२४ वैशाख, मेचीनगरः २१ वैशाखमा दमक–५ स्थित ज्येष्ठ नागरिक प्रतिष्ठान नजिकै एक छात्रामाथि गोली प्रहार भयो । उदयपुर घर भई दमकमा डेरा गरी बस्दै आएका चन्द्रबहादुर अधिकारी गजमेरकी १८ वर्षीया छोरी एनिका (निशा) अधिकारी गजमेरमाथि शुक्रवार दिउँसो करिब साढे १२ बजेको समयमा गोली प्रहार भएको थियो । दमकस्थित हिमाली माविबाट कक्षा १२ को परीक्षा दिएर कोठातर्फ गइरहेकी अधिकारीको पेटमा एक राउन्ड गोली लागेको थियो । झापा प्रहरीका अनुसार घटनामा संलग्न व्यक्ति अहिलेसम्म प्रहरी नियन्त्रण बाहिरै छन् ।
२०८० माघ १९ गते झापा जिल्ला बाह्दशी गाउँपालिका वडानम्बर २ बाट एउटा भरुवा पेस्तोलसहित एकजनालाई प्रहरीले पक्राउ गर्यो । चालु आर्थिक वर्ष २०८०÷०८१ को यो अवधिमा जिल्लामा एउटामात्र हातहतियार खरखजना कसुरमा पक्राउ परेका छन् । झापामा एउटै मात्र यो घटना भए पनि यो केही प्रतिनिधि घटना मात्रै हो । देशभर साना हतियारको बिगबिगी रहेको प्रहरीकै अभिलेखले पनि देखाउँछ । जुन् सुरक्षाको दृष्टिकोणले निक्कै सम्वेदनशील मानिन्छ ।
हुन् त हातहतियार खरखजना ऐन ,२०१९ र नियमावली २०२८ ले सुरक्षा चूनौतीका आधारमा इजाजत लिएर सर्वसाधारणले पनि हतियार राख्न पाउने व्यवस्था गरेको छ । जिल्ला प्रशासन कार्यालय झापाका अनुसार जिल्लामा ८ सय ५८ जनालाई हतियार राख्न इजाजत पत्र दिईएको छ । हातहतियार खरखजना नियमावली अनुसार निजी हतियार प्रत्येक वर्ष नविकरण गर्नुपर्छ । पाच बर्षसम्म पनि नविकरण गर्न नसके जफत र इजाजत पत्र रद्ध गर्न सकिने कानूनी व्यवस्था छ । तर, जिल्ला प्रशासन कार्यालय झापाका अनुसार जिल्लामा एकसय ३० जनाले मात्र इजाजत पत्र नविकरण गरेका छन् ।
झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले एक सञ्चारमाध्यमलाई दिइएको अन्तरवार्तालाई आधार मान्दा दर्ता र नविकरण भएकामा हतियारको संख्यामा फरक परेको देखिन्छ । कतिपयले अर्काे जिल्ला बाट पनि दर्ता गर्ने व्यवस्था भएकाले कतिपयले अर्कै जिल्लाबाट पनि नविकरण गरेका हुन सक्छन् । कतिपयले हतियार प्रहरीलाई समेत बुझाएका छन् । निजी हतियार राख्ने व्यवस्थालाई टेक्दैं नियम विपरीत हतियारलाई इजाजत दिएको, इजाजत लिएको भन्दा फरक हतियार प्रयोग गरेको,इजाजत लिएको व्यक्ति भन्दा फरक व्यक्तिले प्रयोग गरेको, इजाजत लिइएको स्थानभन्दा अन्यत्र प्रयोग गरेको सोहि हतियारको आडमा आपराधिक क्रियाकलाप गरेको पाईए तत्काल उस्लाई हातहतियार खरखजना ऐन, अन्तर्गत कारवाही हुने एकजना प्रहरी अधिकृतको भनाई छ ।
झापामा बेला बखत हतियारकै कारण विभिन्न आपराधिक गतिविधि हुने गरेका घटना सार्वजनिक भए पनि इजाजतपत्र लिएर वैधानिक रूपमा घरमा राखिएका हातहतियार कुनै पनि आपराधिक गतिविधिमा प्रयोग भएका छैनन् । ‘झापामा अहिलेसम्मको रेकर्ड हेर्दा इजाजतपत्र लिएर वैधानिक रूपमा राखिएका हातहतियारको प्रयोग गलत ठाउँमा भएको पाएको छैन् ।’ जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मिलन केसीले भन्नुभयो । व्यक्तिको निजी सुरक्षाका लागि निश्चित हतियार राख्न पाउने व्यवस्था कानूनले नै गरेको भएपनि व्यक्तिगत सुरक्षाका लागि यो सुविधा लिए पनि कतिपयले यसको दुरुपयोग गरी आपराधिक गतिविधि गरिरहेको विभिन्न घटनाक्रमले देखाउँछ ।
प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ लाई स्वच्छ, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्न जिल्लाभित्र रहेका इजाजतपत्र प्राप्त हातहतियारहरू बुझाउन प्रशासनले सूचना जारी गरेको भएपनि झापामा २०७९ कात्तिक १९ गते २ नाले हतियार २ थान बुझाएको र मंसिर १९ मा सम्बन्धित व्यक्तिले फिर्ता लगेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो । साना हतियार भण्डार हुनु सुरक्षाको हिसाबले निकै जोखिमपूर्ण मानिन्छ ।
प्रहरीले गरेको अनुसन्धानबाट नेपालमा भित्रिने अवैध साना–ठूला सबैखाले हतियारहरु सीमा नाकाबाट भित्रिने गर्छन् । अधिकांश बरामद भएका पेस्तोलहरु कटुवा पेस्तोल हुन्छन् । ‘ साना हतियार देखाएर आपराधिक गतिविधि गर्न सहज हुने र लुकाएर हिँड्न पनि सजिलो हुने हुँदा अवैध गतिविधि बढ्ने अनुमान प्रहरीको छ । जसको नियन्त्रण प्रहरीको लागि चुनौती बन्दै गएको छ ।’ एकजना पूर्व प्रहरी नायव उपरीक्षकले भने । अपराध न्यूनीकरणका लागि अवैध हतियार नियन्त्रण प्रहरीको पहिलो प्राथमिकता पर्ने उनको भनाई छ ।
