📌 मुख्य बुँदाहरू:
- भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विपद्बाट करिब २.७ देखि २.८ अर्ब अमेरिकी डलरको क्षति तथा नोक्सानी भएको प्रारम्भिक मूल्यांकन गरिएको छ।
- क्षतिग्रस्त संरचनालाई आधुनिक प्रविधि र विपद् प्रतिरोधी मापदण्डअनुसार पुनर्निर्माण गर्न ४.७ देखि ५ अर्ब डलर आवश्यक पर्नेछ।
- उद्धार र राहतका लागि सरकारले आफ्नै बजेट तथा अनुदान सहयोग जुटाएको र पुनर्निर्माणको स्रोत ३ वर्षभित्र व्यवस्थापन गरिनेछ।
भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विपद्पछिको उद्धार, राहत, पुनरुत्थान तथा पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब अमेरिकी डलरसम्म आवश्यक पर्ने देखिएको छ। हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा अर्थ मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँगको छलफलका क्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेले सो कुरा बताएका हुन्।
बैठकमा अर्थमन्त्री वाग्लेले विपद्बाट भएको क्षतिको प्रारम्भिक मूल्यांकन घटना घटेको पाँच दिनभित्रै गरिएको जानकारी दिए। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए), राष्ट्रिय योजना आयोग र विश्व बैंकले गरेको प्रारम्भिक मूल्यांकनअनुसार विपद्बाट करिब २.७ देखि २.८ अर्ब अमेरिकी डलर बराबरको क्षति तथा नोक्सानी भएको उनको भनाइ छ।
पुनर्निर्माण र स्रोत व्यवस्थापन
क्षतिग्रस्त संरचनालाई पुरानै अवस्थामा फर्काउनेभन्दा पनि आधुनिक प्रविधि र विपद् प्रतिरोधी मापदण्डअनुसार पुनर्निर्माण गर्नुपर्ने भएकाले कुल पुनर्निर्माण आवश्यकता ४.७ देखि पाँच अर्ब अमेरिकी डलरसम्म पुग्ने प्रारम्भिक अनुमान गरिएको छ। राष्ट्रिय योजना आयोगले घरघरमा पुगेर क्षतिको विस्तृत विवरण संकलन गरिरहेको र विपद्पछिको आवश्यकता मूल्यांकन प्रतिवेदनले पनि यसलाई थप स्पष्ट पार्ने अपेक्षा गरिएको छ।
अर्थमन्त्री वाग्लेले उद्धार, राहत र पुनरुत्थानका लागि तत्काल आवश्यक रकम सरकारले आफ्नै बजेट, राजस्व तथा मित्रराष्ट्रबाट प्राप्त अनुदान सहयोगमार्फत व्यवस्थापन गरिरहेको बताए। पुनर्निर्माणका लागि आवश्यक पर्ने स्रोत आगामी तीन वर्षभित्र जुटाइने स्पष्ट पार्दै उनले उपलब्ध स्रोतको विवेकपूर्ण उपयोगमा जोड दिए।





















