उपभोक्ता अधिकार र बजार व्यवस्थापन सम्बन्धी प्रशिक्षण सम्पन्न

२७ पुस, मेचीनगर : उपभोक्ताहरुको अधिकार सुनिश्चित गदैं बजारलाई व्यवस्थापन गर्ने उद्घेश्यले झापाको मेचीनगरमा उपभोक्ता अधिकार र बजार व्यवस्थापन सम्बन्धी एकदिवसीय प्रशिक्षण कार्यक्रम विहीबार सम्पन्न भएको छ ।
मेचीनगर नगरपालिकाले नगरप्रमुख विमल आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको कार्यक्रममा सहभागीहरुले सबैभन्दा पहिला उपभोक्ताहरु सचेत हुनुपर्नेमा जोड दिएका थिए । उपभोक्ता जागरण अभियान नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद भण्डारीले सहभागीहरुलाई विविध विषयमा प्रशिक्षण प्रदान गर्नुभएको थियो । उहाँले नेपालमा उपभोक्ताको अधिकार र विद्यमान अवस्थाको चर्चा गर्दै उपभोक्ताहरुको हक, हित अधिकारका क्षेत्रमा सक्रिय संघ संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा जोड दिनुभयो ।
नेपालको संविधान २०७२ को धारा ४४ मा उपभोक्ता हकको व्यवस्था रहेको र संविधानमा गुणस्तरीय वस्तु र सेवाको उपभोग गर्न पाउँनु उपभोक्ताको हक हुने र गुणस्तरहीन वस्तुको उपभोगबाट हानी नोकशानी भएमा उपभोक्ताले क्षतिपूर्ति पाउने हक सुनिश्चित गरिएको अध्यक्ष भण्डारीले सहभागीलाई जानकारी गराउनु भएको थियो ।
अहिले बजार स्वच्छ र उपभोक्ता मैत्री हुन नसक्दा बस्तु र सेवाको उपभोग गर्ने उपभोक्ताले वस्तुको मुल्य, गुणस्तर र तौलमा मात्र नभएर सेवाका क्षेत्रमा समेत दुःख पाइरहेको अवस्था रहेको बताईएको छ । सुशासनको अभावले विधिको शासन कमजोर हुदै गएको अवस्थामा जागरण अभियानले उपभोक्ताका हक, अधिकारको संरक्षणका लागि आवजमार्फत सरोकारवालाहरुलाई दबाब दिदैं आएको प्रशिक्षणका क्रममा बताईयो ।
नगरप्रमुख विमल आचार्यले उपभोक्ताहरु हरेक क्षेत्रमा सचेत हुनुपर्नेमा जोड दिदैं खाद्य वस्तुको उत्पादन मिति, उपभोग्य मिति, व्याच नम्बरलगायतका सबै कुरा हेर्नुपर्नेमा जोड दिनुभयो । उहाँले अखाद्य वस्तुले मानिसको स्वास्थ्यमा असर पर्ने भएकाले यसमा स्वायम् सरोकारवालाहरु समेत गम्भीर बन्नुपर्ने बताउनुभयो । उपप्रमुख मीना पोखरेल उप्रेतीले बजार अनुगमनलाई तीव्र पार्नुपर्ने र अनुगमलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।
जागरण अभियान नेपालको झापा जिल्ला तदर्थ समितिका अध्यक्ष मोहन काजीले उपभोक्ताहरुको हक, हित र अधिकारका लागि सशक्त अभियान सञ्चालन गर्ने उद्देश्यले समिति गठन भएको बताउनुभयो । अध्यक्ष काजीले लोकतन्त्रमा नागरिक सर्वोच्चता सर्वोपरि रहेको हुँदा उनीहरुको हित र संविधानप्रदत्त उपभोक्ता अधिकारको कार्यान्वयनका लागि समितिले इमानका साथ नागरिक सचेतना अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले समितिका सबै गतिविधि पारदर्शी र लोकतान्त्रिक हुनेसमेत बताउनुभयो ।
मेचीनगर नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत होमनाथ भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न वडाका वडाध्यक्ष, वडा सदस्य, उद्योगी, व्यवसायीका प्रमुख प्रतिनिधि, विभिन्न सामाजिक संघ संस्थाका प्रमुख प्रतिनिधि,सञ्चारकर्मीलगायतको सहभागिता रहेको थियो ।
प्रशिक्षणको सञ्चालन जागरण अभियान नेपालको झापा जिल्ला तदर्थ समितिका सदस्य ज्ञानेन्द्र निरौलाले गर्नुभएको थियो ।

 

Exit mobile version