३१ साउन, मेचीनगर : मेचीनगर नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयको छड्के अनुगमन सुरू गरेको छ ।
मंगलवार नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीसहितको टोलीले मेचीनगर नगरपालिकाले सञ्चालन गरेको श्रीकृष्ण प्राथमिक विद्यालयसहित दुईवटा विद्यालयको छड्के अनुगमन गरेको थियो ।

मेचीनगर नगरपालिकाद्वारा सञ्चालित श्रीकृष्ण प्राथमिक विद्यालयमा बाल विकाशसहित कुल ५२ जना विद्यार्थी भए पनि ४२ जना मात्र उपस्थित रहेका, शिक्षक होमनारायण धिमाल हाजिर गरेर अन्यत्र गएको अनुगमन टोलीले जनाएको छ ।
उहाँसँग नगरको शिक्षा शाखाले स्पष्टीकरण सोध्ने नगर शिक्षा अधिकारी होमनाथ भण्डारीले बताउनुभयो ।
सरकारी विद्यालयमा दैनिकजसो विद्यार्थीको संख्या घट्दै गएकोमा चिन्ता व्यक्त गर्दै नगर प्रमुख बुढाथोकी र उपप्रमुख उप्रेतीले त्यसको कारण पहिल्याएर समाधान खोज्नुपर्नेमा जोड दिनुभयो ।
शिक्षकले विद्यार्थीको भविष्यमाथि खेलवाड गर्न नहुने भन्दैँ उहाँहरूले कार्यालयको समयमा अन्यत्र गए त्यस्ता शिक्षकहरूलाई कारवाही गर्ने शिक्षा शाखाको भनाई छ ।
टोलीले सरस्वती प्राथमिक विद्यालयको समेत अनुगमन गरेको थियो । नगरप्रमुख उपप्रमुखले शिक्षक र विद्यार्थीसँग विविध विषयमा जानकारी लिनुभएको थयो ।