लक्ष्मी उप्रेती
१७ कात्तिक मेचीनगर : श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य हर्कराज राई (हर्क साम्पाङ) ले पत्रकार पक्राउ प्रकरणमा सरकारले जिम्मेवारी लिनुपर्ने बताएका छन् । ‘प्रहरीले पत्रकार पक्राउ गर्ने, अनि सरकार आफूलाई केही थाहा छैन् भन्दैं रिहा गर्न आदेश दिने कस्तो आश्चार्यजनक कुरा छ ।’ उनले भने ।
आज झापाको मेचीनगर– ६ काँकरभिट्टामा आयोजित जिल्ला स्तरीय कार्यक्रमलाई सम्बोधन गदैं अध्यक्ष राईले भने,‘अहिले सरकार र नेपाल प्रहरीबीच तालमेल मिलेको छैन् सवारी साधनले सवारी दुर्घटना गराए टायरलाई नभएर चालकलाई कारवाही गर्नुपर्ने भन्दैं पत्रकार पक्राउ तथा सञ्चारमाध्यमका कार्यालयमा प्रहरीले गरेको व्यवहारको जवाफ सरकारले दिनुपर्छ । ’
नेपाल प्रहरीले शुक्रवार केही पत्रकारहरूलाई विना पुर्जी पक्राउ गरेको र सादा कपडामा पत्रिकाको कार्यालयमा गएर तर्साएको घटनालाई प्रेस स्वतन्त्रतामाथिको आक्रमण भन्दै अध्यक्ष राईले व्यापक निन्दा र आलोचना गरे ।
उनले देशको शासन र प्रशासनिक संयन्त्रमा बिचौलियाहरूको अत्यधिक प्रभाव बढेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् । परम्परागत राजनीतिक दलहरू र तिनका नेतृत्व जवाफदेही नभएकै कारण देश बिचौलियाहरूको हातमा पुगेको टिप्पणी गर्दै उनले आगामी दिनमा श्रम संस्कृति पार्टीले कुनै पनि शक्तिसँग गठबन्धन नगरी स्वतन्त्र रूपमा राष्ट्रिय विकल्प प्रस्तुत गर्ने दाबी गरे ।
अध्यक्ष राईले सरकारको मान्छे भन्दै बिचौलियाहरूले देशका सबै क्षेत्र कब्जा गरेको र यसप्रति सरकार मौन बसेको आरोप लगाए । बिचौलिया र सीमित स्वार्थ समूहले नीति निर्माणदेखि कार्यान्वयनसम्मका क्षेत्रमा हस्तक्षेप गर्दा वास्तविक श्रमजीवी जनता मारमा परेको उनको तर्क छ । आफू श्रम गर्नकै लागि देशका विकट ठाउँमा पुगिरहदा सरकार भने राजधानीका सुविधा सम्पन्न होटलमा विचौलियाहरुसँग व्यस्त रहेको आरोप उनको थियो ।
बिचौलियातन्त्रको अन्त्य, सुशासन, श्रममा आधारित अर्थतन्त्रको विकास, र व्यावहारिक शिक्षा प्रणालीका लागि उनले सरकारसमक्ष राष्ट्रिय सुधारको मार्गचित्र (रोडम्याप) समेत प्रस्तुत गरेको स्पष्ट पारे ।
सुकुम्बासी समस्या देशकै जटिल समस्या भएको भन्दैं अध्यक्ष राईले सुकुम्बासी बस्ती भत्काउने , प्रहरी पचिालन गर्ने, सेना पठाउने र डोजर चलाउने चरित्र श्रम संस्कृति पार्टीको नभएको बताए । गरीब, दुःखीको छानो चुरिहेको छ भने यो पार्टीले छाउने काम गर्ने उनको दावी थियो ।
पार्टीले देशका विभिन्न ठाउँमा पुगेर गफमा भन्दा पनि काममा विश्वास गरी गरेको श्रमदान र कामले पनि यसलाई पुष्टि गर्ने उनले स्पष्ट पारे । मेचीनगरमा समेत सुकुम्बासी समस्या ज्यादैं ठुलो रहेको भन्दैं यसको समाधानमा आफ्नो पार्टी लाग्ने प्रतिवद्धता व्यक्त गरे । आफुले पहिलो प्रतिनिधि सभाको बैठकमा सुकुम्बासीलाई विस्थापित होइन व्यवस्थापन गर्नुपर्छ भनेर आवाज उठाएको स्मरण गराए ।
सुकुम्बासीको घर डोजर लगाएर भत्काईदिने, तीन हजार ३५ सय प्रहरी लिएर सेना परिचालन गरेर गरीब, दुःखी नेपाली जनताको बस्ती उजाडर्नलाई सरकारले आफ्नो बहादुरी सम्झिनु नहुने उनको तर्क थियो । आफु र आफ्नो पार्टी गरीब, दुःखीको पक्षमा उभिदैं आएको मान्छे भएको दाबी गर्दै उनले गरीब दुःखीको जीवनस्तर उकास्नु नै आफ्नो राजनीतिक उद्धेश्य रहेको स्पष्ट पारे । अब सुकुम्बासीको व्यवस्थापन गर्ने तथा जग्गाधनी प्रमाण पूर्जा वितरण गर्ने काममा श्रम संस्कृति पार्टी १ नम्बर पार्टी रहेको उनले दाबी गरे । अहिले आफ्नो पार्टी सरकारमा नभएका कारण आवाजमात्र उठाउन सकेको बताए । श्रम संस्कृतिे संयौको संख्यामा गरीब दुःखीको घर बनाएर हस्तान्तरण गरेको स्मरण गराउँदैं, जुन दिन यो मुलुकमा श्रम संस्कृति पार्टीको सरकार आउँछ त्यसै दिन देखि गरीब दुःखीको पनि दिन आउने विश्वास व्यक्त गरे ।
आगामी स्थानीय तहको निर्वाचनमा श्रम संस्कृति पार्टीका उम्मेद्वारलाई पालिकाहरुमा विजयी गराउँन आग्रह गदैं उनले त्यसपछि देखिने गरी काम गर्ने विश्वास दिलाए ।
हात्ती समस्या दिर्घकालिन समाधानका लागि नीति तथा कार्यक्रम आवश्यक रहेको बताए । हात्ती समस्या समाधानमा संघीय सरकारले नीति बनाएर कार्यन्वयन गर्ने हो भने तत्काल समाधान हुने अध्यक्ष राईको जिकिर थियो । श्रम संस्कृतिको सिद्धान्तमा प्रकृति, संस्कृति र प्रवृत्ति जोडिएको बताए ।
श्रम संस्कृति पार्टीले श्रमलाई विकासको आधार बनाउँदै संगठन विस्तार गरिरहेको उनले बताए । आफ्नै नेतृत्वमा धरान लगयत देशका विकट ठाउँमा श्रमदानमार्फत खानेपानी, पुल, पार्क तथा विपन्न परिवारका लागि घर निर्माणलगायतका काम भएका स्मरण गराए । ‘स्थानीय श्रम र आधुनिक प्रविधिको संयोजनबाट मात्रै देशको विकास सम्भव भएको बताउदैं उनले श्रमलाई सम्मान गर्ने संस्कृतिको विकास गर्न पार्टीले अभियान सञ्चालन गरिरहेको स्पष्ट पारे ।
उनले भदौं १० मा भोटेकोशीमा आएको बाढीका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडितका लागि संकलन भएको राहतको पारदर्शीढंगले सार्वजानिक गर्न सरकारसँग माग गरे । ‘राहत संकलन भयो, अझै सम्म पीडितसम्म राहत पुगेको छैन् यो कस्तो सरकार हो उनले प्रश्न गरे । ’
मेचीनगरमा तीनवटा ठुला समस्या विकराल अवस्थामा रहेको भन्दैं उनले लागूऔषध हरेक घर समाजहुँदैं देशकै विकराल समस्याका रुपमा देखा परेको उनको भनाई थियो । लागू पदार्थ दुव्यर्सन अन्त्यका लागि हरेक नागरिक एक ठाउँमा उभिनुपर्ने उनको भनाई थियो । खुला नाकाका कारण यो समस्याले विकराल रुप लिएको भन्दैं आफुले सदनमा भिसा सिस्टन लागु गर्नुपर्छ भनेर माग गरेको सुनाए । खुला सिमानाकै कारण अपराध, मानव बेचबिखनदेखि थुप्रै खाले तस्करीलगायत अन्य आपराधिक गतिविधि बढेको उनको तर्क थियो । लागू औष आफू पनि सेवन नगरौ, अरुलाई पनि नगराउँ यो श्रम संस्कृति पार्टीको मुख्यः अभियान रहेको बताए ।
श्रम संस्कृति पार्टी झापा जिल्ला समिति आयोजक तथा मेचीनगर समितिले सहआयोजक रहेको झापा जिल्ला स्तरीय व्यापक हातेमालो पार्टी प्रवेश कार्यक्रममा झापा मेचीनगरका युवा व्यवसायी तथा समाजसेवी बालकृष्ण थापा, कानूनका विद्यार्थी तथा पार्टीका शुभचिन्तक अनिश कट्टेललगायतले बोलेका थिए । पार्टीका जिल्ला सहसचिव अञ्जु खेवा लिम्बु र मेचीनगर सचिव अमर फोम्बो लिम्बुले संयुत्त mरुपमा सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता पार्टीका झापा अध्यक्ष केशवकुमार भण्डारी र स्वागत मेचीनगर अध्यक्ष पदम सुनुवारले गरेका थिए ।
कार्यक्रममा कप्तान राजवंशीलाई नगदसहित ढाकाको टोपी पहिर्याएर अध्यक्ष राईले सम्मान गरेका थिए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी र स्वतन्त्र रहेका छ सयबढी श्रम संस्कृति पार्टीमा प्रवेश गरेको दाबी आयोजकको छ । कार्यक्रममा अध्यक्ष राईले आफ्नै रचनामा रहेको श्रमको गीत गाएर सहभागी सवैलाई छमछम नचाएका थिए ।






















