रोटरी क्लब अफ काँकरभिट्टाद्वारा नवनिर्मित खानेपानी परियोजना हस्तान्तरण

विद्यालय परिसरमा खानेपानीको ट्याङ्की निर्माणपछि विद्यार्थीरुमा खुशी

२९ साउन, मेचीनगर : झापाको मेचीनगर—४ स्थित पशुपति माध्यमिक विद्यालयमा त्यहाँ अध्ययनरत विद्यार्थीहरुलाई शुद्ध पिउनेको निक्कै अभाव थियो । चैतको टन्टलापुर घामा तिर्खाएका विद्यार्थीहरु विद्यालय नजीकै गएर ट्युवेलको पानी पिएर तिर्खा मेट्न बाँध्य थिए । तर, अब भने यो समस्याबाट विद्यालय मुक्त भएको छ ।

विद्यालय परिसरमा रोटरी क्लब अफ काँकरभिट्टाद्वारा नवनिर्मित शुद्ध पिउने पानी परियोजना आइतबार सम्बन्धित विद्यालयलाई हस्तान्तरण गरेपछि यो समस्याबाट विद्यालयले मुक्ती पाएको हो ।

मेचीनगर—४ स्थित आमडाँगीमा पशुपति माध्यमिक विद्यालयमा नवनिर्मित शुद्ध पिउने पानी परियोजना आइतबार सम्बन्धित विद्यालयलाई हस्तान्तरण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका वडानम्बर—४ का वडा अध्यक्ष अर्जुनकुमार कार्की र रोटरी क्लब अफ काँकरभिट्टाका सन् २०२२/२०२३ का अध्यक्ष सुजन प्रधानले संयुक्तरुपमा विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष मेनुका बराल र  प्रधानध्यापक लक्ष्मण प्रधानलाई धाराको साँचो हस्तान्तरण गर्नुभएको थियो ।

रोटरीले विद्यालयमा खानेपानी परियोजना सम्पन्न गरी हस्तान्तरण गरेर यहाँको ठूलो समस्या समाधान भएकोमा विद्यालयका प्रधानध्यापक लक्ष्मण प्रधानले खुशी व्यक्त गर्नुभयो । विद्यालय परिसरमा यस्तो परियोजना निर्माण गरिएकोमा विद्यालय परिवार पनि खुशी छ ।

धेरै कुराबाट समस्या झेलिरहेको आनि कक्षा १० सम्म पढाई हुने यो माध्यमिक विद्यालयमा २ सय ५० जना जना विद्यार्थी अध्ययनरत छन् । त्यहाँ अध्ययनरत अधिकांश बालबालिका मजदुर र गरिब किसान समुदाय तथा चिया, निर्माण, कृषि मजदुरका छोराछोरी रहेको प्रधानध्यापक प्रधानको भनाई छ ।

मेचीनगर नगरपालिका वडानम्बर—४ तथा रोटरी क्लब अफ काँकरभिट्टाको गरी २ लाख रुपैयाँ बढिमा परियोजना सम्पन्न भएको हो । यसअघि नगरका विभिन्न विद्यालयमा यस्तै परियोजना सम्पन्न गरी हस्तानतरण गरिएको अध्यक्ष सुजन प्रधानको भनाई छ ।

३ सय लिटरको स्टिलको ट्याङ्कीसहित ४ वटा धारा जडान गरिएको छ । अध्यक्ष प्रधानका अनुसार वडानम्बर ६ मा रहेको काँकरभिट्टा मावि, वडानम्बर ७ मा रहेको श्रीकृष्ण प्रा.वि. र ८ को बालकल्याण माविमा समेत शुद्ध पिउने पानी परियोजना सम्बन्धित विद्यालयलाई हस्तान्तरण भइसकेको छ ।

