सुरेन्द्र भण्डारी
२७ साउन, झापा : अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’ बाह्रदशीले आयोजना गरेको मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ। युवालाई खेलकुदसँग जोड्दै स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने तथा बाह्रदशीको पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।
बाह्रदशी गाउँपालिका–५ घोडामाराबाट वडा नम्बर ६ मा रहेको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र बाह्रदशी डाँडासम्म २ दशमलब ५ किलोमिटर दूरीमा प्रतियोगिता सञ्चालन गरिएको थियो। प्रतियोगितामा बाह्रदशी गाउँपालिकासहित छिमेकी बिर्तामोड, भद्रपुर, हल्दिबारी, कनकाईलगायतका पालिकाबाट २ सयभन्दा बढी धावक सहभागी भएका थिए।
प्रतियोगितामा बिर्तामोड नगरपालिकाका शिव कार्की प्रथम भए। त्यस्तै इन्द्र मगर द्वितीय, सुकदेव टुडू तृतीय, मुक्साम लिम्बू चौथो तथा लक्ष्मण टुडू सान्त्वना स्थानमा रहे। प्रतियोगिताका विजेता तथा उत्कृष्ट धावकलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।
रास्वपा बाह्रदशी गाउँपालिका सभापति सोमनाथ बजगाईको अध्यक्षतामा भएको कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, नागरिक समाजका प्रतिनिधि, विद्यार्थी तथा स्थानीय सर्वसाधारणको उल्लेख्य सहभागिता थियो।

सभापति बजगाईले पछिल्लो समय युवामा लागुऔषध दुर्व्यसनको जोखिम बढ्दै गएको भन्दै त्यसको रोकथामका लागि खेलकुदमार्फत जनचेतना फैलाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए।
‘युवालाई सकारात्मक गतिविधिमा जोड्न खेलकुद प्रभावकारी माध्यम हो,’ उनले भने, ‘खेलकुदका माध्यमबाट युवालाई दुर्व्यसनबाट टाढा राख्दै स्वस्थ र अनुशासित जीवनशैलीतर्फ प्रेरित गर्न सकिन्छ।’
बाह्रदशी डाँडालाई खेलकुद तथा पर्यटनसँग जोडेर यसको प्रचारप्रसार गर्ने उद्देश्यसमेत प्रतियोगितासँग जोडिएको उनले बताए। बाह्रदशीमा रहेका ऐतिहासिक, धार्मिक तथा प्राकृतिक सम्पदाको पहिचान विस्तार गर्न स्थानीयस्तरमा यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने उनको भनाइ थियो।
रास्वपा बाह्रदशीका सचिव हेमन्त पाण्डेले ‘स्वस्थ युवा’ भन्ने नारासहित प्रतियोगिता आयोजना गरिएको बताए। स्वास्थ्यका लागि नियमित शारीरिक व्यायाम र खेलकुद आवश्यक भएकाले युवालाई खेल गतिविधिमा सहभागी गराउने उद्देश्य रहेको उनले बताए।
‘स्वास्थ्यका लागि खेल आवश्यक छ। स्वस्थ नागरिक र सक्रिय युवा निर्माणसँगै बाह्रदशीका पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा समेत योगदान पुगोस् भन्ने उद्देश्यले कार्यक्रम गरेका हौं,’ पाण्डेले भने।
उनका अनुसार प्रतियोगितामा विभिन्न पालिकाबाट धावकको सहभागिता रहनुले बाह्रदशीलाई खेलकुद र पर्यटनका माध्यमबाट चिनाउने प्रयासमा सहयोग पुगेको छ। आगामी दिनमा पनि युवालाई लक्षित गर्दै खेलकुद तथा सामाजिक गतिविधि सञ्चालन गर्ने योजना रहेको आयोजकले जनाएको छ।
अन्तर्राष्ट्रिय युवा दिवसलाई केवल औपचारिक कार्यक्रमका रूपमा सीमित नराखी युवाको स्वास्थ्य, सिर्जनशीलता, खेलकुद र सामाजिक सहभागितासँग जोड्नुपर्ने सन्देश प्रतियोगिताले दिएको आयोजक समितिका अर्का सदस्य चान मोहम्मदले बताए । बाह्रदशी डाँडासम्मको मिनी म्याराथनले स्थानीय युवासँगै छिमेकी पालिकाका खेलाडीलाई समेत एउटै गतिविधिमा जोडेको थियो। प्रतियोगिताका क्रममा सहभागी धावक तथा स्थानीयको उपस्थितिले बाह्रदशी डाँडाको पर्यटकीय सम्भावनालाई समेत उजागर गरेको थियो।

























