हात्ती समस्या समाधानका लागि नेपाल-भारत अधिकारीबीच मालबारीमा बृहत् छलफल: दिल्ली–काठमाडौं स्तरमै वार्ता गर्नुपर्नेमा जोड

A meeting is taking place in a room with blue walls. Devashish Pandey, a Division Forest Officer from India, stands and gestures while speaking to the attendees. Seated around the table are Ravindra Koirała, a Constituent Assembly member, and Mayor Gopal Chandra Budhathoki, among others. They appear engaged in a discussion, possibly regarding the human-elephant conflict in the region.

हात्ती समस्या समाधानका लागि नेपाल-भारत अधिकारीबीच मालबारीमा बृहत् छलफल

मेचीनगर (झापा) । नेपालकै सबैभन्दा बढी हात्ती प्रभावित क्षेत्र झापाको मेचीनगर-४ बाहुण्डाँगी र आसपासको मानव-हात्ती द्वन्द्व न्यूनीकरणका लागि नेपाल र भारतका सम्बन्धित अधिकारी तथा सरोकारवालाहरूबीच एक बृहत् अन्तरदेशीय छलफल सम्पन्न भएको छ। बुधबार भारतको दार्जिलिङ जिल्लास्थित मालबारीमा दुवै देशका उच्च अधिकारीहरूको उपस्थितिमा सो समीक्षा बैठक सम्पन्न भएको हो।

दिल्ली–काठमाडौं स्तरमा वार्ताको माग
छलफलका क्रममा संविधानसभा सदस्य रविन कोइरालाले बाहुण्डाँगीको हात्ती समस्या कुनै एउटा गाउँको मात्र नभएर दुई देशबीचको अन्तर्राष्ट्रिय मामिला बनिसकेको उल्लेख गर्दै यसको दीर्घकालीन समाधानका लागि अब ‘दिल्ली–काठमाडौं’ (केन्द्रीय सरकार) को स्तरमै वार्ता हुनुपर्नेमा जोड दिनुभयो। उहाँले दुवै देशका केन्द्रीय तथा स्थानीय निकायले समन्वयात्मक रूपमा बजेट र प्रविधि परिचालन गर्नुपर्ने बताउनुभयो।

नेपालको गुनासो: हात्ती धपाउने र रबरको गोली प्रहार
मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले नेपालतर्फ सिमानाका बासिन्दाहरूको मुख्य गुनासो बैठकमा राख्नुभएको थियो। उहाँले भारततर्फबाट साँझपख हात्तीहरूलाई नियन्त्रित रूपमा नेपालतर्फ धपाउने गरिएको र हात्तीमाथि रबरको गोली प्रयोग गरिने गरेको भन्ने नेपाली नागरिकहरूको गुनासो रहेको भन्दै भारतीय पक्षसँग स्पष्टीकरण माग गर्नुभयो। साथै, भारततर्फ हात्ती नियन्त्रणका लागि के-कस्ता प्रविधि प्रयोग भइरहेका छन् भन्नेबारे उहाँले चासो राख्नुभयो।

भारतीय वन अधिकारीको जवाफ: ‘हात्ती कसैको देशको हुन्न’
नगरप्रमुख बुढाथोकीको जिज्ञासाको जवाफ दिँदै भारततर्फका डिभिजन वन अधिकृत (DFO) प्रमुख देवेश पाण्डेले हात्तीलाई ‘भारतको वा नेपालको’ भनेर सीमामा वर्गीकरण गर्ने तर्क नै गलत भएको टिप्पणी गर्नुभयो। उहाँले भन्नुभयो, “हात्तीलाई छेकेर वा डोर्‍याएर यता–उता पठाउने भन्ने धारणा गलत हो। हात्ती आफ्नो परम्परागत जैविक मार्ग (Biological Corridor) मा हिँड्छन्। भारतमा पनि हात्तीबाट हुने क्षति निकै उच्च छ।”

रबरको गोलीको विषयमा स्पष्ट पार्दै डीएफओ पाण्डेले त्यो हात्तीलाई लक्षित गरी नभएर Quick Response Team (QRT) को आत्मरक्षाका लागि मात्र प्रयोग हुने दाबी गर्नुभयो।

प्रविधिको प्रयोग र भीड जम्मा नगर्न भारतीय पक्षको सुझाव
भारतीय वन अधिकारी पाण्डेले भारततर्फ हात्तीको २४ सै घण्टा निगरानीका लागि ६० वटा सीसी क्यामेरा जडान गरी कन्ट्रोल रुममार्फत अनुगमन भइरहेको र जोखिम क्षेत्रमा क्युआरटी टोली तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो।

भारतीय पक्षका वक्ताहरूले नेपालतर्फ हात्ती देखिनासाथ ढुङ्गा, इट्टा प्रहार गर्ने र हजारौँको भीड जम्मा भएर होहल्ला गर्दा हात्ती झन् उत्तेजित भई मानवीय र भौतिक क्षति बढाउने गरेको औँल्याए। उनीहरूले नेपालतर्फ पनि स्थानीय समुदायलाई सचेत गराई भीड जम्मा हुन नदिने र प्रविधिको सहकार्यमार्फत समस्या न्यूनीकरण गर्न दुवै देश लाग्नुपर्ने सुझाव दिए।

द्विपक्षीय उपस्थिति
छलफलमा नेपालतर्फबाट संविधानसभा सदस्य रविन कोइराला, नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, मेचीनगर–४का वडाध्यक्ष अर्जुनकुमार कार्की, जिल्ला वन कार्यालय झापाका प्रमुख नथुनी गोहिवार यादव, मेची सब–डिभिजन वन कार्यालय धाइजनका प्रमुख सुरज निरौला, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका पदाधिकारीहरूको उपस्थिति थियो। उता भारततर्फबाट डीएफओ देवेश पाण्डे, ग्रामीण पर्यटन अभियन्ता राज बसु, एसएसबी (SSB) का डेपुटी कमान्डर अनिल मेहरा सहित हात्ती व्यवस्थापनका विज्ञहरूको सहभागिता रहेको थियो।

झापाको मेचीनगर-४ मा पर्ने बाहुण्डाँगी क्षेत्र विगत चार दशकभन्दा बढी समयदेखि नेपालकै सबैभन्दा घातक ‘मानव-हात्ती द्वन्द्व’ को केन्द्रबिन्दु रहँदै आएको छ।

Exit mobile version