१३ साउन, मोरङ : यसवर्षको जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार युवा पत्रकार सुदीप कोइरालालाई प्रदान गरिएको छ । पुरस्कृत पत्रकार कोइराला प्रेस चौतारी नेपाल, मोरङ्का पूर्व अध्यक्ष, कोशी सन्देश डटकका कार्यकारी सम्पादक तथा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका कोषाध्यक्ष हुन् ।
प्रेस चौतारी मोरङको केहीदिन अघि सम्पन्न बैठकले विराटनगर कार्यथलो बनाएर पत्रकारिता गरिरहेका कोइरालालाई पुरस्कृत गर्ने निर्णय गरेको थियो । चौतारी मोरङ अध्यक्ष चीना थापाका अनुसार पुरस्कार छनोटका लागि गठित तीन सदस्यीय समितिले पत्रकार कोइरालाको नाम सिफारिस गरेको थियो । सिफारिसमा परेको नामलाई बैठकले अनुमोदन गरेको थियो ।

छनोट समितिको संयोजकमा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज सुमन सुस्केरा थिए । विशेष कार्यक्रमको आयोजना गरेर साउन दोस्रो साता पुरस्कार वितरण गरिने योजना रहेकोमा मंगलबार विराटनगरमा आयोजित एक कार्यक्रममा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्की पुरस्कार तथा सम्मन प्रदान गरेका थिए । पुरस्कारको राशि १५ हजार ५ सय रूपैयाँ र सम्मान पत्र रहेको थियो ।
कोइरालाले विराटनगरलाई कर्मक्षेत्र बनाएर पत्रकारितामा करिब २ दशकदेखि सक्रिय छन् । विक्रम सम्वत २०६६ मा स्थापना गरिएको यो पुरस्कार यसअघि यो पुरस्कार यसअघि पत्रकारिता क्षेत्रका १६ जना विशिष्ट व्यक्तित्वहरूदीपेन न्यौपाने, महेन्द्र विष्ट, नरेन्द्रप्रसाद दाहाल, बन्धु पोखरेल, केदार चौहान, ललिता भट्टराई, विक्रम लुइँटेल, धर्मराज ढकाल, भूपेन्द्र तिम्सिना, गणेश लम्साल, रामचन्द्र अधिकारी, इन्दिरा भट्टराई, कमल पौडेल, जगन्नाथ भट्टराई, तेजेन्द्र भण्डारी र बाबुराम भण्डारीलाई प्रदान गरिसकिएको प्रेस चौतारी नेपाल मोङका अध्यक्ष चीना थापाले जनकारी दिइन् ।

पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन र राष्ट्रिय आकांक्षा पूरा गर्न पत्रकारिता क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको बताए ।
“लोकतन्त्रका लागि पत्रकारिता क्षेत्रले खेलेको भूमिका स्मरणीय छ । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न यो क्षेत्रले आफ्नो ठाउँबाट खेल्ने भूमिकामा हामी विश्वस्त छौं।” उनले भने ।
प्रदेश सरकारको कार्यसम्पादनबारे जानकारी दिँदै मुख्यमन्त्री कार्कीले गत आर्थिक वर्षमा चालु र पूँजीगत गरी करिब ८१ प्रतिशत बजेट खर्च गरेर कोशी प्रदेश सातवटै प्रदेशमध्ये पहिलो भएकोमा सम्पूर्ण नागरिकलाई बधाई दिए उनले सम्बोधनका क्रममा भने, “राजनीतिक स्थायित्वका कारण गत वर्ष ४ अर्ब ९८ करोडको आन्तरिक राजस्व लक्ष्यको ९८ प्रतिशत संकलन गर्न सफल भयौं, जुन अघिल्लो वर्षभन्दा ७ दशमलव ५ प्रतिशतले बढी हो ।” सुशासन र सञ्चार क्षेत्रको विकासप्रति प्रदेश सरकारको प्रतिबद्धता व्यक्त गर्दै उहाँले भन्नुभयो, “सरकारका हकमा उठेका प्रश्नहरूलाई समय क्रममा समाधान गरिनेछ। बेरुजु घटाउने र सुशासनको प्रत्याभूति दिलाउने कुरामा प्रदेश सरकार प्रतिबद्ध छ।” उनले प्रदेश सञ्चार प्रतिष्ठान विधेयक संसदमा छलफलका क्रममा रहेको र छिट्टै पारित भई सञ्चारकर्मीको स्वास्थ्य बिमा तथा वृत्ति विकासमा योगदान पुग्ने विश्वास दिलाए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिका अध्यक्ष भरतबहादुर खड्का, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज सुमन सुस्केरालगायतले बोलेका थिए । प्रेस चौतारी नेपाल मोरङ अध्यक्ष चीना थापाको अध्यक्षतामा भएको कार्यक्रममा सहभागी सवैलाई उपाध्यक्ष रञ्जना अधिकारीले शब्दमार्फत स्वागत र सचिव नवराज भट्टराईले सञ्चालन गरेका थिए ।





























