मेचीनगरमा ल्होछारको रौनक : ‘आफ्नो संस्कृति रहे मात्र पहिचान रहने’ ः तामाङ

१५ पुस, मेचीनगर :  कोशी प्रदेश सभा सदस्य गोपाल तामाङले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिपूर्ण देश भएको र विभिन्न जातजातिका आ —आफ्नै विशिष्ट परम्परा, धर्म, संस्कृति, रितिरिवाज र चाडपर्व रहेको बताएका छन् ।
२६ सय १० ओंँ त ल्हो तमु ल्होछार पर्व २०८२ को अवसरमा मंगलबार झापाको मेचीनगरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका आसनबाट बोल्दैं उनले तमु समुदायको यस पर्वले सबै नेपालीमा उत्साह र उमंग कायम गरी आपसी सहिष्णुता कायम गर्दै आर्थिक र सामाजिक रुपले समृद्ध मुलुकको निर्माण गर्न सबैमा प्रेरणा मिल्ने विचार व्यक्त गरे ।
तमु ल्होछारजस्ता राष्ट्रिय पर्वले सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइबीच आपसी सद्भाव, बन्धुत्व र एकताको भावना वृद्धि गर्न मद्दत गर्ने उल्लेख गर्दै उनले नेपालमा विविध जात जातिले मनाउने यस्ता चाडपर्वले विश्वमा नेपालको छुट्टै पहिचान बनाएको बताए । यही विविधता बीचको एकता नेपालीको विशिष्ट पहिचान भएको उहाँको भनाई थियो । हरेक समुदायका अलग अलग पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने गरेको भन्दैं प्रदेश सभा सदस्य तामाङले विविधताबीचको एकता र सामाजिक सहिष्णुता हाम्रो मौलिक विशेषता रहेको दाबी गरे ।

कार्यक्रमका विशिष्ट अतिथि मेचीनगर नगरपालिका उपप्रमुख मीना पोख्रेल उप्रेतीले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक देश भएकाले एकले अर्काको कला, संस्कृति, पहिचान, परम्परा लिपी भाषाको सम्मान गर्ने गरेको समेत स्पष्ट पारिन । गुरुङ समुदायले तमु ल्होछारलाई नयाँ वर्ष आरम्भ दिनका रुपमा समेत मनाउने गरेका छन् । आ–आफ्नो जातीय पहिचान र मौलिक सभ्यताका आधार स्तम्भ भएको बताउदैँ नगर उपप्रमुख उप्रेतीले यस्ता विविधताको संरक्षण, प्रवद्र्धन र विकास गर्नु राज्यको दायित्व रहेको बताईन् ।

सांस्कृतिक परम्पराको धनी मानिने नेपालका तमु जातिले सदियौंदेखि आफ्ना रीति, परम्परा र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्दै आइरहेको बताईन् । नेपालका तमु जातिमा नयाँ वर्षको आगमनको खुशीयालीस्वरुप विशेष उत्साह र उमङ्गतासाथ मनाइने तमु ल्होछारले छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्व राख्ने भन्दैं उपप्रमुख उप्रेतीले आउने नयाँ पुस्तालाई समेत आ आफ्नो पहिचान, कला, संस्कृति लिपी भाषा हस्तान्तरण गर्नुपर्नेमा जोड दिईन् ।

नेपाल नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताहरुले भरिपूर्ण एक सुन्दर मुलुक भएको र हाम्रो विविधता नेपालका लागि मात्र नभएर विश्व समुदायका लागि पनि एक महत्वपूर्ण पूँजी रहेको उनको भनाई थियो । भाषा, संस्कृति, भेषभूषा र संस्कार नै लोप भए आफ्नो पहिचान नै समाप्त हुने भएकाले यसको संरक्षणमा जुट्न उनले सवैमा आग्रह समेत गरिन् ।

तमु ह्रयूल छोंज धिं गुरूङ राष्ट्रिय परिषद मेचीनगर समितिले मेचीनगर– ०७ स्थित ङाग्युर देछछेन छोइलिङ्ग गुम्बा परिसरमा आयोजना गरेको कार्यक्रममा तमु ह्रयूल छोंज धिं गुरूङ राष्ट्रिय परिषद झापा जिल्ला अध्यक्ष जगत गुरूङ, मेचीनगर नगरपालिका वडा नम्वर– ७ का वडाध्यक्ष प्रल्हादमणि ओली, नेपाल आदिवासी जनजाति महासंघ मेचीनगर समन्वय परिषदका अध्यक्ष रामबहादुर वाईवालगायतले बोलेका थिए । वक्ताहरूले हरेक जातिको भाषा,भेषभुषा,धर्म, संस्कृतिको संरक्षण र सम्बद्र्धन भए मात्र सवैको पहिचान कायम रहने बताएका थिए ।

कार्यक्रममा तमु समुदायका ज्येष्ठ सदस्यहरू हिममाया गुरूङ र यमबहादुर गुरूङलाई सम्मान गरिएको थियो । उनीहरूलाई नगदसहित खादा र सम्मान पत्र प्रदान गरियो ।

यसैगरी, तमु ह्रयूल छोंज धीं गुरूङ राष्ट्रिय परिषद मेचीनगर समितिको स्थापनाकालदेखि महत्वपूर्ण सहयोग गर्ने रामबहादुर गुरूङ , श्रीमती गंगामाया गुरूङ र हरिमाया गुरूङलाई संयुक्तरूपमा सम्मान गरिएको थियो । समितिले २६ सय १० ओैं त ल्हो तमु ल्होछार पर्व २०८२ का अवसरमा आयोजित कार्यक्रमको सम्पूर्ण खर्च उहाँहरूले सहयोग गरेका थिए ।

प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य तामाङ , विशिष्ट अतिथि मेचीनगर नगरपालिका उपप्रमुख मीना पोख्रेल उप्रेतीले संयुक्तरूपमा सम्मान पत्र प्रदान तथा गुरूङ समुदायको पहिरन पहिर्याएका थिए ।

कार्यक्रममा तमु कलाकारहरूले आ–आफ्नो रीतिरिवाज, कला संस्कृति र पहिचान झल्किने भेषभुषा र गीतमा नृत्य तथा गायन प्रस्तुत गरेका थिए । तमुस्योः आमा समूहका कुमारी, कल्पना, सीता, नानु गुरूङले समेत नृत्य प्रस्तुत गर्नुभएको थियो । गुरुङ समुदायका मानिस परम्परागत एवम् सांस्कृतिक भेषभूषामा सजिएर सहभागी हुन्छन् ।


आयोजक संस्थाका अध्यक्ष सुभास गुरूङले कार्यक्रमको सभापतित्व गर्दै तमु ल्होछारका बारेमा जानकारी गराए । ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होछार’ भनिएको र तमु ल्होछारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्य रुपमा मनाउँने उनले स्पष्ट पारे । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर तमु ल्होछार पर्व मनाउँदै आएकाछन् ।

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्त्व रहेको जानकारहरू बताउँछन् । कार्यक्रमको सञ्चालन सचिव होमराज गुरूङ र सहभागी सवैलाई शब्दमार्फत उपाध्यक्ष हेमकुमार गुरूङले स्वागत गरेका थिए ।
यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोवास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा ती समुदायले यो पर्व मनाइने विश्वास गरिन्छ । तामाङ समुदायले सोनाम ल्होछार र शेर्पा समुदायले ग्याल्बो ल्होछार मनाउँने गर्दछन् ।

 

Exit mobile version