१८ कात्तिक, झापा : आगामी मंसीर ४ मा हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा झापाका १९ जना उम्मेदवारले आफैंलाई मतदान गर्न नपाउने भएका छन् । मतदान गर्न नपाउनेमा पूर्व प्रधानमन्त्रीदेखि गृहमन्त्री सम्म रहेका छन् ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, नेकपा (एमाले)का स्थायी कमिटी सदस्य अग्नि खरेलसहित झापाका १९ जना उम्मेदवारले आफैंलाई मतदान गर्न पाउने छैनन् ।
आफ्नो मतदाता नामावली भएको क्षेत्रभन्दा बाहिर उम्मेदवारी रहेकाले उहाँहरुले आफूलाई मतदान गर्न नपाउने हुनुभएको हो । आफैंलाई मतदान गर्न नपाउने उम्मेदवारहरुमा नेपाली काँग्रेस र नेकपा एमालेका शीर्ष नेतासहित अक्कलबहादुर तामाङ, महेन्द्र खायामली, राजन चुडाल, रामसुफल कामती, रेश्मा चेम्जोङ, त्रिनारायण राजवंशी, युग पाठक, कृष्णगोपाल छुस्यावाग, त्रिनारायण राजवंशी, श्यामबहादुर लिम्बू, दिलीप धिमाल, राजकुमार लामा, गजेन्द्र लिम्बू, नन्दराज राई, मनोरथ राजवंशी, विक्रम कासिछवाले समेत निर्वाचनमा आफैले आफंैलाई मतदान गर्न नपाउने हुनुभएको छ ।
निर्वाचन आयोगले मतदाता नामावली रहेको क्षेत्रबाट मात्र मतदान गर्न पाउने व्यवस्था गरेसँगै उम्मेदवार स्वयम् आफूलाई मतदान गर्नबाट वञ्चित हुनुभएको हो । झापा क्षेत्र नम्वर १बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बन्नुभएको नेकपा (एमाले)का स्थायी कमिटी सदस्य खरेलको मतदाता नामावली झापा क्षेत्र नम्वर २ मा छ । त्यस्तै झापा क्षेत्र नम्वर ५मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्नुभएका नेकपा (एमाले) का अध्यक्ष ओलीको मतदाता नामावली भक्तपुर क्षेत्र नम्बर २ मा छ । उहाँहरु दुबै जनाले आफूलाई मतदान गर्न नपाउने हुनुभएको छ ।
त्यस्तै नेपाली काँग्रेसका केन्द्रीय सदस्य सिटौलाको मतदाता नामावली झापा क्षेत्र नम्वर १ मा पर्ने भएकाले सिटौला आफैंले समेत आफूलाई मतदान गर्न नपाउने हुनुभएको हो । सिटौलाको उम्मेदवारी प्रतिनिधिसभा सदस्यका लागि झापा क्षेत्र नम्वर ३ मा रहेको छ । यस्तै झापा ५ बाट स्वतन्त्र रूपमा उम्मेदवारी दिनु भएको युग पाठकले पनि आफूलाई मतदान गर्न पाउनुहुन्न । उहाँको मतदाता नामावली काठमाडौं –७ मा रहेको छ ।
यता प्रतिनिधिसभातर्फ झापा २ बाट उम्मेदवारी दिनुहुने मंगोल नेशनल अर्गनाइजेशनका उम्मेदवार अक्कलबहादुर तामाङ, झापा २ बाटै उम्मेदवारी दिनु हुने नेपाल मजदुर किसान पार्टीका महेन्द्र खायामली, झापा ५ बाट उम्मेदवारी दिनुहुने पिपुल्स पार्टीका राजन चुडालले पनि आफूलाई मतदान गर्न पाउँनु हुन्न । तामाङको मतदाता नामावली झापा क्षेत्र नम्वर १ मा छ, खायामलीको मतदाता नामावली भक्तपुर १ मा र चुडालको मतदाता नामावली झापा २ मा रहेको छ ।
प्रतिनिधिसभातर्फ नै झापा २ बाट उम्मेदवार बन्नुहुने जनता समाजवादी पार्टी (जसपा) का रामसुफल कामती, झापा–२ बाटै उम्मेदवारी दिनुहुने राष्ट्रिय मञ्चकी रेश्मा चेम्जोङले समेत आफूलाई मतदान गर्न पाउनुहुन्न् । किनकि कामतीको मतदाता नामावली झापा क्षेत्र नम्वर १ मा छ भने चेम्जोङको झापा क्षेत्र नम्वर ५ मा रहेको छ ।
प्रतिनिधिसभा सदस्यका लागि नै झापा क्षेत्र नम्वर २ बाट उम्मेदवारी दिनुहुने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का त्रिनारायण राजवंशीले समेत आफूलाई मतदान गर्न नपाउने हुनु भएको छ । उहाँको मतदाता नामावली झापा ४ मा छ भने झापा क्षेत्र नम्वर २ बाटै स्वतन्त्र उम्मेदवार राजकुमार लामाको मतदाता नामावली काठमाडौंमा रहेकाले उहाँले समेत आफूलाई मतदान गर्न नपाउने हुनुभएको छ ।
प्रतिनिधिसभातर्फ झापा क्षेत्र नम्वर ३ बाट उम्मेदवार बनेका नेपाल मजदुर किसान पार्टीका कृष्णगोपाल छुस्यावागले समेत आफूलाई मतदान गर्न पाउँनुहुन्न् । उहाँको मतदाता नामावली भक्तपुर क्षेत्र नम्वर १ मा रहेको छ । यता झापा क्षेत्र नम्वर ३ बाटै प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बन्नु भएका जनमुक्तिका गजेन्द्र लिम्बूको मतदाता नामावली ताप्लेजुङमा रहेकाले उहाँले समेत आफूलाई मतदान गर्न पाउँनुहुन्न । सोही क्षेत्रबाट उम्मेदवार रहनु हुने जनमुक्तिकै मनोरथ राजवंशीको मतदाता नामावली झापा २ मा रहेकाले उनले पनि आफूलाई मतदान गर्न नपाउने हुनुभएको हो ।
यता झापा क्षेत्र नम्वर ३ बाटै उम्मेदवारी दिएका मंगोल नेशनल अर्गनाइजेशनका श्यामबहादुर लिम्बूले झापा ४ बाट उम्मेदवारी दिनुभएकाले उहाँले पनि आफूलाई मतदान गर्न नपाउने हुनु भएको छ । त्यस्तै नेपाल मजदुर किसान पार्टीका विक्रम कासिछवा, मंगोल नेशनल अर्गनाइजेशनका दिलीप धिमालले पनि आफूलाई मतदान गर्न पाउँनुहुन्न । लिम्बुको मतदाता नामावली झापा १ मा छ भने कासिछवालेको नामावली भक्तपुर १ मा र धिमालको झापा १ मा छ ।
झापा ४ बाट स्वतन्त्र उम्मेदवारी दिनुहुने नन्दराज राईले पनि आफूलाई मतदान गर्न नपाउने हुनुभएको छ । उहाँको मतदाता नामावली सुनसरी ४ रहेको छ । पाँच निर्वाचन क्षेत्र रहेको झापामा प्रतिनिधिसभाका लागि ९४ जना र प्रदेशसभा सदस्यका लागि ९८ जना चुनावी प्रतिष्पर्धामा रहेका छन् ।
