३ जेठ, मेचीनगर: झापाको मेचीनगर नगरपालिका वडा नम्बर ७ मा अवस्थित सतिघट्टा चिया बगान यतिबेला आन्तरिक पर्यटकहरूको नयाँ र आकर्षक गन्तव्यका रूपमा उदाएको छ। बगान क्षेत्रमा ढकमक्क फुलेका गुलाबी रङका फूलहरू (स्थानीय रूपमा शिरीष प्रजाति भनिएका) को मनमोहक दृश्यले सामाजिक सञ्जालमा चर्चा पाएसँगै यहाँ घुम्न आउनेहरूको चहलपहल ह्वात्तै बढेको छ।
गुगल जेमिनाईका अनुसार यो रुख पिंक क्यासिया (Pink Cassia) हो, जसलाई वनस्पति विज्ञानमा Cassia javanica वा Cassia bakeriana भनिन्छ।
नेपालमा यसलाई सामान्यतया “गुलाबी शिरीष” वा “जापानी शिरीष” भनेर चिनिने गरिए पनि यो वास्तविक शिरीष (Albizia) प्रजाति भने होइन। यो अमलतास (Golden Shower Tree) कै प्रजाति अन्तर्गत पर्ने एक रैथाने सजावटी रुख हो।
काँकरभिट्टाबाट क्याम्पस रोड हुँदै करिब साढे ३ किलोमिटरको दूरीमा पुग्न सकिने यस स्थानमा दैनिक रूपमा नेपालका विभिन्न भागबाट पर्यटकहरू पुग्ने गरेका छन्। बगानै भरि ढकमक्क फुलेका फूलहरूको पृष्ठभूमिमा टिकटक, रिल्स् बनाउने, तस्बिर खिच्ने र भिडियो बनाएर रमाउने युवायुवती तथा परिवारहरूको लाम लाग्ने गरेको छ। हरियो चिया बगान र त्यसमाथि छत्रझैँ फैलिएका गुलाबी फूलका कारण यो क्षेत्र निकै मनमोहक देखिएको छ।
फोहोर व्यवस्थापन मुख्य चुनौती
बगानको प्राकृतिक सुन्दरता हेर्न र रमाउन मानिसहरूको भीड बढेसँगै यहाँ वातावरणीय प्रदूषणको चुनौती पनि थपिएको छ। घुम्न आउने पर्यटकहरूले आफूले ल्याएका खानेकुराका प्लास्टिक, बोतल र अन्य फोहोरहरू जथाभाबी फाल्दा बगान क्षेत्र कुरूप बन्न थालेको छ।
पर्यावरण जोगाउनका लागि ठाउँ-ठाउँमा डस्टबिनहरू राखिए पनि कतिपय गैरजिम्मेवार आगन्तुकहरूले ती डस्टबिनहरूलाई समेत लडाइदिएका छन्, जसले गर्दा सुन्दर प्राकृतिक वातावरणमा नकारात्मक असर पुगेको छ।
पर्यावरण जोगाउन अपिल
प्रकृतिसँग रमाउन आउँदा आफ्नै कारणले पर्यावरण बिग्रनु दुखद कुरा हो। यो चिया बगान र यसको सुन्दरता हाम्रो साझा सम्पत्ति भएकाले यसलाई जोगाउनु पर्यटक स्वयम्को पनि दायित्व हुन आउँछ।
आन्तरिक पर्यटन प्रवर्द्धनका लागि सतिघट्टा चिया बगान एक उत्कृष्ट र अविस्मरणीय गन्तव्य हुन सक्ने भए पनि यसको दीर्घकालीन संरक्षणका लागि घुम्न आउने पर्यटक आफैँ सचेत हुनुपर्ने र फोहोरको उचित व्यवस्थापनमा ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ।