इण्डो- नेपाल टि-ट्वान्टी क्रिकेट : दमकको शानदार जित, लर्डबुद्वलाई ५० रनले पराजित गर्दै विजयी यात्रा

मेचीनगर, झापा : झापाको मेचीनगर-४, बाहुणडाँगीस्थित सरस्वती माविको खेल मैदानमा जारी इण्डो-नेपाल टी-२० क्रिकेट प्रतियोगितामा दमकले विजयी सुरुआत गरेको छ। बिहीबार सम्पन्न खेलमा दमकले लर्डबुद्व क्रिकेट क्लबलाई ५० रनले पराजित गर्दै सशक्त प्रदर्शन गरेको हो।

टस हारेर पहिले ब्याटिङ गर्ने अवसर पाएको दमकले १६ ओभरमा सबै विकेट गुमाउँदै १४१ रनको सम्मानजनक योगफल तयार गर्यो। दमकका लागि अभिषेक थापाले उत्कृष्ट प्रदर्शन गर्दै २७ बलमा ४७ रन प्रहार गरे। निरज थापाले १५ बलमा ३४, विवेक पौडेलले १३ र विजयले १२ रनको योगदान दिए।

बलिङतर्फ लर्डबुद्वका आयुष कार्की र अर्जुन राजवंशीले समान ३-३ विकेट लिए। क्षितिज पोर्तेलले २ विकेट हात पारे भने प्रवेश दाहाल र रवि गोस्वामीले समान १-१ विकेट लिए।

१४२ रनको लक्ष्य पछ्याउने क्रममा लर्डबुद्व क्रिकेट क्लब ९० रनमै समेटियो। क्षितिज पोर्तेलले २१ बलमा ३८ रन बनाए भने सुभम लिम्बूले १२ र उत्तम राजवंशीले ११ रन जोडे। अन्य ब्याट्सम्यानले भने दोहोरो अंक पार गर्न सकेनन्।

दमकका बलरहरूले सानदार प्रदर्शन गरे। विजय तामाङले ४ विकेट लिए भने निरज पाठकले ३ विकेट हात पारे। विनोद विक, अभिषेक थापा र अनिष खड्काले समान १-१ विकेट लिए।

दमकका निरज पाठक म्यान अफ द म्याच घोषित भए। उनले नगद रु १ हजार र मायाको चिनो प्राप्त गरे।

भोलिको खेल बल ब्लास्टर भद्रपुर र झापा क्रिकेट क्लबबीच हुनेछ।

फागुन २१ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल चैत ४ गते हुनेछ। प्रतियोगिताको विजेताले नगद रु ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले रु ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। प्रतियोगिताको मुख्य उद्देश्य बाहुणडाँगीमा क्रिकेट एकेडेमी सञ्चालन गर्नु रहेको आयोजक बाहुणडाँगी युवा क्लबले जनाएको छ।

Exit mobile version