१७ भदौ, मेचीनगर : झापाको काँकरभिट्टामा आज आयोजित एक कार्यक्रममा सहभागी वक्ताहरुले मानव बेचबिखन न्यूनीकरणका लागि सरकारी विकासका साझेदार संस्थाहरूबिच समन्वयात्मक भूमिका हुनुपर्नेमा जोड दिएका छन् । सभ्य समाजका लागि चुनौती बन्दै गएको मानव बेचबिखनलगायतका घटना न्यूनीकरणका लागि सहकार्य नै विशेष उपाय हुन सक्ने सुझाव दिएका छन् ।
मानव बेचबिखन विरूद्ध क्रियाशील नव अभियान नेपालको झापा मेचीनगर –०६ काँकडभिट्टा शाखा कार्यालयले मेचीनगर –०६ काँकरभिट्टास्थित होटल इष्ट्रर्न ग्राण्डमा आयोजित समीक्षात्मक कार्यक्रममा बोल्ने अधिकाँश वक्ताहरुले यस्तो कुरामा जोड दिएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि झापा मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोख्रेल उप्रेतीले मानव बेचबिखन रोकथाम र नियन्त्रण कसैको एक्लो प्रयासले मात्र सम्भव नहुने बताईन् । मानवताका नाताले हामी सबैले एक अर्कालाई साथ सहयोग गर्नुपर्ने र यो हामी सबैको जिम्मेवारी समेत रहेको उपप्रमुख उप्रेतीले स्पष्ट पारिन् । मानव बेचबिखन किन हुन्छ ? के कारणले बेचिन बाँध्य छन् ? कस्ता मान्छे बेचिएका छन् ? लगायत यी सारा कारण पत्ता लगाएर यसको समाधान खोज्नु आजको आवश्यकता रहेको उपप्रमुख उप्रेतीको भनाई थियो । कुनै पनि कारणले मानिस हिंसा र बेचबिखनमा पर्नु नहुने उनकोे भनाई छ । तर, मानव बेचबिखन हुने कारण र भइरहेको छ भन्ने जानकारी सबैलाई छ तर अब यसको समाधानको विषयमा ठोस छलफल हुनुप¥यो भन्दै उपप्रमुख उप्रेतीले सरोकारवालाको ध्यानाकर्षण गराईन् ।

स्थानीय सरकार र विभिन्न सरकारी वा गैरसरकारी संघ संस्थाबीच नङ मासुको सम्बन्ध रहनु पर्ने र स्थानीय सरकारसँग सहकार्य समन्वय गरि अघि बढ्नुपर्नेमा उनले जोड दिईन् । सबैजना मिलेर काम गर्दा त्यसले नतिजा पनि सन्तोषजनक दिने उपप्रमुख उप्रेतीले विश्वास व्यक्त गरीन् । उनले काम मात्र गर्नेे नभई गरेको कामले नतिजा पनि दिनुपर्नेमा जोड दिइन् ।
मुलुकमा हाल तीन तहका सरकार भए पनि यी सरकारबीच कामको वाडफाड र अधिकारको अस्पष्टताले सोचे अनुसार स्थानीय सरकारले काम गर्न नसकेको उनले स्पष्ट पारीन् । मानव बेचबिखन न्यूनीकरणका लागि समन्वयात्मक भूमिका हुनुपर्ने उपप्रमुख उप्रेतीको भनाई थियो ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी निरीक्षक वीरेन्द्र कोइरालाले मानव बेचबिखनको न्यूनीकरणका लागि सरकारी निकायले सम्बोधन गर्नुपर्ने सवालबारे चर्चा गरे । उनले विगतमा महिला मात्र बेचिन्छन्, भन्ने सोच थियो भने हाल श्रम शोषण, मानव अङ्ग झिक्नका लागि पुरुष र बालबालिका पनि मानव बेचबिखनमा पर्ने बताए । उनले भने ‘मानव बेचबिखनमा पर्नु भनेको यौन शोषणका लागि मात्र बुझ्ने सोचमा अब परिवर्तन आउनुपर्छ, हाम्रो देशमा रोजगारीको अभावका कारण रोजगारीको प्रलोभनमा पारेर बन्धक बनाएर कम वा विना पारिश्रमिक काममा लगाउनु पनि बेचबिखन नै हो तर पुरुषले आफू बेचिए भन्न हिचकिचाउने कारणले उजुरी दिनेहरूमा महिला नै बढी देखिएको छ ।’

