📌 मुख्य बुँदाहरू:
- ५३ वर्षको उमेरमा पनि फिटनेस र ग्ल्यामरस शैलीका कारण मलाइका अरोरा चर्चामा छिन्।
- सन् १९९८ मा अरबाज खानसँग विवाह गरेकी उनको पछि सम्बन्धविच्छेद भएको थियो भने अर्जुन कपूरसँगको सम्बन्ध पनि टुंगिएको छ।
- डिनो मोरिया, हर्ष मेहता र सोराब बेदीलगायतका व्यक्तिहरूसँग पनि उनको नाम जोडिएको चर्चा चलेको थियो।
मलाइका अरोराको उमेर कति भयो होला ? उनको अनुहार र शरीरको चालढाल हेरेर उमेरको अंक अनुमान गर्न सक्नुहुन्न । उमेर ५३ वर्ष टेक्दै गर्दा मलाइका उत्तिकै जवान देखिन्छिन् । ग्ल्यामरस शैली र फिटनेसका कारण उनलाई अहिलेसम्म बुढ्यौलीले छुन सकेको छैन ।
यसबीच उनको दाम्पत्य र प्रेम सम्बन्धले उनलाई अझै विश्राम दिएको छैन । केही वर्षअघि उनले अरबाज खानसँगको दाम्पत्य सम्बन्धलाई पूर्णविराम लगाएकी थिइन् । त्यसपछि उनको सम्बन्ध अर्जुन कपूरसँग बढ्यो । अहिले उनीहरूको ब्रेकअप भइसकेको छ । र, उनी यतिमै रोकिएकी छैनन् । फेरि अर्को प्रेम सम्बन्धका कारण चर्चामा छिन् ।

प्रेम र सम्बन्धका चर्चाहरू
त्यसो त अरू थुप्रैसँग उनको सम्बन्ध जोडिएको चर्चा पनि चल्यो । डिनो मोरिया, हिरा व्यवसायी हर्ष मेहता र अभिनेता-मोडल सोराब बेदीसँग पनि उनको नाम जोडिएको थियो । मलाइका अरोराले मोडलिङ र टेलिभिजनबाट करियर सुरु गरेकी थिइन् । सन् १९९८ मा आएको फिल्म ‘दिल से’ को गीत ‘छैंया छैंया’ मा नृत्य गरेपछि उनी सर्वत्र चिनिइन् । त्यसपछि ‘मुन्नी बदनाम हुई’ जस्ता गीतहरूले उनको लोकप्रियता बढाए । उनले रियालिटी शोहरूमा निर्णायकका रूपमा पनि पहिचान बनाइन् र फिटनेस, फेसन तथा लाइफस्टाइलबारे चर्चामा रहिन् ।
अरबाज खानसँगको विवाह र सम्बन्धविच्छेद
मलाइका अरोरा र अरबाज खानको भेट विज्ञापनको सुटिङका क्रममा भएको थियो । दुवै नजिकिए र डिसेम्बर १९९८ मा विवाह गरे । त्यस बेला मलाइका मोडलिङमा पहिचान बनाउँदै थिइन् भने अरबाज अभिनेता र फिल्म निर्माताका रूपमा काम गर्दै थिए । विवाहपछि दुवै प्रायः फिल्मी पार्टी र सार्वजनिक कार्यक्रममा सँगै देखिन्थे । उनीहरूका छोरा अरहान खानको जन्म भयो । दुवैले परिवार र करियरबीच सन्तुलन मिलाउँदै धेरै वर्ष सँगै बिताए । लामो समयसम्म सँगै बसेपछि उनीहरूको सम्बन्धमा दूरी बढ्दै गयो र उनीहरूले सम्बन्धविच्छेद गरे ।





















