हत्या भएको ६ दशक पछि प्रथम शहीद घिमिरेको शालीक निर्माण हुदैं

११ भदौ, मेचीनगर : हत्या भएको ६० बर्ष पछि प्रथम शहीद बिश्वनाथ घिमिरेको शालीक निर्माण हुने भएको छ । शहीद घिमिरेको २०१९ सालमा प्रजातन्त्र प्राप्तीको लडाईमा पञ्चायती शासकहरूद्वारा गोली प्रहार गरी हत्या गरिएको थियो ।

नेपाल सरकारबाट सहीद घोषणा हुनुभएका झापा जिल्लाको प्रथम शहीद बिश्वनाथ घिमिरेको आफ्नै गृह स्थान झापाको मेचीनगर नगरपालिका—४ बाहुनडाँगीमा शालीक निर्माण हुन लागेको हो । केही महिनाअघिदेखि सहिद विश्वनाथ घिमिरे स्मृति प्रतिष्ठान मेचीनगर नगरपालिका—४ बाहुण्डाँगी झापा शहीद घिमिरेको शालीक निर्माणमा जुटेको छ ।

आज शुक्रबार मध्यान्ह प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रिय सदस्य, पूर्व उपप्रधान तथा गृहमन्त्री कृष्णप्रसाद सिटौला नेपाली काँग्रेसका केन्द्रिय प्रवक्ता विश्वप्रकाश शर्माले शहीद घिमिरेको शालीकको शिलान्यास गर्ने कार्यक्रम तय भएको शहिद विश्वनाथ घिमिरे सालिक निर्माण समिति तथा सहिद विश्वनाथ घिमिरे स्मृति प्रतिष्ठान मेचीनगर नगरपालिका—४ बाहुण्डाँगी झापाका अध्यक्ष एवम् नेपाली काँग्रेस झापाका उपभासपति राम कट्टेलले जानकारी दिनुभयो । शिलान्यास समारोहमा केन्द्रीय सदस्यहरू,जिल्ला सभापति सहित अन्य विशिष्ट ब्यक्तित्वहरूको समेत उपस्थिती रहने छ । शहीदका नाती तथा समिति सचिव निरज घिमिरेले लाखौं रुपैयाँ मुल्य बराबरको जग्गा निःशुल्करुपमा प्रतिष्ठानलाई उपलब्ध गराएपछि समिति शहीद घिमिरेको शालीक निर्माणमा जुटेको अध्यक्ष कट्टेलको भनाई छ ।

नेपाली काँग्रेस जिल्ला समिति, झापाले प्रजातन्त्र स्थापनार्थ योगदान दिने जिल्लाभरीका प्रजातान्त्रिक योद्धाहरूको सम्मानकालागि शालीक निर्माण गर्ने निर्णय गरेको थियो । सोहि क्रममा २०१९ सालमा हत्या गरिएका झापाका प्रथम सहिद घिमिरेको शालीक निर्माण गर्न लागिएको हो । अहिले शालीक निर्माण स्थलको वरिपरी पर्खालको काम धमाधम भइरहेको छ । शालिक तयार हुन केही समय लाग्ने भएपनि जति सक्दो चाडो शालीक अनावरण गर्ने अध्यक्ष कट्टेलको भनाई छ । शालिक, स्थल निर्माण साथै थप जग्गा ब्यवस्थापन र आवश्यक भवन निर्माणको लागि समितिले दाताहरुसँग सहयोगको अपेक्षा गरेको आर्थिक समिति संयोजक मोहन निरौलाले बताउनुभयो । स्थानीय सरकार मेचीनगर नगरपालिका र वडा सरकार वडानम्बर— ४ को कार्यालयमा समेत आर्थिक सहयोगका लागि प्रक्रिया अघि बढाइएको समिति संयोजक निरौलाको भनाई छ । नेपाल सरकारसँग पनि शहीदको शालिक निर्माणका लागि आर्थिक सहयोग उपलब्ध गराउन अनुरोध गर्ने उहाँको भनाई छ ।

 

Exit mobile version