
जुन महिनालाई विश्वभर मोतीबिन्दु सचेतना महिना (Cataract Awareness Month) का रूपमा मनाइन्छ। यस अवसरमा आँखाको स्वास्थ्यबारे सही जानकारी समुदायसम्म पुर्याउने, समयमै परीक्षण र उपचारप्रति सचेत गराउने तथा अनावश्यक रूपमा दृष्टि गुम्नबाट बचाउने उद्देश्य राखिएको हुन्छ।
मोतीबिन्दु (Cataract) आँखाभित्र रहेको प्राकृतिक लेन्स धमिलो हुने अवस्था हो। लेन्स पारदर्शी नभएपछि प्रकाश राम्ररी आँखाभित्र प्रवेश गर्न सक्दैन र दृष्टि क्रमशः धमिलो हुँदै जान्छ। विश्वमा अन्धोपनको प्रमुख कारणमध्ये मोतीबिन्दु एक हो, तर खुसीको कुरा के हो भने यसको उपचार पूर्ण रूपमा सम्भव छ र समयमै उपचार गरेमा गुमेको दृष्टि पुनः प्राप्त गर्न सकिन्छ।
मोतीबिन्दु कुन उमेरमा हुन्छ र यसका प्रकारहरू के-के हुन्?
मोतीबिन्दु प्रायः ४० वर्षपछि विस्तारै विकास हुन थाल्छ र ६० वर्षभन्दा माथिका व्यक्तिहरूमा बढी देखिन्छ। तर, यो केवल वृद्धवृद्धाको रोग मात्र होइन। यो जुनसुकै उमेरमा पनि हुन सक्छ र यसका प्रकारहरू निम्न छन्:
-
उमेरजन्य मोतीबिन्दु (Senile Cataract): प्राकृतिक रूपमा उमेर बढ्दै जाँदा हुने।
-
जन्मजात मोतीबिन्दु (Congenital Cataract): बच्चा जन्मिँदै वा शिशु अवस्थामा नै देखिने।
-
चोटपटकजन्य मोतीबिन्दु (Traumatic Cataract): आँखामा सानो वा ठूलो चोटपटक लागेपछि हुने।
-
अन्य स्वास्थ्य समस्याका कारण (Secondary Cataract): अनियन्त्रित मधुमेह भएका व्यक्तिमा, आँखाका अन्य कडा रोगका कारण वा चिकित्सकको सल्लाहबिना लामो समय स्टेरोइड औषधि सेवन गर्दा हुने।
-
वातावरणीय प्रभाव: अत्यधिक पराबैंगनी (UV) किरणको असरका कारण।
बालबालिकामा देखिने संकेतहरू
यदि बालबालिकामा मोतीबिन्दु छ भने उनीहरूले आफैँ भन्न सक्दैनन्, त्यसैले अभिभावकले निम्न लक्षणहरूमा विशेष ध्यान दिनुपर्छ:
-
आँखाको नानीमा सेतो दाग वा फुलो देखिनु
-
कुनै वस्तु वा आमाबाबुको अनुहारको हाउभाउ नपछ्याउनु
-
आँखा बटारिनु वा छड्के हुनु (Squint)
-
अस्वाभाविक रूपमा आँखा हल्लिरहनु (Nystagmus)
-
उज्यालो प्रकाशमा हेर्न गाह्रो मान्नु वा असहज हुनु
यस्ता लक्षण देखिएमा ढिलाइ नगरी तुरुन्तै आँखा विशेषज्ञसँग परामर्श लिनु आवश्यक हुन्छ।
उमेरसँग सम्बन्धित मोतीबिन्दुका लक्षणहरू
-
दृष्टि क्रमशः धमिलो हुँदै जानु (चस्मा सफा गर्दा पनि धमिलो नै देखिनु)
-
उज्यालोमा हेर्न गाह्रो हुनु वा प्रकाशको राँको फैलिनु (Glare)
-
रातिको समयमा दृष्टि अझ बढी कमजोर हुनु
-
रङहरू फिका वा पहेंलो देखिनु
-
बारम्बार चस्माको नम्बर परिवर्तन भइरहनु
-
बत्तीको वरिपरि इन्द्रेणी जस्तो घेरा देखिनु (Halos)
-
एउटै वस्तु दोहोरो वा धेरै देखिनु (Double Vision)
मोतीबिन्दुको स्थायी उपचार: भ्रम र यथार्थ
के मोतीबिन्दु औषधि वा ड्रपले निको हुन्छ?
