भारतमा ‘कक्रोच जनता पार्टी’ को आँधी: बेरोजगारी र परीक्षा घोटाला विरुद्ध राष्ट्रव्यापी युवा आन्दोलन सुरु, शिक्षामन्त्रीको राजीनामा माग

पुणे / नयाँ दिल्ली । भारतमा सामाजिक सञ्जालमार्फत तीव्र रूपमा लोकप्रिय बनेको कक्रोच जनता पार्टी (सिजेपी) ले बेरोजगारी, शिक्षा प्रणालीका गम्भीर कमजोरी र सरकारी जवाफदेहिताको मुद्दालाई केन्द्रमा राख्दै राष्ट्रव्यापी युवा विरोध अभियान सुरु गरेको छ। अभियानको सुरुआतस्वरूप पश्चिमी भारतीय सहर पुणेमा सयौँ विद्यार्थी र युवा समर्थकहरू सडकमा उत्रिएका छन्, जसले भारतभर फैलिरहेको युवा आन्दोलनलाई थप ऊर्जा प्रदान गरेको छ।

गत साता देशको राजधानी नयाँदिल्लीमा पहिलो ठूलो सडक प्रदर्शन गरेको सिजेपीले यसपटक महाराष्ट्रको सावित्रीबाई फुले पुणे विश्वविद्यालय परिसरमा विशाल र्‍याली आयोजन गरेको हो। प्रदर्शनकारीहरूले विभिन्न सार्वजनिक परीक्षामा देखिएका अनियमितता, बारम्बार हुने प्रश्नपत्र चुहावट (Paper Leak) तथा शिक्षा क्षेत्रमा देखिएको चरम व्यवस्थापकीय कमजोरीको कडा विरोध गर्दै भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको तत्काल राजीनामा माग गरेका छन्।

पुणेको र्‍याली केवल सुरुआत: रणनीतिकार अभिजीत डिप्के

राजनीतिक सञ्चार रणनीतिकार तथा बोस्टन विश्वविद्यालयका विद्यार्थी अभिजीत डिप्केले र्‍यालीलाई सम्बोधन गर्दै पुणेको कार्यक्रम केवल सुरुआत मात्र भएको बताए। अमेरिकाबाट हालै भारत फर्किएर यो आन्दोलनको नेतृत्व गरिरहेका डिप्केले देशव्यापी अभियान औपचारिक रूपमा सुरु भएको घोषणा गर्दै आगामी दिनमा भारतका अन्य प्रमुख सहरहरूमा पनि विरोध कार्यक्रम विस्तार गरिने जानकारी दिए। उनले शिक्षामन्त्रीले राजीनामा नदिए समर्थकहरू यही महिनाको अन्त्यतिर पुनः नयाँदिल्लीमा संसद् घेराउ र ठूलो प्रदर्शनका लागि जुट्ने चेतावनीसमेत दिएका छन्। पत्रकारहरूसँग कुरा गर्दै डिप्केले भने, “सरकारले देशका युवाहरूलाई बेवास्ता गर्न सक्दैन।”

न्यायाधीशको एउटा टिप्पणी र ‘कक्रोच’ आन्दोलनको उदय

यो अनौठो आन्दोलनको सुरुआत गत मे महिनामा भारतको सर्वोच्च अदालतका न्यायाधीश सूर्य कान्तको एउटा विवादित टिप्पणीबाट भएको हो। न्यायाधीश कान्तले केही बेरोजगार युवालाई ‘कक्रोच’ (साङ्लो) सँग तुलना गरेपछि सामाजिक सञ्जालमा आक्रोशको लहर चलेको थियो। तर, आन्दोलनकारी युवाहरूले त्यो शब्दलाई अपमानको रूपमा लिनुको साटो कठिन परिस्थितिमा पनि बाँच्न सक्ने क्षमता र लचकता (Resilience) को प्रतीकका रूपमा ग्रहण गरे।

त्यसपछि ‘कक्रोच’ नै यो युवा आन्दोलनको मुख्य पहिचान बन्यो। हाल यो समूहको इन्स्टाग्राममा मात्र २ करोड २० लाखभन्दा बढी फलोअर्स (अनुयायी) जोडिएका छन्। सुरुमा एउटा टिप्पणीविरुद्धको प्रतिवादका रूपमा देखिएको यो लहर अहिले बेरोजगारी, बढ्दो महँगी, शिक्षा प्रणालीका समस्या, भ्रष्टाचार तथा राजनीतिक निष्क्रियता विरुद्धको साझा आवाज बनेको छ। सिजेपीले डिजिटल संसारमा व्यङ्ग्य, आत्म–आलोचनात्मक हास्य (Self-deprecating humor) र मीम (Memes) को संयोजन गरेर युवामाझ आफ्नो प्रभाव तीव्र पारेको छ, जसलाई राजनीतिक वृत्तले निकै चासोका साथ हेरिरहेको छ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.