काठमाडौं,वैशाख २९ । दोस्रो प्ले अफ खेलमा ललितपुर सिटी एफसीले बुटवल लुम्बिनी एफसीलाई १-० गोल अन्तरले हराउँदै नेपाल सुपर लिग( एनएसएल)फुटबलमा दोस्रो क्वालिफायरमा पुगेको छ। अब फाइनल प्रवेशको लागि ललितपुरले काठमाडौँको सामना गर्नुपर्ने छ । धनगढी एफसी भने यसअघि फाइनल पुगिसकेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको प्रतिस्पर्धात्मक खेलमा ललितपुरका कप्तान अञ्जन बिष्टले खेलको ६१ औं मिनेटमा हेडमार्फत् सुन्दर गोल गरेको थिए । खेलमा बुटवलले धेरै प्रयास गरेपनि लयमा फर्किन नसक्दा गोल विहीन हुने परेको थियो ।यो हारसँगै बुटवलको फाइनल पुग्ने यात्रा समाप्त भएको छ ।
खेलमा उत्कृष्ट प्रदर्शन गरे बापत ललितपुरका मिक्सेन तामाङ ” इमर्जिङ प्लेयर अफ दि म्याच ” बन्दै नगद दस हजार प्राप्त गरे । त्यसैगरी ललितपुरकै अर्पण कार्की”सुपर प्लेयर अफ दि म्याच “बन्दै नगद २५ हजार प्राप्त गरे ।
भोलिको दोस्रो क्वालिफायर खेल दशरथ रंगशालामा साँझ साढे ५ बजे ललितपुर सिटी र काठमाडौँ भिड्नेछन्। नेपालमा आयोजित पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगितामा ७ टोली सहभागी भएका थिए। प्रतियोगिताको विजेताले ३५ लाख नगदसहित ट्रफी हात पार्नेछ।
