पड्काको प्रयोगमा रोक लगाउन ज्ञापन पत्र, बच्चामा श्वासप्रश्वास र गर्भवतीमा गर्भ तुहिने सम्भावना रहेको चिकित्सकको भनाई

२४ कात्तिक झापा : नेपालीहरुको दोस्रो र महत्वपूर्ण उज्यालो र फूलको पर्व तिहार नजिक आएको छ । तिहारमा काग, कुकुर, गाईगोरु, लक्ष्मी हुँदै भाईदिदी टिका लगाएर विदा गरिन्छ । लगत्तै छठ र नेपाल सम्बतपनि छ ।

दिपावलीमा पटका, झिरझिरे, भूइँचम्पा, लगायत उज्यालोका समाग्रीहरुको पनि उत्तिकै प्रयोग हुने गरेको छ । तिहार सुरू भएसँगै बजार तथा गाउँगाउँमा पटका र झिरझिरेको आतंक नै सिर्जना हुने गरेको छ । भारतीय खुला सीमा–नाकाको फाइदा उठाउँदै गैरकानुनी रूपमा भित्रिर्याइने यी सामग्रीको बिक्री–वितरणमा स्थानीय प्रशासन रोक लगाए पनि वा सरकारले पटका, झिरझिरे लगायत पड्काउन र बाल्न प्रतिबन्ध लगाए पनि पूर्णरुपमा कार्यान्वयन हुन सकेको छैन ।

पटका स्वास्थ्य र पर्यावरणको लागि कत्तिको हानिकारक छ भन्ने बुझेर यसको प्रयोग नगर्दा राम्रो हुने विज्ञहरुको सुझाव छ । यसैक्रममा शुक्रबार मेची चरा तथा वन्यजन्तु संरक्षण समाज र उपभोक्ता जागरण अभियान नेपाल मेचीनगरले संयुक्तरुपमा स्थानीय सरकार मेचीनगर नगरपालिका र स्थानीय प्रशासन इलाका प्रहरी कार्यालय काँकरभिट्टामा अलग अलग ज्ञापन पत्र बुझाए ।

पटकाजन्य बारुदीय विस्फोटक सामाग्री पड्काउन वा जलाउन तथा प्रयोगमा रोक लगाउन माग गदैं ज्ञापन पत्र बुझाएको मेची चरा तथा वन्यजन्तु संरक्षण समाज मेचीनगर अध्यक्ष देवेन्द्र (देवेन) खरेलले जानकारी दिनुभयो । उपभोक्ता जागरण अभियान नेपाल मेचीनगर अध्यक्ष रचना घिमिरेसहितको टोलीले स्थानीय सरकार मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी र स्थानीय प्रशासन इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक दीपक भारतीलाई ज्ञापन बुझाएको हो ।

रमाइलोका लागि भन्दै पटका पड्काउँदा आगलागी तथा अंगभंग समेत हुनसक्ने भएकाले प्रशासनले यसको बिक्री–वितरण र प्रयोगमा प्रतिबन्ध लगाउन ज्ञापन पत्रमा माग गरिएको छ । ‘मौलिक चाडपर्वहरुमा क्रमस भित्रिएको कुसंस्कारको रुपमा जताभावी पटका, आतिशवाजी फूलझाँडी आदि विष्फोटक पड्काउदा त्यसको नकरात्मक असरले प्रकृति वातावरण तथा अन्य रसायनमा मानव स्वास्थ्यमा पर्ने प्रमुख विरामीहरुमा क्यान्सर, अल्जाइमर, छालाका विभिन्न एलर्जी तथा तीब्र डेसिवलले ध्वनीले कानको जाली फट्न सक्ने,दुर्गान्ध ध्वनी प्रदुषण खरतानक रसायनको धुवाँको प्रभावले अंगभंग र आर्थिक नोक्शानी आदकिा कारण कानुनले समेत निषेध गरेको यस्ता क्रियाकलाप रोक्न वा रोक्न लगाउन कडाईका साथ लागिदिनुहुन यो ज्ञापन पत्र पेश गरेका छौ ।’ मेची चरा तथा वन्यजन्तु संरक्षण समाज मेचीनगर अध्यक्ष देवेन्द्र (देवेन) खरेल र उपभोक्ता जागरण अभियान नेपाल मेचीनगर अध्यक्ष रचना घिमिरेले हस्ताक्षर गर्नुभएको ज्ञापन पत्रमा भनिएको छ ।

