१९ कात्तिक, मेचीनगर : झापाको विर्तामोडमा वेवारिसे अवस्थामा हतियार फेला परेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बुधबार साँझ पौने पाँच बजेतिर झापाको विर्तामोड नगरपालिका —६ स्थित सुगम शान्ति टोलको तोरीवारी नजीकै रहेको सिमलतरुलको झाडीमा वेवारिसे अवस्थामा ०३११००८७२ नम्बर को इन्सास हतियार एउटा, त्यसमा लाग्ने म्याग्जिन एउटा त्यसैमा प्रयोग हुने राउण्ड १९ सावुत र दुई राउण्ड वेसावुत गोली फेला परेको हो ।
प्रहरीका अनुसार उक्त हतियार भदौं २४ गते जेन–जी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाटै लुटिएको थियो । उक्त हतियार इलाका प्रहरी कार्यालय अनारमनीमा ल्याइ राखिएको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले दिएको जानकारी अनुसार भदौं २४ गतेको प्रदर्शनका क्रममा इलाका प्रहरी कार्यालय दमक र विर्तामोडबाट लुटिएका २२ नाल अझै फेला परेको छैन् ।





















