लक्ष्मीउप्रेती
५ जेठ, मेचीनगर : कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेटका लागि प्रदेशको आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सुझाव संकलन गरेको छ ।
सुझाव संकलनका क्रममा आएको टोलीसँग पर्यटन व्यवसायीले पर्यटनमैत्री नीति, पर्यटनमा एकद्वार प्रणाली, नयाँ गन्तव्यको खोजी, प्रचारप्रसारमा सहयोग गरिदिन आह्वान गरेका छन् । कोशी प्रदेशमा अपेक्षाअनुसार पर्यटक भित्रिन नसकेको भन्दै पर्यटकीय गतिविधि बढाउनका लागि पूर्वाधार विकासमा जोड दिन सुझाव दिएका छन् ।
आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेटमा कोशी प्रदेशको कार्ययोजना निर्माणका लागि कोशी प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण संसदीय समितिले मंगलबार झापाको काँकरभिट्टामा सरोकारवालाहरुसँग सुझाव संकलन गरेको हो ।
पर्यटन, वन तथा वातावरण पूर्व मन्त्री गणेश उप्रेती, पूर्व मन्त्री खिनु लङवा लिम्बुसहित संसदीय समितिको टोली र सरोकारवालाबीच छलफल भएको हो । यसअघि समितिले प्रदेशको ताप्लेजुङ, पाचथर र इलाममा यस्तै छलफल गरेको समितिका सदस्य एवम् कोशी प्रदेश सभा सदस्य गोपाल तामाङले छलफलमा जानकारी गराएका थिए ।

आगामी वर्ष पर्यटनका क्षेत्रमा के कस्ता सुधार गर्न आवश्यक छ, नीति र कार्यक्रममा के कस्ता योजना समावेश गर्ने, यसमा लगानी गरिएको बजेटबाट प्रतिफल कसरी लिन सकिन्छ वा प्रदेशको पर्यटनक्षेत्रको विकास र प्रवद्र्धमा के कस्ता सारागारा अप्ठयारा समस्या छन लगायतका विषयमा सरोकारवालाहरुसँग छलफल गरी समाधान खोजेर कार्ययोजना बनाउन प्रदेशका विभिन्न जिल्लामा छलफल सुरु गरिएको प्रदेश सभा सदस्य तामाङले जानकारी दिए ।
ॅहामीले प्रदेशको ताप्लेजुङ, पाचथर र इलामका पर्यटन व्यवसायी र सरोकारवाहरुसँग बसेर सुझाव संकलन गरिसकेका छौं,’ तामाङले भने, ‘उहाँहरूको महत्वपूर्ण सुझावलाई आगामी बन्ने नीति तथा कार्यक्रम र बजेटमा समावेश गरिन्छ ।’ अन्तरिक पर्यटन प्रवद्र्धनका लागि प्रदेश सरकारले विभिन्न नीति बनाउने उनले बताए ।
सवैबाट प्राप्त सुझाँव प्रदेश सरकार र मन्त्रालयलाई दिने प्रतिवेदन तयार गरिएको बताउँँदैं उनले नीतिगत सुधारको खाचो समेत औल्याए । चरा पर्यटनले राम्रो सम्भावना बोकेकाले आगामी नीति तथा कार्यक्रममा प्रदेशले समेट्ने, कुनै कुनै प्रक्रिया जटिल छन् सरल बनाउँदै लैजाने, झापाको भद्रपुर र मोरङको विराटनगर विमानस्थलबाट लुक्ला, सुकेटारसम्म हवाईजहाजको सुविधा भए पर्यटकलाई आर्कषण गर्न सकिने, यसका लागि योजना समानरूपमा वितरण गरेर निजीक्षेत्रलाई कसरी आकर्षण गर्न सकिन्छ, अनि माउन्टेन फ्लाईटको व्यवस्था गर्ने छलफल चलेको प्रदेश सभा सदस्य तामाङले बताए ।
नेपालको आन्तरिक पर्यटन प्रवद्र्धनका लागि रणनीतिक कार्ययोजना निर्माण गर्ने गरी सुझाव संकलन गरिएको छ । कोशी प्रदेश अन्य प्रदेशको तुलनामा पर्यटनकाक्षेत्रमा निक्कै सम्भावना बोकेको प्रदेश भए पनि लक्ष्य अनुसार पर्यटक भित्रियाउन नसकिएको छलफलका सहभागीहरुले बताएका थिए ।
नेपालको सबैभन्दा होचो स्थान केचनाकवल समुन्द्र सतहबाट ५८ मिटरको उचाईदेखि ८,८४८ मिटरको उचाईमा रहेको विश्वकै सर्वोच्च शिखर सगरमाथा समेत कोशी प्रदेशमा पर्छ । यी बाहेक विश्वका १० अग्ला हिमालमध्ये आठ हजार मिटरमाथिका पाँच वटा हिमाल कोशी प्रदेशमै छन् । केचनाको नजिकै भीमसेनले किच्चकलाई बध गरिएको स्थान पनि रहेको छ । यहाँबाट कञ्चनजंघा, मकालु र सगरमाथा हिम श्रृङ्खला पनि देख्न सकिन्छ । कोशी प्रदेशलाई मुलुककै पर्यटन ‘हब’ का रुपमा लिन सकिन्छ ।
