विश्वकपको ‘फ्री’ प्रलोभन र भ्रामक अलर्टको पासो: २ करोड ६८ लाखभन्दा बढी ठगी

काठमाडौँ । अमेरिका, क्यानडा र मेक्सिकोमा विश्वकप २०२६ चलिरहेका बेला खेलप्रेमीहरू रातभर जाग्राम बसेर खेल हेरिरहेका छन्। तर, यही मौका छोपेर साइबर अपराधीहरूले नेपाली खेलप्रेमीहरूलाई ठगीको निशाना बनाइरहेका छन्। फ्रीमा विश्वकप हेर्ने प्रलोभनमा पर्दा र बैंक खाता सुरक्षाका भ्रामक म्यासेजका लिंक क्लिक गर्दा हालसम्म २ करोड ६८ लाख रुपैयाँभन्दा बढी रकम ठगी भइसकेको छ।

घटना १: फ्रीमा विश्वकप हेर्न खोज्दा बैंक खाता रित्तियो
कीर्तिपुर बस्ने आचार्य थरका एक युवकलाई फुटबल औधी मन पर्छ। विश्वकप सुरु भएयता कहाँबाट हेर्ने भन्ने चिन्तामा रहेका बेला उनको मोबाइलमा “फ्रीमा विश्वकप हेर्न चाहनुहुन्छ? तलको लिंक क्लिक गर्नुहोस्” भन्ने म्यासेज आयो। लिंक क्लिक गरी आफ्नो विवरण भर्नासाथ उनको मोबाइल ह्याङ भयो। मोबाइल अफ गरेर अन गर्दा उनको दुईवटा बैंकमा भएको मोबाइल बैंकिङ एपको रकम गायब भइसकेको थियो। उनी अहिले न्यायका लागि साइबर ब्युरो धाइरहेका छन्।

घटना २: ‘द अलर्ट’ बाट २५ लाख गायब, ईसेवा पनि खतरामा
काठमाडौँका खनाल थरका अर्का एक युवकको मोबाइलमा ‘द अलर्ट’ नामबाट “तपाईंको कनेक्ट आईपीएस (connectIPS) को लिंक शङ्कास्पद देखिएको छ, भेरिफाई गर्न लिंक क्लिक गर्नुहोस्” भन्ने म्यासेज आयो। बैंकबाटै आएको म्यासेज ठानेर विवरण भरेर सुतेका ती युवकको खाताबाट २५ लाख ४४ हजार १०० रुपैयाँ गायब भयो। यस्तै, भक्तपुरका एक युवालाई पनि ९७४४९४४२९८ नम्बरबाट “तपाईंको ईसेवा एप खतरामा छ, भेरिफाई गर्न लिंक क्लिक गर्नुहोस्” भन्दै फिसिङ लिंक पठाइएको पाइएको छ।

साइबर ब्युरोमा १०० भन्दा बढी उजुरी
नेपाल प्रहरीको साइबर ब्युरोका प्रवक्ता दिलीपकुमार गिरीका अनुसार गत जेठ ६ गतेयता ब्युरोमा १०० भन्दा बढी ठगीका उजुरी दर्ता भएका छन्, जसमा २ करोड ६८ लाख रुपैयाँभन्दा बढी रकम ठगी भएको निवेदन परेको छ। ह्याकरहरूले एपीके (APK), इएक्सई (.exe), बीएटी (.bat) जस्ता शङ्कास्पद एप तथा लिंकहरू डाउनलोड गराएर, विवरण भर्न लगाई ‘एलो’ (Allow) बटन थिच्न लगाएर मोबाइल बैंकिङ र कनेक्ट आईपीएस एपको एक्सेस लिने गरेको पाइएको छ। ब्युरोले यसबारे छानबिन गरिरहेको भए पनि ठगी गर्ने मुख्य नाइकेहरू अझै पक्राउ परेका छैनन्।

नेपाल टेलिकमको कदम: ग्रुप म्यासेज सेवा बन्द, आन्तरिक छानबिन सुरु
यसैबिच, नेपाल टेलिकमले एक सार्वजनिक सूचना जारी गर्दै बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन अनुरोध गरेको छ। खाता निलम्बन वा बन्द भएको भन्दै आउने शङ्कास्पद लिंकमा क्लिक नगर्न, बैंकका प्राइभेट कोड, पिन वा गोप्य विवरण साझा नगर्न टेलिकमले आग्रह गरेको छ।

टेलिकमले यो आर्थिक वर्षमा ४५ वटा ‘भेन्डर’ (सेवा प्रदायक) संस्थाहरूलाई म्यासेज प्रवाह गर्ने स्वीकृति दिएको थियो। तर, ती संस्थाहरूले व्यावसायिक प्रयोजनका लागि लिएको ‘भ्यालु एडेड सर्भिस’ (VAS) प्रणालीको दुरुपयोग गरी नागरिकको मोबाइलमा अनावश्यक र ठगी गर्ने म्यासेज पठाएको पाइएपछि टेलिकमले केही समयका लागि ‘ब्लक र ग्रुप म्यासेज’ सेवा पूर्ण रूपमा बन्द गरिदिएको छ।

टेलिकमका प्रवक्ता कमल लामिछानेले फिसिङ र स्क्याम लिंकहरू मोबाइल म्यासेजमा गइरहेको पुष्टि गर्दै आन्तरिक छानबिन सुरु गरिएको र रिपोर्ट आएपछि थप निर्णय लिइने बताउनुभयो। उहाँले म्यासेजको कन्टेन्ट फिल्टर गर्ने स्पष्ट मापदण्ड नहुँदा समस्या परेको भन्दै यस्ता ठगीबाट बच्न ग्राहक आफैँ सचेत हुनुपर्ने कुरामा जोड दिनुभयो।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.