तयारी पुरा भएको बुधबार आयोजक व्याल्क एट पुल एण्ड क्लबले पत्रकार सम्मेलन गरी जनाएको छ । झापा जिल्ला फुटबल संघका पूर्व अध्यक्ष बालाजित राईको प्रमुख आतिथ्यतामा भएको पत्रकार सम्मेलनमा आयोजक संस्थाका अध्यक्ष निमा वाङ्गेल तामाङले प्रतियोगिताका बारेमा प्रष्ट पार्नुभएको थियो ।
मेचीनगरका १५ नम्बर वडाबाट ३२ जना खेलाडीले सहभागिता जनाउने पत्रकार सम्मेलनमा बताइयो । यो खेल ‘इनडोर’ पहिलो राउण्ड वेष्ट अफ थ्री, दोस्रो राउण्ड वेष्ट अफ फाइव तथा फाइनल वा तेस्रो राउण्ड वेष्ट अफ सेभेनमा खेलाईने अध्यक्ष तामाङले बताउनुभयो । करीव डेढलाख रुपैयाँ खर्च अनुमान गरिएको र ५ गते हुने फाइनलमा प्रथम हुनेले नगद १२ हजार ५ सय, दोस्रो हुनेले ६ हजार ५ सय,तेस्रो हुनेले ३ हजार २ सय ५० र चौथो हुनेले ३ हजार १ सयसहित ट्रफी, मेडलसहित प्रमाण पत्र प्राप्त गर्ने छन् । यी सहित अन्य विधामा समेत खेलाडीलाई पुरस्कृत गरिने छ ।
प्रतियोगितामा खेलाडीहरु दावा तामाङ, हरि केसी, सचिन श्रेष्ठ, पासाङ्ग शेर्पालगायतले प्राविधिकको भूमिका निर्वाह गर्ने पत्रकार सम्मेलनमा बताइएको छ । यो प्रतियोगितामा राष्ट्रिय तथा जिल्लास्तरीयसम्म खेलेका खेलाडीले सहभागिता जनाउन नपाउने बताइएको छ । निकट भविष्यमा यस क्लबले प्रदेश स्तरीय प्रतियोगिता गराउने लक्ष्य लिएको बताइएको छ । यूमा चेस क्लबका महासचिव राजु पौडेलले पत्रकार सम्मेलनको सञ्चालन गदैं प्रतियोगिताको मुख्यः प्रायोजकका रुपमा गोर्खा ब्रअरी रहेको बताउनुभयो । प्रतियोगितालाई मेचीनगर वडानम्बर ६ का वडाध्यक्ष ललितबहादुर तामाङ, बालकृष्ण थापा, राजु पौडेलको सहयोग रहेको छ ।




















