१७ चैत, काठमाडौं : जल तथा मौसम विज्ञान विभागका अनुसार आज मंगलबार पनि देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ।
मौसमविद् रोजन लामिछानेका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावका साथै पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय प्रणालीको असर देखिएको छ।
आज दिउँसो कोशी र मधेश प्रदेशसहित देशका पहाडी तथा हिमाली भू–भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने जनाइएको छ। कोशी प्रदेश लगायत पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरूमा तथा अन्य भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
आज राति भने हिमाली क्षेत्रमा सामान्य बदली, पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम प्रायः सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने अनुमान गरिएको छ।
त्यसैगरी बुधबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
विभागले मेघगर्जन, चट्याङ, हावाहुरी र असिनाबाट हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
