फलामको कराईभित्र लुकाएर ५४ लाख बढी विदेशी मुद्रा लैजाँदै गरेका नेपाल एयरलाइन्सका चालक विमानस्थलबाट पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५४ लाख ७१ हजार रुपैयाँभन्दा बढी मूल्यको विभिन्न देशका मुद्रासहित नेपाल एयरलाइन्सका एक कर्मचारी पक्राउ परेका छन्। विमानस्थल सुरक्षा कार्यालयले सोमबार राति साढे ८ बजे बाटिक एयरको उडानमार्फत मलेसिया जान लागेका सुनसरी गढी गाउँपालिका-१ घर भई हाल काठमाडौँको बनस्थली बस्ने कमलनारायण विश्वासलाई पक्राउ गरेको हो।

विश्वास विगत १६ वर्षदेखि नेपाल एयरलाइन्समा ग्राउन्ड इक्युपमेन्ट अपरेटर (चालक) को रूपमा कार्यरत कर्मचारी हुन्। भिजिट भिसामा मलेसियाको क्वालालम्पुर प्रस्थान गर्ने क्रममा विमानस्थल प्रहरीले उनको लगेज जाँच गर्दा फलामको कराईभित्र लुकाएर लैजान लागिएको अवस्थामा अवैध मुद्रा बरामद गरेको हो।

प्रहरीका अनुसार उनको साथबाट नेपाली, अमेरिकी डलर, ओमानी रियाल, पाकिस्तानी रुपैयाँ, मलेसियन रिंगिट, श्रीलंकन रुपैयाँ, जापानी येन र अफ्रिकन देशका मुद्राहरू फेला परेका छन्। बरामद गरिएका मुद्राहरूको कुल नेपाली मूल्य ५४ लाख ७१ हजार ६८९ रुपैयाँ ३२ पैसा रहेको छ। अनुसन्धानका क्रममा उनी यसअघि पनि २६ पटक वैदेशिक यात्रा गरिसकेको खुलेको छ। यस घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

Exit mobile version