तर, पनि अपेक्षा गरे अनुसार पर्यटक भित्रियाउन नसकेको पर्यटन, वन तथा वातावरण पूर्व मन्त्री एवम् समितिका सदस्य खिनु लङवा लिम्बुले बताईन् । आगामी आर्थिक वर्ष ०८३/०८४ को बजेट आउन लागेको समयमा यो छलफलले पर्यटनको क्षेत्रमा विनियोजन बजेटमा निक्कै ठुलो मद्धत पुग्ने बताईन् । कोशी प्रदेशमा सगरमाथा, हलेसी, पाथीभरा जस्ता धार्मिक एवम् पर्यटकीय स्थान भउपनि पूर्वाधारका कारण पर्यटकहरु समस्यामा पर्ने गरेको लिम्बुले बताईन् ।
पर्यटकका लागि पूर्वाधार बाधक भएको, हवाई उडानको समस्या, घरदेखि घरसम्म मात्र बाटो र कालोपत्र भएका कारण पनि लक्षित पयैटक भित्रियाउन नसकेको उनको भनाई थियो । पर्यटनको वर्तमान स्थिति, आन्तरिक पर्यटनको प्रवद्र्धनमा बाधा पुर्याउने विद्यमान नीतिभित्रका अन्तरहरूको अन्वेषण र विश्लेषण, नीतिगत वर्तमान स्थितिलाई आधार बनाएर कार्ययोजना बनाइने उनले बताईन् ।
कोशी प्रदेश सभा सदस्य एवम् समितिका सदस्य निरन राईलेपर्यटन व्यवसायसँग प्रदेशको आर्थिक समृद्धि जोडिएको बताए । पर्यटनको प्रवद्र्धन र विकास गर्न सके कोशी प्रदेशलाई समृद्ध बनाउँन सकिने उनको भनाई छ ।
योजना ल्याएर र काम सकेरमात्र नहुने भन्दैं राईले लगानी अनुसार प्रतिफल कति पायौँ ? त्यो हेर्नुपर्नेमा जोड दिए । उनले योजनाको अनुगमन गर्दा यी कामबाट प्रदेश दर्विलो नभएको, यहि गतिले प्रदेशले मुहार फेर्न नसक्ने भन्दैं हरेक प्रदेशवासीले उत्पादनमा जोड दिएर उत्पादनमुखी हुनुपर्ने बताए । सिमित श्रोत र साधनबाट प्रदेशले पर्यटनका क्षेत्रमा निक्कै ठुल्ठुला काम गरेको बताउँदै उनले थोरै लगानीबाट अधिकरूपमा पर्यटक ल्याउन सकिने उपाय खोज्न सरोकारवालाहरुलाई सुझाँव दिए ।
पर्यटन कार्यालय काँकरभिट्टाका कार्यालय प्रमुख छविलाल खतिवडाले छलफलको अध्यक्षता गर्दै दर्ता प्रक्रियामा एकद्वार नीति बनाउनु पर्ने, हरेक महोत्सवहरूलाई क्यालेन्डरमा हाल्नुपर्ने, प्रकृति पर्यटनलाई कसरी अघि लिएर जाने नीति बनाउन र पर्यटन सूचना केन्द्रको दर्विलो कार्यालय स्थापना गररे दक्ष जनशक्ति परिचालन गर्नुपर्ने विचार राखेका थिए । खतिवडाले फोहोरमैलाको उचित व्यवस्थापन गर्न नसके यसबाट नोक्शान व्योहोर्नु पर्ने भन्दैं यसतर्फ सजग रहन सवैमा आग्रह गरे ।
पर्यटन अधिकृत निरोज कट्टेलले कार्यालयले गरेका हरेक गतिविधि तथा चूनौतीसहित आर्थिक गतिविधिका बारेमा मल्टिमिडियामार्फत प्रस्तुती करण दिएका थिए । अध्यगमन कार्यालय काँकरभिट्टाका प्रमुख तुलसी भट्टराईले कार्यालयको हालसम्मको गतिविधि प्रस्तुत गरे ।
सहभागीहरु, शंकर लुईटेल, कराते प्रशिक्षक राजु मर्हजन, देवेन खरेल, राजेन्द्र रिजाल, मञ्जिल देवान, इन्दिरा श्रेष्ठ,आकाश श्रेष्ठ, प्रकाश पौडेल, अनिश काफ्लेलगायतले समितिलाई विभिन्न सुझाँव दिएका थिए ।
वन्यजन्तु सुरक्षित नभएसम्म वन्यजन्तु सँग सम्बन्धित पर्यटन प्रवद्र्धनको कल्पना सम्भव नहुने, खेलको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्न सकिने हुँदा काम गर्ने संस्थालाई प्रोत्साहन र नगर्नेलाई निरूत्साहित गर्न सहभागीले सुझाँव दिएका थिए । चरा पर्यटनको बलियो सम्भावना रहेकाले यसलाई निरन्तरता दिनुपर्ने, ५० प्रतिशतबढि पर्यटकहरू चरा हेर्न आउने गर्दा स्थानीय स्तरमा आर्थिक गतिविधि हुने सहभागीहरुको अनुभव थियो ।
कोरोना महामारीपछि नेपालमा विदेशी पर्यटक न्यून संख्यामा आउन थालेकाले यस्तो अवस्थामा आन्तरिक पर्यटकलाई चलायमान बनाउनुपर्ने सहभागीहरुको भनाई थियो । यसका लागि सरकारले आन्तरिक पर्यटन रणनीतिक कार्ययोजना बनाउनु पर्ने बताइएको छ ।
आन्तरिक पर्यटकहरूलाई आकर्षित गर्न निजी क्षेत्रको समन्वयमा पर्यटकीय प्याकेजहरूको विकास गर्न सहभागीको सुझाँव छ । प्रचारप्रसार नहुँदा पर्यटक नपुग्ने भएकाले व्यवसायीलाई स्थानीय खाद्यान्न तथा घरबास कार्यक्रमलाई प्रोत्साहन गर्नसमेत सुझाव दिए । आन्तरिक पर्यटन प्रवद्र्धनका लागि अल्पकालीन तथा दीर्घकालीन योजना तर्जुमा गर्नुपर्ने सहभागीले बताए ।