📌 Key Takeaways:
- टिकटकले सन् २०२६ को अप्रिलदेखि जुन महिनासम्म नेपालमा कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गर्ने २० लाख ३६ हजार १९१ वटा भिडियो हटाएको छ।
- हटाइएका भिडियोमध्ये ९९.५ प्रतिशत प्रयोगकर्ताले रिपोर्ट गर्नुअघि नै प्रणालीले स्वतः पहिचान गरी हटाएको र ९२.३ प्रतिशत २४ घण्टाभित्र हटाइएको छ।
- विश्वव्यापी रूपमा यस अवधिमा १८ करोड ८२ लाखभन्दा बढी भिडियो, १४ करोड ६८ लाखभन्दा बढी नक्कली एकाउन्ट तथा २ करोड ६८ लाखभन्दा बढी कम उमेरका प्रयोगकर्ताका एकाउन्ट बन्द गरिएका छन्।
लोकप्रिय सामाजिक सञ्जाल टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिक (अप्रिलदेखि जुनसम्म) को ‘कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट’ सार्वजनिक गर्दै नेपालमा नियम उल्लंघन गर्ने २० लाख ३६ हजारभन्दा बढी भिडियो हटाइएको जानकारी दिएको छ। सुरक्षित डिजिटल वातावरण निर्माण गर्ने प्रतिबद्धतासहित सार्वजनिक गरिएको यस प्रतिवेदनले प्लेटफर्ममा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्न स्वचालित प्रणालीलाई थप कडा पारिएको देखाएको छ।
सार्वजनिक विवरणअनुसार समीक्षा अवधिमा नेपालबाट प्रकाशित भएका कुल सामग्रीमध्ये ०.४ प्रतिशत अर्थात् २० लाख ३६ हजार १९१ वटा भिडियो कम्युनिटी गाइडलाइन्स उल्लङ्घनका कारण हटाइएका हुन्। नेपालमा नियम उल्लंघन गर्ने सामग्रीको पहिचान र कारबाहीको दर उच्च देखिएको छ। कम्पनीले हटाइएका भिडियोमध्ये ९९.५ प्रतिशत सामग्री प्रयोगकर्ता वा सर्वसाधारणले उजुरी वा रिपोर्ट गर्नुअघि नै आन्तरिक प्रणालीबाटै पहिचान गरी हटाइएको जनाएको छ। त्यस्तै, नियम विपरीतका ९२.३ प्रतिशत भिडियो अपलोड भएको २४ घण्टाभित्रै प्लेटफर्मबाट हटाइएको थियो।

भिडियो पुनःस्थापना र विश्वव्यापी तथ्याङ्क
टिकटकको आन्तरिक पुनरवलोकन तथा प्रयोगकर्ताको अपिलपश्चात् गल्तीवश हटाइएका ३३ हजार ५०३ वटा भिडियोलाई पुनर्स्थापना (रजिस्टोर) गरिएको छ। विश्वव्यापी रूपमा यस अवधिमा कुल १८ करोड ८२ लाख ९८ हजार १४१ वटा भिडियो हटाइएको छ, जुन विश्वव्यापी रूपमा प्लेटफर्ममा पोस्ट गरिएका भिडियोको करिब ०.५ प्रतिशत हुन आउँछ। विश्वभर हटाइएका भिडियोमध्ये १८ करोड ३३ लाखभन्दा बढी स्वचालित पहिचान प्रविधिको प्रयोगबाट हटाइएको कम्पनीले स्पष्ट पारेको छ।
नक्कली एकाउन्ट र लाइभ स्ट्रिमिङमा कडाइ
प्लेटफर्मको विश्वसनीयता जोगाउन टिकटकले एकाउन्ट र कमेन्टको तहमा समेत कडा कारबाही चलाएको छ। विश्वव्यापी रूपमा १४ करोड ६८ लाखभन्दा बढी नक्कली (फेक) एकाउन्ट बन्द गरिएका छन् भने १३ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताले सञ्चालन गरेको आशङ्कामा २ करोड ६८ लाखभन्दा बढी एकाउन्ट हटाइएका छन्। यसैगरी, गाइडलाइन्स उल्लङ्घन गरी अमर्यादित कमेन्ट गर्ने २७ करोड ८३ लाखभन्दा बढी कमेन्टहरू पनि हटाइएका छन्। लाइभ स्ट्रिमिङका क्षेत्रमा समेत कडाइ गर्दै टिकटकले ७ करोड ६७ लाखभन्दा बढी लाइभ सेसन र २ करोड ६७ लाखभन्दा बढी लाइभ क्रिएटरमाथि चेतावनी दिने वा आम्दानी गर्ने सुविधा हटाउनेलगायतका कारबाही गरेको छ। समीक्षापछि २३ लाखभन्दा बढी लाइभ सेसनहरू भने पुनःस्थापना गरिएको कम्पनीले जनाएको छ।

