उनले मानव बेचबिखनमा आधूनिक प्रविधिले समेत जोखिम बढाएको बताए । ‘आजभोलि सबै मानिसको हातमा मोबाइल देखिन्छ । अधिकांश युवायुवती मोबाइलमै व्यस्त देखिन्छन् । नेपाली बजारमा प्रविधिले आफूलाई स्थापित गरिरहेको छ । प्रविधिले कतिपय कामलाई निकै सहज बनाएको छ । तर प्रविधिकै कारण नेपाली महिला र बालबालिका बेचबिखनको उच्च जोखिममा पर्ने गरेका छन् ।’ प्रहरी निरीक्षक कोइरालाले भने ।
विगतमा भौतिक उपस्थितिमै ललाइफकाइ महिला बेच्ने गिरोह अहिले मोबाइल फोनबाटै महिलालाई लोभ्याएर विदेश पुर्याउने गरेको लामो समयसम्म अनुसन्धानका क्षेत्रमा काम गरिसकेका प्रहरी निरीक्षक कोइरालालले बताए । कोइरालाले भने, ‘दलालले इमोमार्फत महिलालाई ललाइफकाइ गर्ने शैली अपनाएपछि यसको रोकथाममा पनि चुनौती थपिएको छ ।’ ‘अहिले फोनकै भरमा महिलालाई भारत ओसार्न थालेपछि नियन्त्रणमा समेत चुनौती थपियो’उनले भने ।

दलालले फोनमा देखाएको प्रलोभनले ग्रामीण सोझा, अशिक्षित महिलामात्रै नभई सचेत महिला पनि फस्ने गरेका छन् । मोबाइल फोन, फेसबुक, म्यासेन्जर, इमोगायतका कारण मानव तस्करलाई नयाँ व्यक्तिसँग चिनजान र सम्पर्क बढाउन सहज बनाइदिएको छ । यसले मानव बेचबिखन तथा ओसारपसारलाई अझै बढी सहज बनाउँदै भनेको समय र स्थानमा बोलाएर भेट्न सजिलो भएको छ ।
मेची सामुदायिक सेवा केन्द्र मेचीनगरका अध्यक्ष मुक्ति पौडेलले सवै जनाको सहकार्य र समन्वय भएमात्र यस्ता घटनामा कमि आउने बताए । काँकरभिट्टा नाका रहेर काम गर्ने सरकारी तथा गैर सरकारी संस्थाले स्थानीय सरकारसँग समन्वय सहकाय गरेर अघि बढ्न सुझाँव दिए ।
कार्यक्रमको अध्यक्षता गर्दै केन्द्रीय कार्यालयका कार्यक्रम निर्देशक सविना श्रेष्ठले संस्था गरेका गतिविधिका बारेमा सहभागीलाई जानकारी दिईन् । चेलीबेटी बेचबिखनविरुद्ध सरकारी र गैरसरकारी निकाय सक्रिय भएसँगै दलालले आफ्नो शैली पनि फेरेको उनको भनाई छ ।
संस्थाका कार्यक्रम संयोजक सरस्वती मानन्धरले अहिलेसम्म देशभरि संस्थाले भए गरेका गतिविधिका बारेमा चर्चा गरीन् । उनले संस्थाले चार हजारबढीका बीचमा विभिन्न चेतनामुलक कार्यक्रम गरेको ,छ जना बालबालिकाहरुको उद्धार गरेको, पाँचसय बढीलाई रोकथाम गरेको, ९० जना बालबालिकाहरुलाई विभिन्न छात्रावृत्ति प्रदान गरेको, १५ जनालाई विभिन्न सीपमुलक तालिम प्रदान गरिएको, तीन सय जनालाई परामर्श सेवा दिइएको, तीन सय जनालाई अस्थायी आवस गृह उपलब्ध गराइएको उनले बताइएन । कार्यक्रममा नव अभियान नेपालको झापा मेचीनगर –०६ काँकरभिट्टा शाखा कार्यालय मेचीनगरले गरेको गतिविधि प्रोजेक्टरबाट देखाइएको थियो । कार्यक्रम सञ्चालन नाकाका बरिष्ठ कर्मचारी अनिता गुरागाईँ गरेकी थिईन् ।
कार्यक्रममा सुरक्षा निकायका उच्च अधिकृत, विभिन्न सरकारी गैर सरकारीका प्रमुख प्रतिनिधि, सञ्चारकर्मी, महिला अधिकारकर्मीलगायतको सहभागिता रहेको थियो ।


