यथार्थ: हालसम्म मोतीबिन्दु हटाउने वा रोक्ने कुनै औषधि, आँखामा हाल्ने ड्रप वा घरेलु उपाय प्रमाणित भएको छैन। मोतीबिन्दुको एकमात्र प्रभावकारी र वैज्ञानिक उपचार भनेको शल्यक्रिया (सर्जरी) नै हो।
आधुनिक शल्यक्रियामा धमिलो भएको प्राकृतिक लेन्सलाई आधुनिक प्रविधि (जस्तै: फाको–Phacoemulsification) मार्फत बिनाटाँका, बिनासियो र बिनापट्टी निकालिन्छ र त्यसको ठाउँमा नयाँ कृत्रिम लेन्स (Intraocular Lens – IOL) राखिन्छ। हाल बजारमा उपलब्ध आधुनिक लेन्सहरू (जस्तै: मल्टिफोकल वा ट्राइफोकल) ले शल्यक्रियापछि टाढा, नजिक र कम्प्युटर स्क्रिन दुवैका लागि चस्मा लगाउनुपर्ने बाध्यतालाई समेत निकै कम गरिदिएका छन्।
समाजमा व्याप्त भ्रम र वास्तविकता
| भ्रम | यथार्थ |
| मोतीबिन्दु पाकेपछि मात्र शल्यक्रिया गर्नुपर्छ। | दृष्टिले दैनिक काममा असर पार्न थालेपछि चिकित्सकको सल्लाहमा सुरुवाती अवस्थामै शल्यक्रिया गर्न सकिन्छ। धेरै पाक्न दिँदा जलविन्दु (Glaucoma) को खतरा हुन्छ। |
| गर्मी वा वर्षाको मौसममा शल्यक्रिया गर्नु हुँदैन, जाडो नै कुर्नुपर्छ। | आधुनिक प्रविधि र कडा संक्रमण नियन्त्रण प्रणालीका कारण वर्षको जुनसुकै मौसममा पनि शल्यक्रिया पूर्ण रूपमा सुरक्षित हुन्छ। मौसम कुर्नु भन्दा समयमै उपचार गर्नु बुद्धिमानी हो। |
| शल्यक्रियापछि महिनौँसम्म ओछ्यानमै आराम गर्नुपर्छ। | आधुनिक बिनाटाँकाको प्रविधिले गर्दा बिरामी शल्यक्रियाको भोलिपल्टदेखि नै सामान्य हिँडडुल र दैनिक काम गर्न सक्छन्। |
मोतीबिन्दुको जोखिम कम गर्न के गर्ने?
उमेरसँगै हुने मोतीबिन्दुलाई पूर्ण रूपमा रोक्न नसकिए पनि यसको गतिलाई ढिलो बनाउन निम्न उपायहरू अपनाउन सकिन्छ:
१. मधुमेह (Sugar) लाई सधैँ नियन्त्रणमा राख्ने।
२. धूम्रपान र अत्यधिक मदिरा सेवनबाट टाढै रहने।
३. घाममा निस्कँदा पराबैंगनी (UV) किरण संरक्षण भएको गुणस्तरीय सनग्लास प्रयोग गर्ने।
४. एन्टिअक्सिडेन्टयुक्त सन्तुलित आहार (हरियो सागसब्जी, फलफूल) नियमित खाने।
५. चिकित्सकको प्रेस्क्रिप्सन बिना आँखामा कुनै पनि ड्रप वा स्टेरोइड औषधि हाल्ने गल्ती नगर्ने।
६. ४० वर्ष पूरा भएपछि वर्षमा कम्तीमा एक पटक अनिवार्य आँखा परीक्षण गराउने।
निष्कर्ष
आँखा हाम्रो जीवनको अमूल्य सम्पत्ति हो। चिकित्सा विज्ञानको यो आधुनिक युगमा मोतीबिन्दुका कारण दृष्टि गुमाएर अन्धकारमा बस्नु आवश्यक छैन। समयमै नियमित जाँच, सही जानकारी र उचित उपचारले आफ्नो र आफ्ना परिवारको उज्यालो भविष्य सुनिश्चित गरौँ।
दृष्टि बचाौँ, समयमै मोतीबिन्दुको जाँच गराौँ!
