सुर्खेतको वीरेन्द्रनगर क्रिकेट मैदानमा जारी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटमा लुम्बिनी प्रदेश समूह चरणबाटै बाहिरिएको छ। बिहीबार भएको आफ्नो दोस्रो खेलमा मधेस प्रदेशसँग पराजित भएसँगै लुम्बिनीको प्रतियोगिताको यात्रामा पूर्णविराम लागेको हो। यसअघि लुम्बिनी आफ्नो पहिलो खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लबसँग पराजित भएको थियो।
टस जितेर पहिले ब्याटिङ रोजेको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ७९ रन मात्र बनाउन सक्यो। लुम्बिनीका लागि ओपनर ऋतु रावलले ५६ बलमा ५ चौका प्रहार गर्दै ४१ रनको नटआउट अविजित पारी खेलिन् भने सीमा थापाले १० रन जोडिन्। अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्। लुम्बिनीलाई सस्तैमा समेट्ने क्रममा मधेसकी सुस्मिता यादवले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा २० रन खर्चिएर ४ विकेट हात पारेकी थिइन्। यस्तै, रोजी कडारीले २ र कप्तान पूजा महतोले १ विकेट लिइन्।
मधेसको सहज जित र सुस्मिताको चम्किलो प्रदर्शन
लुम्बिनीले दिएको ८० रनको सामान्य लक्ष्य मधेस प्रदेशले १२.४ ओभरमा ५ विकेट गुमाएर भेट्टायो। मधेसको जितमा ओपनर एलिषा यादवले ३६ बलमा ८ चौका प्रहार गर्दै ४२ रनको महत्त्वपूर्ण योगदान गरिन्। यसैगरी कप्तान पूजा महतोले १५ रन बनाउँदा अनुराधा चौधरीले ७ रन जोडिन्।
लुम्बिनीका तर्फबाट बलिङमा सरु तिवारीले ३ तथा सुस्मिता भुसाल र सरस्वती पुनले १–१ विकेट लिए पनि टोलीलाई हारबाट बचाउन सकेनन्। खेलमा धारिलो बलिङ गर्दै चार विकेट लिएकी मधेस प्रदेशकी सुस्मिता यादव प्लेयर अफ द म्याच घोषित भइन्। यो जितसँगै मधेसले प्रतियोगितामा सुखद सुरुआत गरेको छ भने लुम्बिनी प्रतियोगिताबाट बाहिरिएको छ।




















