सबैभन्दाबढी आपराधिक घटनाको वारदात स्थान मेचीनगर — ६

१३ असार, मेचीनगर : लागूऔषधको ‘टान्जिट प्वाइन्ट’ कोरुपमा रहेको झापाको मेचीनगर —६ काँकरभिट्टाबाट अत्याधिकरुपमा लागूऔषध बरामद भएको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाको कार्यक्षेत्रमा पर्ने मेचीनगर—६ काँकरभिट्टा सोझै भारतीय बजारसँग जोडिएका कारण यस्ता खालको मुद्धा अत्याधिक रहेको प्रहरीको अनुमान छ ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाको आर्थिक वर्ष २०७९/८० को दशमहिनाको अभिलेखले पनि यसलाई पुष्टि गर्दछ । कार्यालयको मातहतमा मेचीनगरका १ देखि ८ नम्बरसम्मका वडा पर्दछन् । बाँकी वडाको जिम्मा इलाका प्रहरी कार्यालय धुलाबारीको हो । साउनदेखि जेठ महिनासम्ममा यस कार्यालयका विभिन्न शीर्षकमा १ सय ४९ वटा मुद्धा दर्ता भएका छन् । सबैभन्दा बढी लागूऔषधकै ४५ वटा छन् । त्यसमा पनि वारदात स्थान मेचीनगर —६ का ३७ वटा छन् ।

वडानम्बर १ र ८ मा पर्ने क्षेत्रबाट एक/एकवटा, वडानम्बर ७ मा पर्ने क्षेत्रबाट ४ तथा वडानम्बर ५ को क्षेत्रबाट २ वटा लागूऔषध तथा कारोबारी पक्राउ परेका छन् । काँकरभिट्टा बजार र भारतको पानीट्याँकी बजारको दुरी खासै टाढा नभएका कारण तथा त्यहाँ लागूऔषध सहजरुपमै किन्न पाउने भएकाले कारोवारी र सेवनकर्ताले यो नाका प्रयोग गर्ने गरेको प्रहरीको दाबी छ ।

मेचीनगरको वडानम्बर —७ पनि मेची खोलासँगै जोडिएका कारण कारोवारी र प्रयोगकर्ताले मेचीखोलाहुँदै नेपाल प्रवेश गरेर धन्दा चलाउने भएकाले बढि भएको लागूऔषध नियन्त्रण व्यूरोका एकजना अनुसन्धान अधिकृतले जानकारी दिनुभयो । मुख्यः नाकामा कडाई गरेका कारण लागूऔषधमा संलग्नहरुले वैकल्पिक बाटो रोज्ने गरेको प्रहरीको भनाई छ । विभिन्न १८ वटा शीर्षकमा मुद्घा दर्ता हुँदा सवैभन्दा बढी मुद्घाको वारदात स्थान पनि मेचीनगर —६ नै छ । कुल १ सय ४९ वटामध्ये ५० प्रतिशतभन्दा बढी मुद्घाको वारदात स्थान मेचीनगर —६ रहेको अभिलेखले देखाएको छ । दशमहिनाको अवधिमा ९० वटा मुद्घाको वारदात स्थान मेचीनगर —६ रहेको अभिलेखमा स्पष्ट छ । यसैगरी, अभद्र व्यवहारको कुल ४३ मध्ये ३० वटाको वारदात स्थान मेचीनगर —६ हो । मेचीनगर—६ वारदात स्थान भएका मुद्घमा ठगीका ३, झुण्डी आत्महत्या १, भवितव्य ज्यान ३, जवरजस्ती करणी १, चारीका ३, सवारी ज्यानका २, सवारी अङ्गभङ्ग १, बैकिङ्ग कसुर ७, हातहतियार खरखजना १ र सट्टावाजीका १ छन् ।

मेचीनगरको वडानम्बर ३ बाट सवैभन्दा कम मुद्घा दर्ता भएको जनाइएको छ । झुण्डी आत्महत्या, अभद्र व्यवहार र सवारी ज्यान गरी ३ वटामात्र मुद्धा दर्ता सो क्षेत्रबाट दर्ता भएको अभिलेखमा छ । वडा नम्बर १ बाट ९, २ बाट ७, ४ बाट ६, ५ बाट ७, ७ बाट २१ र ८ बाट ६ गरी कुल १ सय ४९ वटा मुद्धा दर्ता भएको जनाइएको छ ।

Exit mobile version