📌 मुख्य बुँदाहरू:
- आगामी मंसिर ३ गतेसम्म देशका विभिन्न क्षेत्रमा मौसममा बदली रहने मौसम विज्ञान विभागले जनाएको छ।
- तराईका केही स्थानमा हुस्सु लाग्ने सम्भावना रहे पनि तत्काल वर्षाको सम्भावना भने नरहेको मौसमविद्ले बताएका छन्।
- पहाडी र हिमाली क्षेत्रमा भने आइतबारदेखि मंगलबारसम्म मध्यमसम्मको वर्षा र हिमपात हुन सक्ने अनुमान गरिएको छ।
काठमाडौँ। आगामी मंसिर ३ गतेसम्म देशका विभिन्न क्षेत्रको मौसममा फेरबदल आउने भएको छ। नेपाल मौसम विज्ञान विभागकी मौसमविद् अनिषा निरौलाका अनुसार तराई क्षेत्रमा हुस्सु लाग्ने सम्भावना रहे पनि तत्काल वर्षाको सम्भावना भने देखिएको छैन।
मौसम विज्ञान विभागले आगामी बिहीबारसम्म तराईका थोरै स्थानमा हुस्सु लाग्ने आकलन गरेको छ। तराईमा आगामी साताभर नै वर्षाको कुनै सम्भावना नरहेको स्पष्ट पारिएको छ।
पहाडी र हिमाली भूभागमा वर्षा तथा हिमपात
पहाडी भेगमा भने केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित वर्षा हुने सम्भावना रहेको छ। आगामी आइतबारदेखि मंगलबारसम्म गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा हुन सक्ने मौसमविद् निरौलाले जानकारी दिएकी छन्। यस्तै, शनिबार तथा बुधबार र बिहीबार पनि पहाडी भेगका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना कायम रहेको छ।
कोशी, बागमती र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा भने आगामी बिहीबारसम्म एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ।
यसैगरी, हिमाली भेगमा पनि केही दिन वर्षा र हिमपातको सम्भावना रहेको छ। आगामी आइतबारदेखि मंगलबारसम्म गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा मध्यमसम्मको हिमपात वा वर्षा हुन सक्नेछ। शनिबार तथा बुधबार र बिहीबार पनि ती प्रदेशका हिमाली भेगका एक–दुई स्थानमा सोही किसिमको मौसम रहने विभागले जनाएको छ। कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रमा भने बिहीबारसम्म एक–दुई स्थानमा हल्का हिमपात वा वर्षाको सम्भावना रहेको छ।




















