📌 मुख्य बुँदाहरू:
- बिनाधितो र कागजपत्र झन्झटबिना मोबाइल एपबाटै अधिकतम दुई लाख रुपैयाँसम्म ‘फोन लोन’ लिन सकिने व्यवस्था छ।
- हाल एभरेष्ट, नबिल, एनआईसी एसियासहित ११ वटा वाणिज्य बैंकले यो सेवा सञ्चालन गरिरहेका छन्।
- ग्राहकले बैंकमा पछिल्लो ६ महिना गरेको कारोबारको विश्लेषण गरेर प्रणालीले नै ऋणको सीमा निर्धारण गर्ने गर्छ।
बैंकबाट ऋण लिन अब धितो खोज्नुपर्ने र कागजपत्र बोकेर बैंकका शाखा धाउनुपर्ने बाध्यता हट्दै गएको छ। ग्राहकले मोबाइलमा सम्बन्धित बैंकको एप खोलेर आवेदन दिएकै भरमा खातामा पैसा प्राप्त गर्न सक्ने गरी ‘फोन लोन’ सुविधा विस्तार भएको छ।
अहिले ११ वटा वाणिज्य बैंकले यस्तो सेवा प्रदान गरिरहेका छन्, जसबाट योग्य ग्राहकले मोबाइलबाटै अधिकतम दुई लाख रुपैयाँसम्म ऋण लिन सक्नेछन्। एभरेष्ट, नबिल, एनआईसी एसिया, एनएमबि, सिटिजन्स, कुमारी, लक्ष्मी सनराइज, माछापुच्छ्रे, प्रभु, कृषि विकास र राष्ट्रिय वाणिज्य बैंकले यो सेवा सञ्चालनमा ल्याएका छन्। बैंकहरूले ग्राहकलाई छिटो, सहज र सरल रूपमा कर्जा उपलब्ध गराउने उद्देश्यले यो व्यवस्था गरेका हुन्।
कसरी पाइन्छ फोन लोन र कति हुन्छ सीमा?
फोन लोन लिन ग्राहकले सम्बन्धित बैंकको मोबाइल एपमा लगइन गरी उपलब्ध कर्जा विकल्पमार्फत आवेदन दिनुपर्छ। आवश्यक प्रमाणीकरण पूरा भएपछि बैंकले कर्जाका लागि ग्राहक योग्य भए/नभएको टुंगो लगाउँछ। यसका लागि छुट्टै कागजात बुझाउनुपर्ने झन्झट छैन।
तर, मोबाइल एपमा आवेदन दिएकै भरमा सबैले ऋण भने पाउँदैनन्। ग्राहकले पाउने कर्जाको सीमा बैंकमा गरेको कारोबारका आधारमा तय हुन्छ। पछिल्लो ६ महिनाको खाताको कारोबार विश्लेषण गरेर प्रणालीले नै कति ऋण दिन सकिन्छ भन्ने निर्धारण गर्ने बैंकका अधिकारीहरू बताउँछन्। ग्राहकको कारोबारअनुसार न्यूनतम केही सय रुपैयाँदेखि अधिकतम दुई लाख रुपैयाँसम्म ऋण पाइने व्यवस्था छ। अधिकांश बैंकले एक वर्षभित्र कर्जा भुक्तानी गर्नुपर्ने नियम राखेका छन् भने एनएमबि बैंकले अधिकतम दुई वर्षसम्मको अवधि दिएको छ।
बैंकहरूको प्राथमिकता र विस्तार
कृषि विकास बैंकले यसै साता मात्रै फोन लोन सेवा सुरु गरेको छ। बैंकले पहिलो चरणमा तलबी खातावाललाई लक्षित गरेको छ। बैंकको कर्जा व्यवसाय तथा ट्रेजरी विभाग प्रमुख सुदीप दाहालका अनुसार बैंकमा स्थानीय तहका कर्मचारी, शिक्षक तथा अन्य क्षेत्रका कर्मचारी गरी करिब २० लाख तलबी खाता रहेका छन्। अन्य बैंकहरूले पनि यो सेवालाई थप परिष्कृत गर्दै लैजाने तयारी गरिरहेका छन्।





















