ज्येष्ठ नागरिक सम्मान : ‘बर्तमान उपलब्धीका हकदार ज्येष्ठ नागरिक’

१६ पुस, मेचीनगर : झापाको मेचीनगरमा मंगलबार ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । मेदनी– बिनइ मैनाली प्रतिष्ठान र देवर्षि आश्रम मेचीनगर–०७ को प्रायोजनमा ज्येष्ठ नागरिक समिति मेचीनगर–०७ को आयोजनामा आयोजित ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा वडा नम्बर–०७ का सयभन्दा बढिलाई सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य रविन कोइराला, विशिष्ट अतिथि मेचीनगर नगरपालिका उपप्रमुख मीना पोख्रेल उप्रेतीले संयुक्तरूपमा सम्मान गरेका थिए । ७० वर्षमाथिका सम्मानित ज्येष्ठ सदस्यहरूलाई दोसल्ला टीका,पहिर्याएर सम्मान गरिएको थियो ।
आयोजक संस्थाका अध्यक्ष पिताम्वर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने अधिकाँश वक्ताहरूले ज्येष्ठ नागरिक हाम्रो समाजका जिवित देउता भएको बताए । ज्येष्ठ नागरिकहरूलाई एक्लो भएको महशुस गराउनु नहुने भन्दैं उनीहरूको स्वास्थ्यमा सवैले ध्यान दिनुपर्ने बताईयो । ज्येष्ठ नागरिकका पक्षमा सरकारले खासै काम गर्न नसकेको वक्ताहरूको भनाई थियो ।

नेपालमा महिला, बालबालिका तथा ज्येष्ठ मन्त्रालय भए पनि महिला र बालबालिकाको क्षेत्रमा सरकार र मन्त्रालय गम्भीर भए पनि ज्येष्ठ नागरिकका पक्षमा गम्भीर नभएको वक्ताहरूले आरोप लगाए । समाजका ज्येष्ठ नागरिकलाई कुनै दल र संघ संस्थाहरूले भोट बैंक नबनाउँन आग्रह गरे । अब सरकारी तथा गैरसरकारी संघ संस्थाहरू ज्येष्ठ नागरिक मैत्री हुनुपर्नेमा वक्ताको जोड थियो । ज्येष्ठ नागरिक “जिउँदा देवता” भएकाले वर्तमानमा जे, जति उपलब्धी भएको छ, ति सबैका हकदार ज्येष्ठ नागरिक नै रहेको स्पष्ट पारेका थिए । बाल्यवस्था जस्तै वृद्धावस्थामा पनि माया, ममता, स्नेह र आधारभूत आवश्यकतामा परनिर्भर हुने बताउँदैँ ज्येष्ठ नागरिक अनुभवले खारिदैँ र जिवनका विभिन्न कठिनाई, आरोह, अवरोह पार गर्दे वृद्धावस्थामा पुगेको धारणा राखेका थिए । अब हरेक घर ज्येष्ठ सदस्य मैत्री हुनुपर्ने बताउँदैं घर भएपछि समाज र समाज हुदैँ वडा र सिङ्गो नगरपालिका ज्येष्ठ नागरिक मैत्री बन्ने स्पष्ट पारेका थिए । ज्येष्ठ सदस्य हाम्रा अग्रज भएकाले अग्रजको मान सम्मान गर्नु हामी सवैको दायित्व रहेको वक्ताहरुको जोड थियो ।

जिवन र जगतका हरेक अप्ठयारा पार लगाउन सक्ने क्षमता ज्येष्ठ नागरिकमा हुन्छ भन्ने हेक्का सबैले राख्नु पर्नेमा सहभागीहरुको भनाई थियो । ज्येष्ठ नागरिकहरुले आयआर्जन गरेका ज्ञान, सिप र क्षमतालाई अन्तरपुस्ता हस्तान्तरणको प्रबन्ध मिलाउनु पर्ने र समाजका युवाशक्तिले यस्तो ज्ञान, सिप, क्षमताको उच्च मुल्याङ्कन गर्दे अनुशरण गर्नु आवश्यक रहेको छ किनभने अनुभव ज्ञानको स्रोत मध्येको उत्कृष्ट स्रोत नै ज्येष्ठ नागरिक रहेको सहभागी वक्ताहरुको भनाई थियो ।

कार्यक्रममा प्रमुख अतिथि संविसभा सदस्य रविन कोईराला, विशिष अतिथि मेचीनगर नगरपालिका उपप्रमुख मीना पोख्रेल उप्रेती, मेचीनगर नगरपालिकन वडा नम्वर– ०७ का वडाध्यक्ष प्रल्हादमणि ओली, ज्येष्ठ नागरिक समिति मेचीनगर अध्यक्ष हिम्मत क्षेत्री, इलाका प्रहरी कार्यालय काँकडभिट्टा महिला तथा बालबालिका शाखा प्रमुख प्रहरी नायब निरीक्षक मिलनकुमारी राई, मेदनी– बिनइ मैनाली प्रतिष्ठानका अध्यक्ष गणेश मैनाली,ज्येष्ठ नागरिक समिति झापाका सदस्य, रूक्मणि पाठक, देवर्षि आश्रमका अध्यक्ष यदुनाथ खनाललगायतले बोलेका थिए । कार्यक्रम सञ्चालन सचिव रामप्रसाद ढुङ्गेलले गरेका थिए ।

Exit mobile version