साढे ७ लाख रुपैयाँ बराबरको प्रतिबन्धित पटाका बरामद

Detailed image of seized fireworks display, with two Armed Police Force personnel in camouflage uniforms arranging and inspecting colorful boxes of explosives, including various types of crackers and pyrotechnics, on a black tarp in a grassy area, with jute bags on the right, under natural daylight.

तिहार तथा छठ पर्वलाई लक्षित गरी चोरी तस्करीको माध्यमबाट भित्र्याइएको साढे सात लाख रुपैयाँ मूल्य बराबरको विस्फोटकजन्य पटाका सशस्त्र प्रहरीले बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वार्टर झापाका प्रवक्ता तथा डीएसपी सुमन पोखरेलले दिएको जानकारी अनुसार, मंगलबार बिहान करिब साढे ४ बजे भद्रपुर नगरपालिका–३ मेचीपारिस्थित झोलुङ्गे पुल आसपासको क्षेत्रबाट अन्दाजी ७ लाख ६६ हजार ८७६ रुपैयाँ मूल्य बराबरको प्रतिबन्धित बारुदजन्य पटाका बरामद भएको हो।

भारतबाट तस्कर समूहले मेची नदी तैरिएर टाउकोमा बोकी नेपाल भित्र्याइरहेको अवस्थामा सशस्त्र प्रहरीको टोलीले सात बोरा पटाका बरामद गरेको थियो। प्रहरीलाई देख्नासाथ तस्करहरू बोराहरू छाडेर भारततर्फ भागेका थिए। बरामद गरिएको विभिन्न १९ प्रकारका पटाकाहरू मंगलबार सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वार्टर झापामा स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी र पत्रकारको रोहबरमा नष्ट गरिएको छ। पछिल्लो समयमा सो क्षेत्रबाट ठूलो मात्रामा भन्सार छलीका सामानसहित पटाकाहरू भित्रिरहेको पाइएको छ।

Exit mobile version