३ जेठ, मेचीनगर : मेचीनगर नगरपालिकाकाे आयाेजनामा भएकाे १८ दिने उद्यमशीलता विकाश तथा परालकाे चप्पल बनाउने तालिम मंगलवार समापन भएकाे छ । “सिप सिकाैँ स्वराेजगार बनाैँ” भन्ने मुल नारासहित राष्ट्रपति महिला सशक्तीकरण परियाेजना अन्तर्गत तालिम समापन समाराेहकाे प्रमुख अतिथि नगर उपप्रमुख मीना पाेखरेल उप्रेती हुनुहुन्थ्यो ।
नगरपालिकाका उद्यम विकाश सहजकर्ता गंगा साेरेन र आश्र्विनीकुमार भट्टराईले नगरका १५ वटै वडाबाट सहभागी २२ जनालाई तालिम प्रदान गर्नुभएकाे थियाे । तालिममा उद्धमशिलता विकास तालिम ८ र परालकाे चप्पल बनाउने तालिम १० दिन सञ्चालन गरिएकाे थियाे । समापन समाराेहमा बाेल्दै प्रमुख अतिथि उपप्रमुख उप्रेतीले तालिममा सिकेकाे सीपलाई व्यवहारमा उतारेर व्यवसाय सञ्चालन गर्न सके हरेक महिलाहरू आत्मनिर्भर बन्ने स्पष्ट पार्नुभयाे ।
सहजकर्ता गंगा साेरेनले सञ्चालन गरेकाे समापन समाराेहमा प्रमुख अतिथि उप्रेतीले सहभागिताकाे प्रमाण पत्र प्रदान गर्नुभयाे । मेचीनगर वडानम्वर १० का वडा सदस्य विशाल कार्कीकाे सभापतित्वमा भएकाे कार्यक्रममा तालिममा सहभागी अनिता राजवंशी, छाया पाैडेल, गीता भेटवाललगायतले आआफ्नाे अनुभव शेयर गर्नुभयाे । मेचीनगर स्तरीय महिला तथा बालबालिका शाखा प्रमुख जयन्ती खरेल, लघु उद्धमी समुह संघ झापाकाे अध्यक्ष निर्मला चाैहान भण्डारीलगायतले आ आफ्नाे विचार राख्नुभएकाे थियाे ।