विविध कार्यक्रमसहित जेसिज सप्ताह सम्पन्न

रोशनराज
२३ जेठ, मेचीनगर : “सुरक्षित डिजिटल समाज निर्माण अभियान” विषयक सचेतनामूलक प्रशिक्षण र विद्यार्थी सम्मान कार्यक्रम गर्दैं मेचीनगर लेडी जेसिजको जेसिज सप्ताह शनिबारबाट औपचारिकरुपमा सम्पन्न भएको छ ।
१५ जेठमा १९ औँ गणतन्त्र दिवसका अवसर पारेर आयोजित सप्ताह मिनी म्याराथन (रोड रनिङ) बाट शुरु भएर प्रशिक्षण र विद्यार्थी सम्मान गरी सम्पन्न भएको मेचीनगर लेडी जेसिजको सचिवालयले जनाएको छ । समापनका दिन जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले मल्टिमिडिया र भिडियो तथा केस स्टडीमार्फत डिजिटल अपराध, साइवर ठगी तथा विभिन्न आपराधिक गतिविधिको तथ्याङ्क प्रस्तुत गरीन् । समापन समारोहका प्रमुख अतिथि समेत रहेकी प्रहरी उपरीक्षक खड्काले प्रशिक्षणका क्रममा आफू कसरी सुरक्षित रहने र सुरक्षित समाज निर्माणमा सबैले भूमिका निर्वाह गर्ने भन्ने विषयमा जानकारी दिईन् । प्रविधि मानिसका लागि नभई नहुने कला भए पनि कहिले काहि प्रविधिको सहि प्रयोग नगर्दा समस्यामा परेका थुप्रै घटना रहेको प्रहरी उपरीक्षक खड्काले जानकारी गराईन् ।

उनले मेचीनगर लेडी जेसीजले सञ्चालन गर्ने हरेक अभियानमा आफ्‌नो र कार्यालयका तर्फबाट निरन्तर साथ, सहयोग तथा आगामी दिनमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रमको प्रशंसा समेत गरीन् । मेचीनगर लेडी जेसिज अध्यक्ष रीता श्रेष्ठ प्रधानको सभापतित्वमा भएको जेसिज सप्ताह समापनका अवसरमा २०८२ को एसइई परीक्षामा चार जीपीए प्राप्त गर्ने मेचीनगर नगरपालिका भित्रका सामुदायिक र नीजि विद्यालयतर्फका पाँचजना विद्यार्थीहरुलाई सम्मान गरीयो । यसरी सम्मानित हुनेहरुमा धुलावारी माध्यमिक विद्यालय मेचीनगर-१० का छात्र सुमन राजवंशी, श्री बाल सुबोधिनी माध्यमिक विद्यालय मेचीनगर -१४ का छात्र जोनिस भट्टराई, तारापुञ्ज अंग्रेजी माध्यमिक विद्यालय मेचीनगर-६ का छात्रा आयुष्मा तिम्सिना, इस्ट होराइजन अंग्रेजी माध्यमिक विद्यालय मेचीनगर -१० का छात्र सुशांङ्क शिवाकोटी र दुर्गा आवासिय अंग्रेजी माध्यमिक विद्यालयका छात्रा प्रमशिा जवेगु छन् । कार्यक्रमका प्रमुख अतिथि प्रहरी उपरीक्षक खड्का मेचीनगर लेडी जेसिज अध्यक्ष रीता श्रेष्ठ प्रधानले संयुक्तरुपमा सम्मानित विद्यार्थीहरुलाई जनही एक/ एक हजार रुपैयाँसहित मायाको चिनो स्वरुप डायरी प्रदान गरेका थिए ।

मेचीनगर लेडी जेसिजको सचिवालय परिसरको ज्येष्ठ नागरिक हलमा आयोजित समापन समारोहमा मेची उद्योग बाणिज्य संघ मेचीनगरका महासचिव एवम् मेचीनगर लेडी जेसिजको मातृशाखा धुलावारी जेसिजका पूर्व अध्यक्ष ध्रुव कनाल, मेचीनगर लेडी जेसिजको आजीवन सदस्य सीता गुरुङ, श्री बालसुबोधिनी माध्यमिक विद्यालय मेचीनगर-१४ का प्रधानध्यापक विश्व थापा, तारापुञ्ज अंग्रेजी माध्यमिक विद्यालय मेचीनगर—६ का प्रिन्सिपल प्रकाश (ओमप्रकाश) दाहाल, नेपाल पत्रकार महासंघ कोशी प्रदेश समिति उपाध्यक्ष अम्बिका (चन्द्रकला) भण्डारी, मेचीनगर नगरपालिकाका पूर्व जनप्रतिनिधि कृष्ण कनाल, लायन्स क्लब अफ काँकरभिट्टाका अध्यक्ष दीपक कार्की, पूर्व अध्यक्षहरु सन्तोष आचार्य, नवराज प्रधानलगायतको उपस्थिति रहेको थियो ।
उनीहरुले मेचीनगर लेडी जेसिजले जेसिज सप्ताहका अवसरमा साताभरि गरेका काम निक्कै रचनात्मक र सकरात्मक रहेको भन्दैं प्रशंसा गरेका थिए ।

मेचीनगर लेडी जेसिजले साताव्यापी कार्यक्रममा स्थानीय अटो, सिटी सफारी, बसलगायतका सवारी चालकहरुलाई लक्षित गरेर ट्राफिक नियमको पालनाको सचेतनामुलक स्टीकर टास्ने तथा चालकहरुलाई प्रशिक्षण, खाजा, अचार बनाउने रेसिपी र तालिम, प्राथमिक स्वास्थ्य उपचार सम्बन्धि जनचेतना साथै रक्तदान, स्कुल ब्याग वितरण, मेची उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाइ सम्मान र मेचीनगरका उद्योगी व्यवसायीहरूसँग उद्यमशिलता र व्यवसायिकता सम्बन्धि अभिमुखीकरणलगायतका कार्यक्रम आयोजना गरेको थियो ।
आयोजक संस्थाका महासचिव कृष्णकुमारी (कल्पना) उप्रेती प्रसाईले सञ्चालन गरेको कार्यक्रममा संस्थाकी २०२६ की जनसम्पर्क अधिकारी अनिता साहले आस्थावाचन र २०२६ की उपाध्यक्ष सोनिका भट्टराईले जेसिज भिजन मिसन प्रस्तुत गरेकी थिईन् ।

Exit mobile version