काठमाडौँ । डिजिटल वालेट सेवा प्रदायक खल्तीले स्मार्ट च्वाइस टेक्नोलोजिज (SCT) सँगको सहकार्यमा नयाँ ‘डिजिटल भिसा कार्ड’ सेवा सार्वजनिक गरेको छ। कम्पनीको ‘खल्ती कार्ड्स इकोसिस्टम’ अन्तर्गत पहिलो सेवाका रूपमा यो डिजिटल कार्ड बजारमा ल्याइएको हो।
अब खल्ती प्रयोगकर्ताहरूले कुनै पनि भौतिक (Physical) प्लास्टिक कार्ड बिना नै मोबाइल एपबाटै तत्काल सुरक्षित रूपमा अनलाइन (E-commerce) कारोबार गर्न सक्नेछन्। यो कार्डबाट गरिने भुक्तानी सिधै खल्ती वालेटमा रहेको मौज्दात रकमबाट काटिनेछ। वालेटमा पैसा नपुगेको खण्डमा पहिले नै लिङ्क गरिएको बैंक खाताबाट पैसा स्वतः काटिने सुविधा समेत मिलाइएको कम्पनीले जनाएको छ।
कहाँ कहाँ प्रयोग गर्न मिल्छ ? खल्तीका अनुसार यो डिजिटल भिसा कार्ड प्रयोगकर्ताले एपभित्रै १ मिनेटभन्दा कम समयमा एक्टिभ गर्न सक्नेछन्। यो कार्ड भिसा भुक्तानी स्वीकार गर्ने नेपालका निम्नलिखित अनलाइन सेवाहरूमा प्रयोग गर्न सकिन्छ:
-
दराज (Daraz) लगायतका विभिन्न ई-कमर्स प्लेटफर्महरूमा सामान खरिद गर्दा।
-
आन्तरिक तथा अन्तर्राष्ट्रिय एयरलाइन्सको टिकट काट्न।
-
होटल, रिसोर्ट तथा ट्राभल एजेन्सीहरूको बुकिङ भुक्तानी गर्न।
-
अनलाइन फूड डेलिभरी सेवाहरूको बिल तिर्न।
-
भिसा कार्ड सपोर्ट गर्ने जुनसुकै नेपाली अनलाइन भुक्तानी गेटवेहरूमा।
आकर्षक अफर र सुरक्षा फिचर नयाँ सेवा सुरु भएको अवसरमा खल्तीले पहिलो तीन महिनासम्म यो डिजिटल भिसा कार्ड पूर्ण रूपमा निःशुल्क उपलब्ध गराउने भएको छ। कार्ड एक्टिभ गरेपछि प्रयोगकर्ताले १,००० दामी पोइन्ट्स, १,२०० रुपैयाँ बराबरको विभिन्न क्यासब्याक र प्रत्येक अनलाइन कारोबारमा ०.७५ प्रतिशतसम्म क्यासब्याक पाउनेछन्।
सुरक्षाका लागि प्रयोगकर्ताले कार्ड नम्बर, सीभीभी (CVV) र एक्स्पायरी डेट जस्ता संवेदनशील विवरणहरू आवश्यक परेको बेला मात्र हेर्न र अरू बेला लुकाउन (Hide) सक्नेछन्। कुनै शङ्कास्पद गतिविधि देखिएमा प्रयोगकर्ता आफैँले एपबाटै तत्काल कार्डलाई ‘लक’ वा निष्क्रिय गर्न सक्ने सुविधा समेत यसमा रहेको छ।
