शेयर बजार परिसूचक मापक नेप्से बढेर आइतबार ऐतिहासिक उचाइमा पुग्दा हालसम्मकै धेरै ९ अर्ब ३७ करोड ६० लाख रुपैयाँको शेयर खरीद बिक्री भएको छ । यसअघि २०७७ मंसिर १४ गते ९ अर्ब २२ करोडको शेयर कारोबार भएकोमा उक्त रेकर्ड तोड्दै आइतबार नयाँ कीर्तिमान कायम भएको हो ।
साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचकमा उच्च सुधार आएसँगै खरिद बिक्री रकममा अहिले सम्मकै नयाँ रेकर्ड कायम भएको हो ।
नेपाल धितोपत्र बोर्डले नागरिक स्टक डिलर कम्पनीलाई शेयर कारोबार गर्न अनुमति प्रदान गरेपछि शेयर बजारमा नयाँ माहोल सिर्जना भएको हो । अर्कोतर्फ सिडिएस एण्ड क्लियरिङ्गले लिमिटेडले आइतबारदेखि शेयर बजारमा ‘टि प्लज टू’ अर्थात शेयर खरीद वा बिक्री गरेको शेयर दुई कार्य दिनमा राफसाफको थालनी गरेको छ । यसले पनि बजार वृद्धिमा थप सहयोग पुर्याएको हो ।
आइतबार नेप्से ५०.२० अंकले बढेर २ हजार ४२४ दशमलव ८४ अंकमा पुगेर बन्द भएको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटीभ परिसूचक पनि ६.४७ अंकले बढेर ४५२.०६ अंकमा बन्द भएको छ । आइतबार दिनभर २०७ कम्पनीको १ करोड ९३ लाख ७९ हजार ४२ कित्ता शेयर ७९ हजार ४९८ पटक खरीद बिक्री हुँदा ९ अर्ब ३७ करोडको कारोबार भएको छ।
बैंकिङ्ग प्रणालीमा प्रयाप्त तरलता कायम हुनु, बैंक तथा वित्तीय संस्थामा ब्याजदर घट्नु, तथा कोरोना महामारीका बीच पनि सूचीकृत कम्पनीहरुको वित्तीय विवरणमा खास असर गरेको नदेखिएपछि शेयर बजारमा लगानीका लागि उपयुक्त माहोल बनेको हो । त्यसैले बजारमा शेयरको माग बढेको छ भने परिसूचक र कारोबार रकमले नयाँ उचाई चुम्दै गएको छ ।
कारोबारमा आएका ब्यापार बाहेक सबै उपसमूहका सूचक बढेका छन् । अन्य ५ प्रतिशत धेरैले बढ्दा लघुवित्त र जलविद्युतको सूचक पनि २ प्रतिशत धेरैले बढेका छन् । बैंकिङ, होटल, वित्त, निर्जीबन बीमाको सूचकमा १ प्रतिशत धेरैको सुधार आएको छ ।
