२२ फागुन, मेचीनगर :झापाको काँकरभिट्टामा आयोजना हुने पाँचौं मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता फागुन २४ गतेदेखि सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन खेलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र भारतको जर्जियन एफसी भिड्नेछन्। आयोजकका सल्लाहकार शेरबहादुर बस्नेतका अनुसार दोस्रो दिन (फागुन २५) ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ले एनएसएल टिम झापा एफसी को सामना गर्नेछ। तेस्रो क्वार्टरफाइनल खेल फागुन २६ गते उज्बेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लब र धरान फुटबल क्लब बीच हुनेछ। अन्तिम क्वार्टरफाइनल खेल फागुन २७ गते एपिएफ एफसी र मछिन्द्र फुटबल क्लब बीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ।
प्रतियोगितामा ८ वटा टिम सहभागी हुनेछन्, जसमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर, झापा एफसी, शसस्त्र प्रहरीको एपिएफ एफसी, चर्च ब्वाइज युनाइटेड, मछिन्द्र फुटबल क्लब, धरान फुटबल क्लब, साथै दुई विदेशी टिम उज्बेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लब र भारतको जर्जियन एफसी रहेका छन्। प्रतियोगिता काँकरभिट्टा माविको खेल मैदान मा सञ्चालन हुनेछ।

प्रतियोगिताको मुख्य संरक्षक मेचीनगर नगरपालिका रहेको छ भने मुख्य प्रायोजक धुलाबारीको होटल मेची क्राउन रहेको आयोजक क्लबका अध्यक्ष नवराज ओलीले जानकारी दिएका छन्। प्रतियोगिता फुटबल खेलाडीहरूलाई प्रोत्साहित गर्न, स्थानीय खेल क्षेत्रको विकास गर्न तथा अन्तर्राष्ट्रिय स्तरका क्लबहरूसँग प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्न आयोजना गरिएको हो।