कार्यक्रममा बोल्दैं प्रमुख अतिथि वडाध्यक्ष कार्कीले रोटरीले विश्व शान्ति, खानेपानी र सरसफाई, आधारभूत शिक्षा, विभिन्न रोगको उपचार तथा रोकथाम, आमा र नवजात शिशुको स्वास्थ्य उपचार, समुदायमा आधारित आर्थिक विकासका क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्नुभएको थियो । रोटरीले यसअघि समेत विभिन्न विद्यालयमा रचनात्मक कार्य गरेको भन्दैं वडाध्यक्ष कार्कीले आगामी दिनमा समेत यस्ता कार्यले निरन्तरता पाउने विश्वास दिलाउनुभयो । उहाँले अब समाज रुपान्तरण र परिवर्तमा सबै लाग्नुपर्ने बताउनुभयो ।

वातावरणका क्षेत्रमा नगरलाई सफा स्वच्छ र स्वस्थ्य हराफरा बनाउन विभिन्न ठाउँमा वृक्षारोपणदेखि उपचारको पहुँचबाट टाढा टाढा रहेका सर्वसाधारणलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर आयोजना तथा क्यान्सर जस्तो प्राणघातक रोगका बारेमा चेतना प्रदान गर्ने उद्देश्यले वार्षिकरुपमा रोटरीले विविध कार्यक्रम आयोजना गर्ने गरेकोमा क्लबका प्रोजेक्ट चियर दीपेन्द्रराज पाण्डेको भनाई छ ।

रोटरी क्लब अफ काँकरभिट्टाका एडमिन चियर उदयकुमार श्रेष्ठले स्वागत गरेको कार्यक्रममा सन् २०२२/०२३ का सचिव भगिरथ राईले सञ्चालन गर्नुभएको थियो ।

क्लबले शिक्षाका क्षेत्रमा धेरै काम गरेको छ । काँकरभिट्टा बहुमुखी क्याम्पसमा अध्ययनरत ४ जना, मेचीनगरकै बाहुनडाँगीमा रहेको अर्काे विद्यालयका जेहेन्दार र आर्थिक अवस्था अलि कमजोर भएका विद्यार्थीहरुलाई छात्रावृत्ति प्रदान गरेको छ ।

अन्तर्राष्ट्रिय स्तरमा रोटरीले सपिङ कम्पलेक्स परिसरमा महिलाहरुलाई लक्षित गरेर सार्वजनिक शौचालय निर्माण गरेर काम को थालनी गरेको थियो । विस्तारै विस्तारै यसले स्वास्थ्यका क्षेत्रमा समेत हात हालेर सन् १९८५ मा संसारबाट पोलियो उन्मुलन गर्ने दायित्व आफ्नो काँधमा लिदैं १९८८ मा विश्व स्वास्थ्य संगठन, युनिसेफ मिलिण्डा गेट्स फाउण्डेशनलगायतका संस्थाहरुसँग सहकार्य गरेर हाल सम्म ९९ दशमलव ९ प्रतिशत पोलियो संसारबाट उन्मुलन गर्न सफल भएको कार्यक्रममा चर्चा गरिएको थियो ।

कार्यक्रममा वडा नम्बर ४ का जनप्रतिनिधि पवन बराइली, क्लबका युथ सर्भिस चियर रबिचन्द्र नेपाल, रोटरीका सदस्यहरु, रोट्रयाक्ट क्लब अफ काँकरभिट्टाका सदस्यहरु, विद्यालयका शिक्षकहरु, विभिन्न उद्योगी व्यवसायीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरेर शुद्ध पिउने पानी परियोजना सम्पन्न गरेर विद्यालयलाई हस्तान्तरण गरेर रोटरी क्लब अफ काँकरभिट्टाले विद्यालयलाई ठूलो गुण लगाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेनुका बरालको भनाई रहेको छ  । आगामी दिनमा समेत समाज रुपान्तरणमा रोटरीले उल्लेखिय भूमिका निर्वाह गर्न जरुरी छ ।

 

Exit mobile version