पत्रकार महासंघको निर्वाचन आज

काठमाडौं : नेपाल पत्रकार महासङ्घको नयाँ नेतृत्व चयन गर्न आज निर्वाचन हुँदैछ । आज बिहान ९ः०० देखि अपराह्न ४ः०० बजेसम्म मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

केन्द्रीय अध्यक्षका लागि देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश विष्ट र लालसिंह लामाको उम्मेदवारी परेको छभने वरिष्ठ उपाध्यक्षमा गोविन्दप्रसाद चौलागाईँ, दीपक आचार्य र रोसन पुरीले उम्मेदवारी दिएका छन् ।

यसैगरी, महिला उपाध्यक्षमा गङ्गा पौडेल र नितु पण्डित, समावेशी उपाध्यक्षमा उमिद बागचन्द, मोहनकुमार सिंह र सुभाषप्रसाद साह, महासचिवमा जन्मदेव जैशी, प्रकाश थापा, रामप्रसाद दाहाल र लेखनाथ न्यौपानेले उम्मेदवारी दिएका छन् ।

आज केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयन हुनेछ ।

केन्द्रीय समितिका पदाधिकारी तथा सदस्य र लेखा समितिका लागि केन्द्रीय निर्वाचन समितिले मतपत्र छापेर प्रदेश निर्वाचन समितिमार्फत शाखाहरूमा पुर्‍याइसकेको छ।

यसपटकको निर्वाचनमा केन्द्रीय समितिका लागि ३ वटा मतपत्र रहेको छ। केन्द्रीय पदाधिकारीका लागि हल्का निलो, प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्यका लागि सेतो र अन्य केन्द्रीय सदस्य तथा लेखा समितिको लागि हल्का गुलावी रङको मतपत्र रहेको छ।

प्रदेश कार्यसमिति र शाखा कार्यसमितिले मतपत्रको ढाँचा र रङ आफैं छनोट गर्नेछन्। मतदाताले गोप्य मतदानबाट ३ तहको नेतृत्व छनोटका लागि मताधिकार प्रयोग गर्नेछन्।

मतदानस्थलमा जाँदा आफ्नो परिचय खुल्ने म्याद भएको महासंघद्वारा जारी परिचयपत्र वा सूचना तथा प्रशारण विभागद्वारा जारी परिचयपत्र वा नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा नेपाल सरकारद्वारा जारी गरिएको परिचय खुल्ने तस्बिरसहितको परिचयपत्रका साथ उपस्थित भई मतदान गर्नुपर्नेछ।

झापामा एकराज गिरी, डिकेश लामा, टिकाराम नेपाल (नेती) र राजेन्द्र गौतम चुनावी मैदानमा रहेको छ ।

Exit mobile version