साउदी अरेबियाको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको घातक आक्रमणप्रति नेपाल सरकारले कडा निन्दा गरेको छ। परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै आक्रमणबाट भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गरेको हो।
नेपाल सरकारले घटनामा ज्यान गुमाएकाहरूका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, कुनै पनि बहानामा सर्वसाधारण नागरिक तथा सार्वजनिक पूर्वाधारलाई निशाना बनाउन नहुनेमा जोड दिएको छ।
नेपालले सम्बन्धित सबै पक्षलाई अधिकतम संयमता अपनाउन तथा विवाद र द्वन्द्वको समाधान शान्तिपूर्ण माध्यमबाट खोज्न आग्रह गरेको छ। साथै, नेपालले साउदी अरबको सरकार र जनताप्रति ऐक्यबद्धता व्यक्त गरेको छ।
यसैबीच, रियाद विमानस्थलमा भएको आक्रमणपछि साउदी अरबमा हवाई सुरक्षाको अवस्था थप संवेदनशील बनेको छ। शनिबार भएको आक्रमणमा १२ जनाको मृत्यु र ३०९ जना घाइते भएको साउदी अधिकारीहरूले जनाएका छन्। मृतक तथा घाइतेमा विभिन्न देशका नागरिकसमेत रहेका छन्।
आक्रमणपछि विमानस्थलको सञ्चालन अस्थायी रूपमा रोकिएको थियो। घटनाका कारण यात्रु तथा विमानस्थलका कर्मचारीमा त्रास बढेको छ भने साउदी अरब जाने–आउने अन्तर्राष्ट्रिय हवाई सेवासमेत प्रभावित भएका छन्।
काठमाडौं–दमाम उडान रद्द
सुरक्षा जोखिमको असर नेपाली हवाई सेवामा पनि परेको छ। हिमालय एयरलाइन्सले आइतबारका लागि निर्धारित काठमाडौं–दमाम र दमाम–काठमाडौं दुवै उडान रद्द गरेको छ।
यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै उडान रद्द गरिएको कम्पनीले जनाएको छ। साउदी अरबमा बढ्दो सुरक्षा तनावका कारण अन्य अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूले समेत उडान स्थगित वा तालिका परिवर्तन गरेका छन्।
एयर इन्डिया, फ्लाईदुबई, लुफ्थान्सा समूह तथा पाकिस्तान इन्टरनेसनल एयरलाइन्सलगायतका सेवामा पनि असर परेको जनाइएको छ। यूएई र साउदी अरबबीच सञ्चालन हुने केही उडानसमेत रद्द वा पुनःतालिकीकरण भएका छन्।
क्षेत्रीय तनाव बढ्ने संकेत
रियाद विमानस्थलमाथि भएको आक्रमणलाई लिएर साउदी नेतृत्वको गठबन्धनले इरान समर्थित हुथी समूहलाई जिम्मेवार ठहर गर्दै कडा प्रतिक्रिया दिने चेतावनी दिएको छ।
यमनमा साउदी समर्थित सरकारी फौज र हुथी विद्रोहीबीच जारी द्वन्द्वका बीच साउदी अरबका रणनीतिक तथा हवाई पूर्वाधारमाथि भएका पछिल्ला आक्रमणले मध्यपूर्वको सुरक्षा अवस्था थप तनावपूर्ण बन्ने संकेत गरेको छ।
यसअघि पनि रियाद र अन्य साउदी विमानस्थललाई लक्षित गरी आक्रमणका घटना सार्वजनिक भएका थिए। पछिल्लो घटनापछि यात्रुहरूलाई विमानस्थल जानुअघि सम्बन्धित वायुसेवा कम्पनीसँग आफ्नो उडानको पछिल्लो अवस्था पुष्टि गर्न आग्रह गरिएको छ।


