विशेषज्ञले १०० डेसिबलभन्दा बढी ध्वनी प्रदुषणले हाम्रो सुन्ने क्षमतामा असर गर्ने बताएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार शहरको लागि ४५ डेसिबल ध्वनी अनुकूल हुन्छ । पटकाको धुँवाले फोक्सोमा आक्रमण गर्ने संभावना बढी हुन्छ । हानिकारक विषाक्त कण फोक्सोमा पुग्ने भएकोले ज्यान जाने अवस्थापनि हुनसक्ने वरिष्ठ चिकित्सक डाक्टर पिताम्वर ठाकुरको भनाई छ ।

जसलाई श्वासको समस्या छ उनीहरु प्रदुषित हावाबाट बच्नुपर्ने चिकित्सकको राय छ । बच्चा र गर्भवती महिलालाई पटकाको धुँवा र आवाजबाट टाढा राख्न बरिष्ठ महिला रोग विशेषज्ञ डाक्टर सृष्टि शर्माको सुझाँव छ । यसको असरले बच्चामा श्वासप्रश्वासको समस्या देखिनसक्ने र गर्भ तुहिने सम्भावना औँल्याएका छन् । पटका र रंगीचंगी झिरझिरेहरुले रुघा, खोकी, एलर्जी लगायत क्यान्सरसम्मको चेतावनी डाक्टरहरुले दिएका छन् । दिपावलीको धुमधमाकाबीच स्वास्थ्यसँग जोडिएका समस्याबाट कसरी बच्ने ? कसरी हेरचाह गर्ने ? सानो गल्तीले पछि पछुताउनुपर्ने स्वास्थ्यकर्मी दिलीप सुवेदीको भनाई छ ।

दम, एलर्जी जस्ता रोगबाट पीडितलाई यो समयमा झन बढी समस्या थपिने गरेको छ । पटकामा भएको साना कणले स्वास्थ्यमा असर गर्ने, जसले फोक्सोमा सिधै असर गर्ने चिकित्सकले बताएका छन् । यदी अवस्था असहज हुँदै गए रोगीको मृत्युसम्म हुने उनीहरुले बताएका छन् ।

प्रहरी प्रशासनको बेवास्थाका कारण पछिल्लो समय झापा तथा आसपासका जिल्लाहरूमा गैरकानुनी क्रियाकलापले प्रसय पाउन थालेको सर्वसाधारणको गुनासो छ । प्रशासन आफैंले प्रतिबन्ध लगाएको पटकाजन्य पदार्थ खुलेआम पड्काइरहँदा प्रहरी मुकदर्शक बन्ने बस्ने गरेको आरोप पनि छ । विगतमा किराना र रङ पसलहरूमा लुकिछिपी बिक्री–वितरण हुने पटकाहरू अहिले सर्व खुलेआम बिक्री भएको पाइएको छ ।

स्थानीय प्रशासनले पटकाजन्य विस्फोटक पदार्थ प्रतिबन्ध गरे पनि साँझको समयमा यत्रतत्र पटका पड्किएको आवाजले बालबालिका तथा वृद्धवृद्धालाई आतंकित बनाएको छ । एकजना प्रहरी अनुसन्धान अधिकृतका अनुसार आघतिसबाजी पटका, झिरझिरे, आलुबम जस्ता विस्फोटक पदार्थ पड्काएको पाइए मुलुकी अपराध संहिता २०७४ को विस्फोटक पदार्थसम्बन्धी कसुरअन्तर्गत तीन वर्षसम्म कैद र ३० हजार रूपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.