📌 मुख्य बुँदाहरू:
- पछिल्लो दुई सातामा थोरङला पास पार गरेर ७७२ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन्।
- मुस्ताङ भित्रिनेमा ४३ जना सार्क राष्ट्रका र ७२९ जना अन्य राष्ट्रका पर्यटक रहेका छन्।
- गत असोज ११ गतेको भारी वर्षा र हिमपातले अवरुद्ध बनेको पदमार्ग हिउँ पन्छाएपछि सुचारु भएको हो।
लमजुङको बेँसीसहरबाट मनाङ हुँदै थोरङला पास छिचोल्दै पछिल्लो दुई सातामा ७७२ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय मुस्ताङको जोमसोमस्थित चेकपोस्टले भारी हिमपातपछिको दुई सातामा ४३ जना सार्क राष्ट्र र ७२९ जना अन्य राष्ट्रका विदेशी पर्यटक मुस्ताङ भित्रिएको जनाएको छ।
समुद्री सतहको पाँच हजार ४१६ मिटरको उचाइमा अवस्थित राउण्ड अन्नपूर्ण चक्रीय पदमार्गको थोरङला पास पिक छिचोल्दै विदेशी पर्यटक मनाङ हुँदै मुक्तिनाथसम्म निस्कने गर्दछन्। यो पदमार्ग विदेशी पर्यटकका बीच अत्यन्त साहसिक र लोकप्रिय पदमार्गका रूपमा परिचित छ।

पदमार्गको हिउँ पन्छाएर आवागमन सहज
गत असोज ११ गतेको भारी वर्षा र हिमपातले पूर्ण रूपमा अवरुद्ध बनेको थोरङला पास पदमार्गको हिउँ पन्छाइएपछि विदेशी पर्यटकको आवागमन पुन: सुरु भएको हो। उक्त पदमार्गको थोरङ फेदी माथिको भागमा जमेको हिउँ स्थानीय पर्यटन व्यवसायीले आफ्नै पहलमा पन्छाएर आवागमन सहज बनाएका थिए।
त्यसैगरी, मनाङतर्फ पनि सुरक्षाकर्मी र स्थानीय पर्यटन व्यवसायी मिलेर थोरङला पास पहुँचमार्गको हिउँ पन्छाएका थिए। यसरी दुवैतर्फबाट बाटो खुलाइएपछि राउण्ड अन्नपूर्ण चक्रीय पदमार्गमा पदयात्रा गर्ने पर्यटकहरूलाई सहज भएको छ। सामान्यतया यो पदमार्गमा विदेशी पर्यटकहरूले वर्षका विभिन्न सिजनमा पदयात्रा गर्ने गरेका छन्।
📄 प्रेस विज्ञप्ति / सूचना






















