मेचीनगरमा महिलाहरू खुला रूपमा स्वास्थ्य उपचारमा अघि बढ्दै

२२ फागुन, मेचीनगर : वर्षौंदेखि रोग लुकाएर, लजाएर, वा गरिबीका कारण स्वास्थ्य जटिलता भोगिरहेका महिलाहरू अहिले खुलेर उपचार गर्न थालेका छन्। मेचीनगर नगरपालिकाले सञ्चालन गरेको पाठेघरको मुखको क्यान्सर (भीआइए) स्क्रिनिङ सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा महिलाहरू निर्धक्क भएर उपचार गराउन र आफ्ना समस्या खुलस्त राख्न थालेका छन्।

नगरपालिकाले यही फागुन ८ गतेदेखि २१ गतेसम्म नगरका चार वटा वडामा भीआइए स्क्रिनिङ शिविर सञ्चालन गरेको थियो। ३० देखि ६० वर्ष उमेर समूहका महिलालाई लक्षित गरी आयोजना गरिएको यस शिविरमा प्रजनन स्वास्थ्य रुग्णता सेवाअन्तर्गत स्तन क्यान्सर, अब्सट्रेटिक फिस्टुला, र आङ खस्ने समस्यासम्बन्धी पनि जाँच गरिएको थियो।

स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाका अनुसार चार वटै वडामा सञ्चालन गरिएको शिविरमा २७२ महिलाले परीक्षण गराएका थिए, जसमा ५२ जना शंकास्पद बिरामी फेला परेका छन्। शिविर फागुन ८ गते मेचीनगर–१४ नम्बर वडाको स्वास्थ्य केन्द्र, फागुन ११ गते मेचीनगर–१२ नम्बर वडाको स्वास्थ्य केन्द्र, फागुन १३ गते मेचीनगर–३ नम्बर वडाको स्वास्थ्य केन्द्र, र फागुन २१ गते मेचीनगर–१० नम्बर वडाको धुलाबारी माविमा सम्पन्न भएको थियो।

शिविरका नतिजाअनुसार वडा नम्बर १४ मा ८८ जना सहभागीमध्ये १४ जना, वडा नम्बर १२ मा ६० जनामध्ये १६ जना, वडा नम्बर १३ मा ६६ जनामध्ये १८ जना, र वडा नम्बर १० मा ५८ जनामध्ये ४ जना शंकास्पद बिरामी देखिएका छन्। जोखिममा परेका बिरामीहरूलाई थप निःशुल्क उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ।

वडा नम्बर १४ मा उपचारका लागि आएकी एक ५५ वर्षीया महिलाले भनिन्, “पहिला यस्तो सेवा सुविधा थिएन। तल्लो पेट दुख्थ्यो, आङ खस्ने समस्या थियो। कसलाई भन्नु? पैसा पनि थिएन। डाक्टर वा परिवारलाई भन्न गाह्रो हुन्थ्यो। अहिले भने सजिलो भएको छ। अब आएर परीक्षण गराएँ, रोग लागिसकेको अवस्था रहेछ।”

शाखा प्रमुख सापकोटाका अनुसार पाठेघरको क्यान्सर नेपालका महिलाहरूमा प्रमुख स्वास्थ्य समस्याको रूपमा रहेको छ। पहिले महिलाहरू रोग लुकाउने प्रवृत्तिमा थिए, तर अहिले रोग थाहा पाएपछि स्वास्थ्य केन्द्र, अस्पताल, र शिविरहरूमा आउनेको संख्या बढ्न थालेको छ। जोखिममा रहेका महिलाहरूको अवस्थामाथि स्वयंसेविकाहरूले निगरानी राख्ने गरिएको छ।

स्वास्थ्य शाखाले नगर आधारभूत अस्पताल र १४ वटा स्वास्थ्य केन्द्रमार्फत सुगर, प्रेसर लगायतका दीर्घरोगीहरूलाई आवश्यक सामान्य औषधिहरू उपलब्ध गराउँदै आएको छ। नगरपालिकाले अब चाँडै मेचीनगर–८ नम्बर वडामा पनि भीआइए स्क्रिनिङ कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको जनाएको छ।

सापकोटाका अनुसार गत वर्ष २०८०/८१ मा ४४२ महिलाको परीक्षण गरिएको थियो, जसमा १८ जना जोखिमयुक्त बिरामी फेला परेका थिए। यस्तै, २०७९/८० मा १५० जनाको परीक्षण गरिएको थियो। शिविरहरू सञ्चालन भएसँगै महिलाहरू स्वास्थ्य सेवाप्रति सचेत हुन थालेका छन्, जसले रोगको पहिचान र समयमै उपचारमा मद्दत पुग्ने अपेक्षा गरिएको छ।

Exit mobile version