📌 मुख्य बुँदाहरू:
- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङद्वारा विदेशी ऋण लिने निर्णयमा संसद्मा छलफल गराउन माग
- सरकारले १०७ मिलियन अमेरिकी डलर ऋण थप्न लागेको विषयप्रति असन्तुष्टि व्यक्त
- ऋण लिने विषय प्रधानमन्त्री वा मन्त्रीहरूको व्यक्तिगत निर्णय नभएको तर्क
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले विदेशी ऋण लिने निर्णय गर्नुअघि संसदमा अनिवार्य छलफल गराउनुपर्ने माग गरेका छन्। विदेशी ऋण लिनु प्रधानमन्त्री वा मन्त्रीहरूको व्यक्तिगत निर्णयको विषय नभएको स्पष्ट पार्दै उनले यसबारे संसदलाई जानकारी गराउन र पारदर्शी बनाउन आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै साम्पाङले सरकारले पुनः १०७ मिलियन अमेरिकी डलर ऋण लिन लागेको विषयप्रति गम्भीर असन्तुष्टि जनाएका छन्। उनले मुलुकलाई ऋणको पासोमा पार्ने गतिविधि बिना संसद्को सहमतिमा नबढाउन चेतावनी दिएका छन्।
देश चलाउन नसके जिम्मेवारी दिन चुनौती
सरकारले विदेशी ऋण लिएर मात्रै देश सञ्चालन गर्नुपर्ने अवस्था रहेको भन्नेतर्फ लक्षित गर्दै साम्पाङले आफूहरूलाई शासनको जिम्मेवारी दिन चुनौतीसमेत दिएका छन्।
‘विदेशी ऋण नलिई देश चलाउन सक्दैनौ भने हाम्लाई छाडिदेऊ, हामी चलाउँछौँ देश। तिम्रो व्यक्तिगत मामिला होइन है विदेशी ऋण। संसदमा छलफलमा ल्याउने गर, १०७ मिलियन डलर फेरि थप्दै रहेछौ। खुसीखुसी नगर,’ उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।




















